काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनतामाथि प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्री शाह कसैसँग संवाद र अन्तर्क्रिया नगर्ने शैलीमा प्रस्तुत भएको भन्दै उनको मौनतालाई जासुसी उपन्यासको पात्रजस्तै अदृश्य रहेको टिप्पणी गरेका हुन्। शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले रवि लामिछानेको अभिव्यक्तिभन्दा प्रधानमन्त्री शाहको मौनता मुख्य राजनीतिक प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे। विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा विभिन्न सम्झौता गर्दा विरोध हुने गरेको स्मरण गर्दै उनले बालेन शाहको भारत भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेको भन्दै आशंका व्यक्त गरे। अदृश्य टुनामुना र तन्त्रमन्त्र धेरै समय नटिक्ने उनको तर्क थियो। भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने धारणा पनि राखे। त्यस्तै, आगामी स्थानीय तह निर्वाचनमा गुटबन्दीभन्दा माथि उठेर उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ थियो। पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहबाट आउने सिफारिसका आधारमा उम्मेदवार चयन गर्नुपर्ने उनले बताए।
बालेनको मौनता जासुसी उपन्यासको पात्रजस्तै अदृश्य छ : योगेश भट्टराई

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






