काठमाडौं । नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका हुन् । पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडाएका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए । डा. गोबिन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् । सहमतिका बुँदाहरु: १- चिकित्सा शिक्षा आयोगको मिति २०८३ असोज ३० गतेको निर्णय बमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमको अनुमति प्रदान तथा सिट संख्या निर्धारण गर्ने; आर्मी मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई एमबीबीएसमा सिट संख्या थप गरिएको निर्णय मापदण्ड बमोजिम भए नभएको निक्र्योल गर्न प्रा. डा. रमेश प्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने । उक्त समितिले सरकारलाई प्रतिवेदन पेश गर्ने तथा सरकारले उक्त प्रतिवेदनको सिफारिस लागु गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीहरूको म्याचिङ गर्ने । कार्यक्रमको अनुमति दिँदा वा सिट थप गर्दा मापदण्ड बमोजिम नभएको वा स्वार्थको द्वन्द्व भएको पाइएमा त्यसमा संलग्न आयोग, विश्वविद्यालय तथा मेडिकल कलेजका पदाधिकारी लगायतका व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउने । २- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्ति लगायतका विषयहरूमा आवश्यक संशोधन गरी दुई हप्ताभित्र मन्त्रीपरिषद्को बैठकबाट अध्यादेश जारी गर्ने गरी अगाडि बढाउने । अध्यादेश जारी पश्चात् नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया तुरुन्त अगाडि बढाउने । उक्त विषयमा डा गोविन्द केसीले दिएका सुझाब बमोजिम हुने गरी अगाडि बढाउने । ३- डा गोविन्द केसीको २४औं सत्याग्रहको क्रममा मिति २०८३ श्रावण ११ गते भएको सहमतिका कार्यान्वयन हुन बाँकी बुँदाहरूको अक्षरशः पालना गर्ने । ४- यस सहमतिको कार्यान्वयनको अनुगमन गर्न नेपाल सरकार तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका एक सह-सचिव, तथा प्रा डा. गोविन्द केसीको तर्फबाट विजय बाबु शिवाकोटी, डा अमृत जैसी सहभागी गरी एक कार्यदल गठन गर्ने । उक्त कार्यदलमा सांसद पुकार बम तथा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजाल समेत रहनेछन् । उक्त कार्यदलले महिनामा कम्तीमा एक पटक बैठक गर्ने । ५- डडेलधुरा, इलाम, उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विषयमा सरकारले बजेट बिनियोजन लगायत पूर्वाधार विकासमा तदारुकताका साथ काम गर्ने । बर्दिबासमा मेडिकल कलेजको स्थापना तथा सञ्चालन कार्य तत्कालै अगाडि बढाउने । ६- आज मिति २०८३ कार्तिक २१ गते डा गोविन्द केसीले सत्याग्रहका सम्पूर्ण कार्यक्रमहरू अन्त्य गर्ने । The post डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






