काठमाडौं । डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सुजन तामाङविरुद्ध यसअघि आठपटकसम्म कानुनी कारबाही भइसकेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी तामाङको आपराधिक पृष्ठभूमिबारे जानकारी दिएको हो । तामाङलाई प्रहरीले बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि चक्कु प्रहार गरेर भाग्न खोज्दा गोली हानेर नियन्त्रणमा लिएको थियो । बिहीबार साँझ पौने ७ बजेतिर डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गर्दा एक जना प्रहरी घाइते भएका थिए । चक्कु प्रहारपछि चेतावनी स्वरुप पेस्तोलबाट १ राउण्ड गोली हवाई फायर गर्दा समेत नियन्त्रणमा नआएपछि घुँडा मुनी १ राउण्ड गोली फायर गरि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए । डलर सटही गर्न गएका व्यक्तिहरुलाई लुटपाट गरि फरार हुने गरेको उनले बताए । पक्राउ परेका व्यक्तिबाट ठगीमा प्रयोग हुने २० को २ वन्डल नेपाली रुपैया, डलरमा जस्तै आधारमा काटेर राखेको सेतो कागजको बण्डल, उक्त कागजको बण्डलमा तल र माथि ५–५ को अमेरिकन डलर राखेको र १ केसी नक्कली सुनको ढिक्का बरामद गरिएको प्रहरीले जनाएको छ ।
डलर साटिदिने भन्दै ठगी, प्रहरीमाथि चक्कु हानेर भाग्न खोज्दा परे फन्दामा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






