काठमाडौं । डब्लूडब्लूईका चर्चित रेसलर रे मिस्टीरियोले अर्को वर्ष व्यावसायिक रेसलिङबाट सन्यास लिने घोषणा गरेका छन्। ३५ वर्षभन्दा लामो रेसलिङ करियरलाई बिट मार्दै उनले आफ्नो अन्तिम खेलको मिति र स्थानसमेत सार्वजनिक गरेका हुन्। मिस्टीरियोले नोभेम्बर २७ मा अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजित डब्लूडब्लूईको ‘सर्भाइभर सिरिजः वारगेम्स’पछि भएको पोस्ट शोमा सन्यास घोषणा गरेका हुन्। उनका अनुसार करियरको अन्तिम खेल सन् २०२७ जुन १२ मा मेक्सिको सिटीस्थित बनोर्टे स्टेडियममा हुनेछ। उक्त स्टेडियम यसअघि एस्टाडियो अज्टेका नामले चिनिन्थ्यो। ‘सन् २०२७ मा हामी मेक्सिको सिटी जाँदैछौँ। जुन १२ मा त्यहाँ मेरो अन्तिम खेल हुनेछ,’ उनले घोषणा गरेका थिए। मिस्टीरियोले सर्भाइभर सिरिजमा टिम मेक्सिकोबाट पाँच सदस्यीय एलिमिनेसन खेलमा सहभागिता जनाएका थिए। पेन्टा, रे फिनिक्स, ड्रागन ली र एल ग्रान्डे अमेरिकानो सम्मिलित उनको टोलीले सीएम पंक, कोडी रोड्स, सेथ रोलिन्स, जे’भोन इभान्स र एलए नाइट सम्मिलित टिम अमेरिकालाई पराजित गरेको थियो। सन् १९८९ मा किशोर अवस्थामै व्यावसायिक रेसलिङ सुरु गरेका ५१ वर्षीय मिस्टीरियोले सन् २००२ मा डब्लूडब्लूईमा प्रवेश गरेका थिए। उनले डब्लूडब्लूईमा आउनुअघि डब्लूसीडब्लू, ईसीडब्लू तथा मेक्सिकोका एएए र सीएमएलएललगायत संस्थामा प्रतिस्पर्धा गरेका थिए। मेक्सिकन रेसलिङ शैली ‘लुचा लिब्रे’लाई विश्वभर लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका मिस्टीरियो रंगीन मास्क र ‘६१९’ नामक विशेष प्रहारका लागि चर्चित छन्। आफ्नो करियरमा उनी तीन पटक विश्व च्याम्पियन, एक पटक रोयल रम्बल विजेता, तीन पटक युनाइटेड स्टेट्स च्याम्पियन, दुई पटक इन्टरकन्टिनेन्टल च्याम्पियन र पाँच पटक ट्याग टिम च्याम्पियन बनेका छन्। उनले तीन पटक क्रुजरवेट च्याम्पियनसिपसमेत जितेका छन्। सन् २०२३ मा उनलाई रेसलिङ क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डब्लूडब्लूई हल अफ फेममा समावेश गरिएको थियो। उनका चर्चित प्रतिस्पर्धीमा एडी गुरेरो, क्रिस जेरिको, ब्याटिस्टा, सीएम पंक, र्यान्डी अर्टन र कर्ट एंगल रहेका छन्। पछिल्लो समय आफ्नै छोरा डोमिनिक मिस्टीरियोसँगको प्रतिस्पर्धाले पनि उनको चर्चा बढाएको थियो।
डब्लूडब्लूई स्टार रे मिस्टीरियोले अर्को वर्ष सन्यास लिने, मेक्सिको सिटीमा हुनेछ अन्तिम खेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






