बेइजिङ । यस हप्ता चीनको सेन्जेनमा सी चीनफिङ, डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने त्रिपक्षीय बैठकको ‘ऐतिहासिक महत्त्व’ रहेको र यसले विश्व शान्ति तथा स्थिरतालाई प्रवर्द्धन गर्ने चीनको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ। एपेक सम्मेलनको आयोजनास्थलमा तीन नेताले बिहीबार साइडलाइन बैठक गर्न लागेका हुन् । ह्वाइट हाउसले गत हप्ता जनाए अनुसार ट्रम्पले बैठकमा आणविक हतियार न्यूनीकरणका प्रयासहरू उठाउने छन्। सबभन्दा ठूलो आणविक भण्डार रहेका अमेरिका र रुससँग आणविक हतियारबारे कुराकानी गर्न चीनले भने अस्वीकार गर्दै आएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा पत्रकारहरूलाई बताएअनुसार चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखहरू पहिलोपटक फेस टू फेस त्रिपक्षीय बैठकमा बस्न लागेका हुन् । ‘उहाँहरूले विश्व शान्ति रक्षा गर्न र प्रमुख शक्ति राष्ट्रहरूको सम्बन्धमा रणनीतिक स्थिरता प्रवर्द्धन गर्ने विषयमा गहिरो विचार विमर्श गर्नुहुनेछ, जसको ऐतिहासिक महत्त्व छ,’ उनले थपिन् । वर्तमान परिस्थिसँगै विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्व शान्ति तथा स्थिरतालाई प्रवर्द्धन गर्न आपसी सहयोग गर्ने महत्त्वपूर्ण जिम्मेवारी यी तीन वटै देशको काँधमा रहेको माओले बताइन्। माओले थपिन्, ‘चीन, रुस र अमेरिकाबीचको बलियो संवाद, आपसी मतभेदको व्यवस्थापन र सम्बन्धलाई स्थिर बनाउनु तीनटै देशको हितमा छ।’ यसले अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई पनि पूरा गर्ने र “वैश्विक अवस्थालाई स्थिर बनाउन तथा संवाद र सहकार्यलाई अगाडि बढाउन” सहयोग पुर्याउने उनले बताइन्। त्रिपक्षीय बैठकको एजेन्डामा ठ्याक्कै के-के विषय छन् भन्ने बारेमा माओले कुनै विस्तृत विवरण दिइनन्। सोमबार मनिलामा बोल्दै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले यी तीन देशको शिखर बैठकबाट उत्पन्न हुन सक्ने जुनसुकै निःशस्त्रीकरण प्रयासलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्। रुस र अमेरिकाको विशाल आणविक आर्सनल भएका कारण उनीहरूले नै प्रत्यक्ष कुरा गर्नु बढी उपयुक्त हुने चीनले बताउँदै आएको छ। बढ्दो भूराजनीतिक तनाव र प्रमुख शक्ति राष्ट्रहरूबीचको बढ्दो प्रतिस्पर्धाले विश्वव्यापी आणविक जोखिमलाई बढाएको चेतावनी दिँदै संयुक्त राष्ट्रसंघले लामो समयदेखि आणविक निःशस्त्रीकरणको वकालत गर्दै आएको छ। रोयटर्स
ट्रम्प-सी-पुटिन भेट ऐतिहासिक रुपमा महत्त्वपूर्ण : चीन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






