Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

झाररहित बारी, विषरहित भान्सा : कृषिमा पुनर्जागरणको मार्ग

Share:WhatsAppFacebookX (Twitter)Telegram
झाररहित बारी, विषरहित भान्सा : कृषिमा पुनर्जागरणको मार्ग
Photo / Coverage: हिमालय टाइम्स

‘झाररहित बारी, विषरहित भान्सा’ सुन्दा सामान्य लाग्नसक्ने यी दुई हरफहरू आजको नेपाली समाज, अर्थतन्त्र र राज्यको नीतिको सबैभन्दा गहिरो ऐना हुन् । प्रस्तुत शीर्षक नेपालको वर्तमान राष्ट्रिय सन्दर्भमा अत्यन्तै चोटिलो र यथार्थवादी छ । कृषिप्रधान देश भनिएको नेपालको आजको विडम्बना, धान फलाउने माटोमा रासायनिक विषादीको अत्यधिक प्रयोगले बारीलाई झाररहित बनाउने नाममा विषालु बनाइएको छ भने त्यही माटोमा उत्पादन हुनुपर्ने खाद्यान्न जोहो गर्न नसक्दा बजारको आयातित र विषादीयुक्त पोकोमा भान्सा निर्भर छ । युवाहरूलाई विदेश निर्यात गरेर नेपालको उर्वर भूमिको अधिकांश हिस्सामा झार फुलेको छ भने नेपालीका भान्सामा विषाक्त खाद्यवस्तुको प्रयोगले बहुसंख्यक नसर्ने रोगहरूबाट संक्रमित छन् । जब आफ्नो बारीमा उब्जने अर्गानिक, सात्विक र स्थानीय अन्नलाई छोडेर सीमापारिका रासायनिक विषादीयुक्त र सडेगलेका खाद्य पदार्थलाई भान्सामा भित्र्याउँछौं तब अनजानमै आफ्नो शरीरको स्वास्थ्यमात्र बेचेका हुँदैनौं, राष्ट्रको अर्थतन्त्र र परराष्ट्र नीतिसमेत परायाको हातमा सुम्पिरहेका हुन्छौं । अर्काको उत्पादनमा पेट भर्नुपर्ने बाध्यताले मानिसको आत्मबल र राष्ट्रको स्वाभिमानलाई क्रमशः कमजोर बनाउँदै लैजान्छ । विश्वका अन्य देशहरूले विज्ञान र प्रविधिमा छलाङ मार्दै गर्दा हामी उर्वर जमिन, अनन्त पानीका स्रोत, अनुकूल जलवायु र प्रचुर जनशक्ति हुँदाहुँदै कृषिमा परनिर्भरताको गहिरो खाडलमा जाकिएका छौं । विश्व मानचित्रमा कृषिप्रधान भनिएर पनि कूल खाद्य आवश्यकताको अधिकांश अंश आयात गर्ने देशहरूको सूचीमा नेपाल शायद अग्रपंक्तिमा आउँछ । भाषणमा कृषि उत्पादन र आधुनिकीकरणका अनेकौं नारा र कार्यक्रम नसुनेका होइनौं । सरकार, दातृनिकाय र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा वर्षेनी अर्बौं रुपैयाँ कृषिका नाममा बालुवामा पानी सरह खन्याइएको छ तर ती सतहमै सीमित कागजी कार्यक्रमले कत्ति पनि आत्मनिर्भर बनाउन सकेका छैनन् । यो ध्रुवसत्य स्वीकार गर्दा कुनै लज्जाबोध हुनुहुँदैन, के हामी साँच्चै कृषिमा उत्पादनमुखी र स्वाभिमानी कर्म गरिरहेका छौं वा फगत अनुदान पचाउने निर्लज्ज खेतीमा रमाइरहेका छौं ? आफ्नो जमिनलाई बाँझो राख्ने तर विदेशबाट विषादीयुक्त चामल, दाल, तरकारी र फलफूल आयात गरेर पेट भर्ने प्रवृत्तिले आत्मनिर्भरता होइन, राष्ट्रिय कुपोषण र परनिर्भरताको खाडलतर्फ धकेलिरहेको छ । संसारका अन्य राष्ट्रहरूले विकासका विभिन्न आयाममा ठूला छलाङ मार्दै आफ्ना नागरिकको खाद्यसुरक्षा र स्वाभिमानलाई शिरोधार्य गरे तर हामीसँग भएका माटो, पानी, जनशक्तिजस्ता प्राप्त प्राकृतिक वरदानलाई सदुपयोग गर्न सकेनौं । माटोको सुगन्ध, खोलानालाको पानी र युवाहरूको श्रमशक्ति देशमै छ तर तिनलाई जोड्ने नीतिगत इमानदारीको अभाव छ । विडम्बना के भने कृषिमा आत्मनिर्भर बन्ने टाढैको विषय भयो उल्टै प्रत्येक वर्ष परनिर्भरताको दौडमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छौं । कसले विदेशबाट धेरै सस्तो वा सडेगलेको खाद्यवस्तु भित्र्याउनसक्छ र बजारमा बेच्नसक्छ भन्ने यो आत्मघाती प्रतिस्पर्धा नै आजको राष्ट्रिय दुर्भाग्यको मुख्य कारक छ । जबसम्म वस्तुतथ्यलाई स्वीकार गरेर भान्साको नियन्त्रण बाह्य बजारबाट आफ्नै बारीमा फर्काउँदैनौं तबसम्म स्वस्थ्य जनसंख्याको विषय, राष्ट्रिय स्वाधीनता र आत्मसम्मानका कुरा फगत गफमात्रै साबित हुनेछन् । यो एउटा यस्तो चोटिलो र दूरदर्शी सत्य हो जसले समाजको सबैभन्दा ठूलो विडम्बनालाई उदांगो पार्छ । राजनीतिक दलका मञ्चहरूमा, संसद्का भाषणहरूमा र राष्ट्रिय दिवसहरूका ठूला पम्प्लेटहरूमा ‘राष्ट्रिय स्वाधीनता’ र ‘आत्मनिर्भरता’ का ठूलठूला शब्द बारम्बार उच्चारण हुन्छन् तर जब एउटा नागरिक बिहान उठेर आफ्नो भान्सामा पस्छ, उसले प्रयोग गर्ने चामलदेखि दाल, तरकारी, तेल र मसलासम्मका अधिकांश वस्तु पराया देशको बजार र तिनका विषादीयुक्त पोकोहरूमा निर्भर पाइन्छ । जुन देशका नागरिकको चुलो र भान्सा अर्काको दया, आयातित उत्पादनमा अडिएको छ त्यस देशको राजनीतिक स्वाधीनता र स्वाभिमान फगत कागजी खोष्टोमा सीमित हुन्छभन्दा अत्युक्ति हुँदैन । भान्सा भनेको केवल पेट भर्ने ठाउँमात्र होइन यो कुनै परिवार, राष्ट्रको स्वास्थ्य, अर्थतन्त्र र सांस्कृतिक स्वाभिमानको केन्द्रबिन्दु हो । आफ्नो बारीमा उब्जने अर्गानिक, सात्विक र स्थानीय अन्नलाई छोडेर सीमापारिका रासायनिक विषादीयुक्त र सडेगलेका खाद्य पदार्थलाई भान्सामा भित्र्याउँछौं तब अनजानमै आफ्नो शरीरको स्वास्थ्यमात्र बेचेका हुँदैनौं बरू राष्ट्रको अर्थतन्त्र र परराष्ट्र नीतिसमेत परायाको हातमा सुम्पिरहेका हुन्छौं । अर्काको उत्पादनमा पेट भर्नुपर्ने बाध्यताले मानिसको आत्मबल र राष्ट्रको स्वाभिमानलाई क्रमशः कमजोर बनाउँदै लैजान्छ । त्यसैले जबसम्म हामीले आफ्नो श्रमलाई माटोमा जोड्दैनौं, आफ्ना खेतबारीहरूलाई बाँझो हुनबाट बचाउँदैनौं र बजारको कृत्रिम तथा परनिर्भरलाई चुँडालरे भान्साको सम्पूर्ण नियन्त्रण आफ्नै माटोको सुगन्धमा फर्काउँदैनौं त्यतिबेलासम्म गरिने आत्मनिर्भरता, स्वाधीनता र आत्मसम्मानका कुराकानी थोत्रो भाषणबाहेक केही हुनेछैनन् । राष्ट्रिय स्वाधीनताको वास्तविक लडाइँ सीमाको काँडेतारमा मात्र होइन प्रत्येक नेपालीको घरको भान्सा र उनीहरूको उत्पत्तिको स्रोतबारीबाटै सुरु हुनुपर्छ । आफ्नै माटोमा र आफ्नै पसिनाले सिञ्चित खाद्यान्नले सबै नागरिकको पेट भर्ने व्यवस्थाले मात्रै राष्ट्र स्वाधीन हुन्छ । हाम्रो कृषि प्रणालीको यो अवसान अचानक एकै रातमा भएको होइन । यसको लामो ऐतिहासिक र संरचनागत पृष्ठभूमि छ । कुनै समय नेपाल अन्न निर्यात गर्ने मुलुकबाट आज आयातित खाद्य पदार्थको भरमा बाँच्नुपर्ने अवस्थामा पुग्नुको पछाडि हाम्रो योजनाहीन विकास मोडल, गलत आर्थिक नीतिको प्रभाव र गाउँघरको श्रम संस्कृतिको अवमूल्यन प्रमुख कारण हुन् । जब देशमा आधुनिकीकरणको नाममा रैथाने जातका बिउबिजन, लोकल गाईगोरु र प्राकृतिक मल प्रणालीलाई विस्थापित गरेर विदेशी रासायनिक मल र विषादीको अन्धो प्रयोग भित्र्याइयो, त्यसबेलादेखि नै हाम्रो माटोको जीवन्तता मर्न थाल्यो । बारीलाई झारमुक्त बनाउने नाममा विषादी छर्केर खेतका मित्रजीवहरूलाई नष्ट गरियो र भान्सालाई रोगको कारखानामा परिणत गरियो । रासायनिक मल र विषको प्रयोगबिना खेती हुँदैन भन्ने घातक भ्रमले आज किसानलाई परनिर्भर बनाइदिएको छ । हाम्रो असफलताको अर्को ठूलो पाटो भनेको शिक्षा, श्रम र उत्पादनबीचको सम्बन्धलाई पूर्णरूपमा तोड्नु हो । विद्यालय र विश्वविद्यालयका चार पर्खालभित्र पसिना बगाउनुलाई हीनताबोधको रूपमा हेर्ने संस्कृतिको विकास गरियो । माटो छुने हातलाई ‘अशिक्षित’ र कलम समाउने हातलाई मात्र ‘सभ्य’ ठान्ने विभेदकारी मानसिकताले गर्दा आज हाम्रो ऊर्जावान् युवा जनशक्ति बारीको पाटामा पसिना बगाउनुको सट्टा वैदेशिक रोजगारीका नाममा खाडीको मरुभूमिमा ज्यान दाउमा राख्ने विषयलाई प्रतिष्ठा सम्झन्छ । यता गाउँघरमा खेतबारी बाँझिएर घारी बनेका छन् भने हाम्रा भान्साहरूमा विदेशी बजारका विषादीयुक्त प्याकेटहरूले राज गरेका छन् । श्रमप्रति सम्मान गर्ने संस्कृति हराएपछि र उत्पादनलाई श्रमसँग जोड्ने नीति कमजोर भएपछि कृषि पेशा अपमानित बन्न पुग्यो । परिणामस्वरूप आज हामीले आफ्नै माटोमा फलाउनसक्ने अन्न, तरकारी पराया देशको मुख ताक्नुपरेको छ । राज्यका नीतिनिर्माता र योजनाकारले कृषिलाई कहिल्यै रणनीतिक र राष्ट्रिय सुरक्षाको विषयको रूपमा हेरेनन् । कृषि क्षेत्रलाई चुनाव जित्ने साधन र भाषण गर्ने माध्यम बनाइयो । कृषि कर्जाका नाममा आएका अनुदान वास्तविक हलो जोत्ने किसानको हातमा पुग्नुको सट्टा दलाल, बिचौलिया र पहुँचवालाहरूको खल्तीमा पुग्ने रोगले देशलाई खोक्रो बनायो । बारीलाई विषमुक्त र भान्सालाई आरोग्ययुक्त बनाउने हो भने रैथाने ज्ञान, प्राकृतिक कृषि पद्धति, पञ्चगव्य, जीवामृत र जैविक मलको प्रयोगलाई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाउनुपर्छ । जमिनलाई रासायनिक विषको क्रुरताबाट मुक्त गराएर माटोलाई पुनर्जीवन दिनु पहिलो सर्त हो । रासायनिक मलमा दिइने अर्बौं रुपैयाँको अनुदानलाई क्रमशः घटाउँदै प्रांगारिक र प्राकृतिक कृषिलाई प्रोत्साहन गर्ने दूरदर्शी नीति राज्यले लिनुपर्छ । रैथाने बिउबिजन लोप हुँदै गए, बहुराष्ट्रिय कम्पनीहरूको बिउ र रासायनिक विषादीको पासोमा किसान फसे । माटोको उर्वरा शक्ति क्षयीकरण हुँदै गयो र मानिसको स्वास्थ्य प्रणाली ध्वस्त भयो । क्यान्सर, मिर्गौला फेल र मधुमेहजस्ता घातक रोगको मुख्य जड हामीले सेवन गर्ने गरेको त्यही विषयुक्त अन्न र तरकारी हो भन्ने कुरा बुझ्न अब कुनै वैज्ञानिक अनुसन्धान गरिरहनु पर्दैन । यो हाम्रो विवशता किमार्थ होइन बरू राज्य र समाजको संयुक्त उदासीनताको परिणाम हो । अबको बाटो निराशाको अन्धकारमा रुमलिने होइन कि गम्भीर आत्मसमीक्षा गर्दै आमूल सुधार र पुनर्जागरणको मार्गमा हिँड्ने हो । साँच्चै देशलाई परनिर्भरताको यो दलदलबाट निकाल्न चाहन्छौं भने सबभन्दा पहिले कृषि नीतिमा क्रान्तिकारी फेरबदल ल्याउनै पर्छ । बारीलाई विषमुक्त र भान्सालाई आरोग्ययुक्त बनाउने हो भने रैथाने ज्ञान, प्राकृतिक कृषि पद्धति, पञ्चगव्य, जीवामृत र जैविक मलको प्रयोगलाई राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाउनुपर्छ । जमिनलाई रासायनिक विषको क्रुरताबाट मुक्त गराएर माटोलाई पुनर्जीवन दिनु पहिलो सर्त हो । रासायनिक मलमा दिइने अर्बौं रुपैयाँको अनुदानलाई क्रमशः घटाउँदै प्रांगारिक र प्राकृतिक कृषिलाई प्रोत्साहन गर्ने दूरदर्शी नीति राज्यले लिनुपर्छ । जबसम्म माटो विषमुक्त हुँदैन तबसम्म उत्पादन गर्ने अन्नले हाम्रा नागरिकलाई निरोगी बनाउन सक्दैन । यसका लागि शिक्षा प्रणाली र सामाजिक सोचाइमा गहिरो कायापलटको आवश्यकता छ । हाम्रो शिक्षा नीतिले ज्ञान, श्रमलाई जोड्ने गरी कलम र कोदालोको अवधारणालाई व्यावहारिक रूप दिनुपर्छ । विद्यालय तहदेखि विद्यार्थीहरूलाई माटो, बिरुवा, प्रकृति र उत्पादनसँग जोड्ने सिकाइ प्रणाली लागू गरिनुपर्छ । श्रमप्रति सम्मान गर्ने संस्कृति नफर्काइकन खाद्यान्नमा आत्मनिर्भरता सम्भव छैन । गाउँघरमै रोजगारीका अवसर सिर्जना गरी विदेशिएका युवाहरूलाई स्वदेशमै फर्काउने खालको ठोस र परिणाममुखी कार्यक्रम ल्याउनुपर्छ । कृषि उत्पादनलाई बजारसँग जोड्न, बिचौलियाहरूको जालोलाई तोड्न र उत्पादित वस्तुको उचित मूल्य किसानले पाउने ग्यारेन्टी राज्यले गर्नुपर्छ । जब किसानले आफ्नो पसिनाको उचित मूल्य र सम्मान पाउँछ तबमात्र ऊ उत्साहका साथ माटोमा सुन फलाउन लाग्नेछ । अन्ततः झाररहित बारी, विषरहित भान्साको संकल्प केवल कृषिका कुरा मात्र हुन भन्ने ठान्नु हुँदैन । यो समग्र राष्ट्रको स्वाधीनता, नागरिकको दिगो स्वास्थ्य र भावी पुस्ताको भविष्यसँग जोडिएको अति संवेदनशील प्रश्न हो । परनिर्भरताको यो आत्मघाती प्रतिस्पर्धालाई तोडेर आत्मनिर्भरताको उज्यालो बाटोमा हिँड्ने कठोर संकल्प अब हामीले गर्नैपर्छ । आयातित विषाक्त अन्नको पोकोमा निर्भर रहने परजीवी बानीलाई त्यागेर आफ्नै पसिनाबाट उत्पादित सात्विक र अर्गानिक भोजनले भान्सा सजाउने दिनको सिर्जना गर्नु मुख्य राष्ट्रिय कार्यभार हो । समयमै चेतेर आफ्नो माटो, श्रम र कृषि संस्कृतिको रक्षा गर्न सकेनौं भने आउने पुस्ताले हामीलाई इतिहासको सबैभन्दा अदूरदर्शी र लाछी पुस्ताको रूपमा धिक्कार्नेछ । अबको प्रण-विषमुक्त बारी, स्वाभिमानी नागरिक र आत्मनिर्भर नेपाल हुनुपर्छ । अब धान झुल्ने खेत र तरकारी फल्ने बारीमा झार फुल्नेछैन र हाम्रो भान्सामा विदेशीले उत्पादन गरेको विषादी अब पाक्दैन भन्ने संकल्प नै हाम्रो साझा गन्तव्य हुनुपर्छ । यो दृढ संकल्प नै हाम्रो राष्ट्रिय स्वाभिमान र आरोग्यको मुख्य आधार हो । जबसम्म हामीले माटोलाई विषादीको पासोबाट मुक्त गरेर आफ्नै बारीमा र पसिनामा निर्भर हुँदैनौं तबसम्म स्वाधीनताको नारा सार्थक हुन्छ न स्वस्थ जीवनको परिकल्पना नै पूरा हुन्छ । आयातित विषयुक्त खाद्य पदार्थको निर्भरता तोडेर आफ्नै माटोको सुगन्धित अन्नले भान्सा सजाउनु एकमात्र निर्विकल्प गन्तव्य हो । जतिबेलासम्म त्यो गन्तव्य पहिल्याउन सरकारहरू सक्षम हुँदैनन् ती सबै सरकारहरू निःसन्देह असफल सरकारको श्रेणीमा पर्छन् । अब यसअघिका सरकारहरूलाई झैँ वर्तमान सरकारलाई भने झाररहित बारी, विषरहित भान्सा बनाउन असफल हुने छुट किमार्थ हुनेछैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र दिन मन्त्रालयको निर्देशन
Latest NewsJust now

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र दिन मन्त्रालयको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको भूमि प्रशासन शाखाद्वारा जारी पत्रमा कात्तिक १३ को मन्त्रीस्तरीय निर्णयअनुसार सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन भएको हो । मन्त्रालयले जारी गरेको पत्रमा स्थानीय तहबाट सेवा सञ्चालन गर्न ...

केन्द्रबिन्दु
पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने
Latest NewsJust now

पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा मंगलबार बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम सम्पन्न नभएकाले कात्तिक १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ । यसअघि सोमबार बिहान ...

कर्पोरट खबर
भारतमा आतंक मच्चाउन थालेको ‘मुरासु’ चक्रवातले नेपालमा कस्तो प्रभाव पार्ला
Latest NewsJust now

भारतमा आतंक मच्चाउन थालेको ‘मुरासु’ चक्रवातले नेपालमा कस्तो प्रभाव पार्ला

बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरिसकेको छ। त्यहाँ हुरी तथा वर्षा सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  भारतको मौसम विभागका अनुसार उक्त चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो। अहिले त्यसले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। आन्ध्रका तटीय क्... ...

नेपालखबर
पृथ्वी राजमार्ग आज पनि २ घण्टा अवरुद्ध हुने
Latest NewsJust now

पृथ्वी राजमार्ग आज पनि २ घण्टा अवरुद्ध हुने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग आज पनि २ घण्टा यातायात बन्द हुने भएको छ। आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम नसकिएकाले उक्त सडकखण्डमा आज पनि बिहान ९ बजेदेखि ११ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो। स्थानीय प्रशासनले सोमबार पनि उक्त स्थानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यातायात रोकेको थियो। तर हिज... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play