जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरु गरेको हो । नेकपाका कर्णाली प्रदेश सह इन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा नेकपाले वडास्तरमा राष्ट्रिय जागरण अभियान सुरु गरेको कर्णाली प्रदेश सह इन्चार्ज नरेश भण्डारीले जानकारी दिनुभयो । नेकपा जुम्ला जिल्ला इन्चार्ज गोमा कुँवरले जनताको घरदैलोमा पुग्न र जनताका गुनासा सुन्न राष्ट्रिय जागरण अभियान सुरु गरिएको उल्लेख गरे । पार्टी कार्यकर्ता र नेताहरूबिच संवाद, सहिद तथा घाइतेलाई अभियानका क्रममा भेट्ने कार्यक्रम छ । राष्ट्रिय जागरण अभियानमा सहभागीताका लागि पार्टीका सबै क्रियाशिल कार्यकर्ता लाग्ने सबैलाई अपिल गरेको नेकपा जुम्ला जिल्ला इन्चार्ज कुँवरको भनाइ छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको नेकपा जुम्ला निर्वाचन क्षेत्र (क) का इन्चार्ज बीर बहादुर कुँवरले बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने र निजि क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति बालेन सरकारले देखाइरहेको नेकपा केन्द्रिय सदस्य पदम बहादुर रोकायाले बताउनुभयो । आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउदै अघि बढ्ने नेकपा जुम्लाका नेताहरुको भनाइ छ । अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्याउने, आवश्यकता अनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने नेकपाका नेताले धारणा राखेका थिए । अभियानसँगै पार्टीलाई सुदृढ र रूपान्तरण गर्ने भन्दै सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने गरि काम गरिने नेकपा जुम्लाले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान मङ्सिर २५ गते समापन हुने भएको छ ।
जुम्लामा नेकपाको जागरण अभियान सुरु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






