काठमाडौं । तिहारलाई लक्षित गरी ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बुधबार (आज) समापन हुँदैछ । यसैबीच पोखरा र इलाममा पनि आजदेखि पुष्प प्रदर्शनी तथा मेला सुरु हुँदैछन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ गतेदेखि जावलाखेलस्थित खेल मैदानमा सञ्चालन भइरहेको गोदावरी पुष्प प्रदर्शनीको अवधि वर्षाका कारण दुई दिन थप गरिएको थियो । सुरुमा पाँच दिन सञ्चालन गर्ने तय भएको प्रदर्शनी कात्तिक १८ गतेसम्म पुर्याइएको हो ।

प्रदर्शनीमा ८६ व्यावसायिक स्टलमार्फत गोदावरीका ४५० भन्दा बढी प्रजातिका फूल तथा अन्य मौसमी फूल र बिरुवा प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । प्रदर्शनीको पाँचौँ दिनसम्म ३७ हजारभन्दा बढीले अवलोकन गरेका छन् भने एक करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।

यसैगरी, पोखरामा आजदेखि नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेशस्तरीय एवं तेस्रो पोखरा सयपत्री फूल मेला सुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा पोखरा रङ्गशालामा कात्तिक १८ देखि २३ गतेसम्म मेला सञ्चालन हुनेछ ।

मेलामा २२ वटा व्यावसायिक, तीनवटा कृषि सामग्रीसम्बन्धी र एउटा सूचनामूलक गरी २६ वटा स्टल रहनेछन् । गोदावरीका करिब ५० प्रजातिसहित सयपत्री, मखमली, मौसमी फूल, सुनगाभा, बोन्साई तथा विभिन्न बिरुवा प्रदर्शनी र बिक्रीका लागि राखिने आयोजकले जनाएको छ । मेलामा ३५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, इलाम बजारमा आजदेखि प्रथम गोदावरी मेला–२०८३ सुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान), इलामको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म चार दिन मेला सञ्चालन हुनेछ ।

‘फूलै फूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी’ भन्ने नारासहित आयोजना हुने मेलामा १५ देखि २५ वटासम्म नर्सरी फार्मका स्टल रहने आयोजकले जनाएको छ । मेलामा नेपालमै उत्पादित गोदावरी फूल, विभिन्न प्रजातिका फूल तथा बिरुवा, कृषि औजार र मलखादको प्रदर्शनी तथा बिक्री गरिनेछ । साथै आधुनिक खेती प्रविधि, बजारसम्बन्धी सूचना आदानप्रदान र परामर्शसमेत उपलब्ध गराइनेछ ।

इलाममा पहिलोपटक आयोजना हुन लागेको यस मेलाले स्थानीय पुष्प व्यवसायको प्रवर्द्धन, स्वदेशी उत्पादनको बजारीकरण र पर्यटन विकासमा सहयोग पुर्याउने आयोजकको अपेक्षा छ ।

जावलाखेलको प्रदर्शनी समापन हुँदै गर्दा पोखरा र इलाममा नयाँ प्रदर्शनी सुरु हुनुले तिहारको समयमा देशका विभिन्न क्षेत्रमा पुष्प व्यवसाय र स्वदेशी फूलको बजारीकरणलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।

जावलाखेलको गोदावरी पुष्प मेला आज अन्तिम दिन, पोखरा र इलाममा नयाँ प्रदर्शनी सुरु

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार