काठमाडौं । जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् । भूकम्पका कारण पसलका सिसा फुटेका छन् भने मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर भागेका थिए । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले भूकम्पको तीव्रता ५.७ म्याग्निच्युड मापन गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने यसको तीव्रता ५.५ म्याग्निच्युड रहेको जनाएको छ । भूकम्पपछि साना परकम्पसमेत गएका थिए । स्थानीय समयअनुसार आइतबार बिहान १ बजेर ४ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु शिजुओका प्रिफेक्चरमा थियो । पृथ्वीको सतहबाट करिब ४० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ । भूकम्पको सबैभन्दा तीव्र धक्का आइची प्रिफेक्चरमा महसुस गरिएको आधिकारिक भूकम्पीय विवरणमा उल्लेख छ । भूकम्पले मध्य जापानका विभिन्न क्षेत्र प्रभावित भएका छन् । हमामात्सु सहरसहित पुराना राजधानी सहर क्योटो र नारामा पनि धक्का महसुस गरिएको थियो । माउन्ट फुजी रहेको यामानासी र गिफु प्रिफेक्चरमा समेत भूकम्पको असर परेको थियो । जापानी टेलिभिजनले प्रसारण गरेका दृश्यमा पसलका सिसा फुटेको र सडकमा सिसाका टुक्रा छरिएको देखिएको थियो । भूकम्पका कारण एउटा पुस्तक पसलका दराजबाट पुस्तकहरू खसेर छरिएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही भवनबाट बाहिरिने क्रममा सिँढीबाट लडेर चोट लागेका हुन् । भूकम्पपछि रेल सेवा पनि प्रभावित भएको छ । प्रभावित क्षेत्रमा चल्ने शिन्कान्सेन बुलेट ट्रेनहरू सावधानीका लागि कम गतिमा सञ्चालन गरिएको थियो । भूकम्पका कारण रेलमार्ग र पूर्वाधारमा क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै गति घटाइएको हो । प्रभावित क्षेत्रबाट टाढा रहेको राजधानी टोकियोमा भने भूकम्पको धक्का महसुस भएन । प्रशान्त महासागरीय क्षेत्रको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले जापान भूकम्प र ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको देश हो । त्यहाँ नियमित रूपमा विभिन्न तीव्रताका भूकम्प जाने गर्छन् । सम्भावित क्षति र मानवीय जोखिम कम गर्न जापानमा भवन निर्माणका कडा मापदण्ड र विपद् पूर्वतयारीका व्यवस्था लागू गरिएका छन् । बीबीसी
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






