काठमाडौं – जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् । राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष एवं टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन विश्वकै गम्भीर चुनौती बनिसकेको भन्दै अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । कार्यकारी सचिव स्टिलले जलवायु कार्यलाई राष्ट्रहरूको सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोडेर हेर्नुपर्ने बताउँदै स्वच्छ ऊर्जामा लगानी बढाउन र जलवायु सङ्कटको उच्च जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय सहकार्यका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २।६ डिग्रीमा झरेको उल्लेख गर्दै उहाँले अझै प्रभावकारी प्रयास आवश्यक रहेको बताए । राष्ट्रिय जलवायु लक्ष्यलाई कार्यान्वयनमा लैजाने, अर्थतन्त्रका सबै क्षेत्रमा विद्युतीकरण गर्ने, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने र विकासशील राष्ट्रको जलवायु वित्तमा पहुँच सहज बनाउने विषयलाई कोप–३१ ले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । कोप–३१ का अध्यक्ष कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए । सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा बढी पुगेको उल्लेख गर्दै उनले जलवायु सङ्कटका असर विश्वभर देखिन थालेको बताए । नेपालमा बाढीपहिरो, पाकिस्तानमा बाढी र प्रशान्त क्षेत्रका टापु राष्ट्रमा समुद्री सतह वृद्धि जलवायु परिवर्तनको गम्भीरताका उदाहरण भएको उनको भनाइ थियो । उनले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट तथा लगानीसँग जोड्न, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्न र विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्ने बताए । टर्किएले सन् २०३५ सम्म अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने लक्ष्य लिएको जानकारी पनि उनले दिए । कोप–३१ का वार्ता अध्यक्ष बोवेनले विश्वले ऊर्जा सुरक्षा सङ्कट, युद्ध तथा द्वन्द्व र जलवायु सङ्कटको एकैसाथ सामना गरिरहेको बताए । तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन, अर्थतन्त्र र वातावरणमा गम्भीर असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उनले उल्लेख गरे । गत वर्ष स्वच्छ ऊर्जामा दुई दशमलव दुई ट्रिलियन अमेरिकी डलर लगानी भएको र यो जीवाश्म इन्धनमा भएको लगानीको तुलनामा दोब्बर रहेको जानकारी दिँदै उहाँले स्वच्छ ऊर्जाको विस्तारलाई अझ तीव्रता दिनुपर्ने बताए । जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रको अनुकूलन तथा उत्थानशीलताका लागि लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिए । जलवायु वित्तमा विद्यमान असमानता हटाएर राष्ट्रिय जलवायु योजनालाई कार्यान्वयन गर्न सकिने ठोस परियोजनामा रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो । तीनै वक्ताले जलवायु सङ्कटको सामना गर्न बहुपक्षीय सहकार्य, पर्याप्त वित्तीय सहयोग र प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै कोप–३१ बाट ठोस उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।
जलवायु सङ्कटसँग जुध्न स्वच्छ ऊर्जा र जलवायु वित्त विस्तारमा जोड

Read Complete Original Article
Published originally on विश्वखबर






