Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

जलवायु संकट विश्वव्यापी स्वास्थ्य संकटका रूपमा विकसित !

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु संकट विश्वव्यापी स्वास्थ्य संकटका रूपमा विकसित !
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र जलवायुसम्बन्धी विपद् बढ्दै जाँदा विश्वव्यापी स्वास्थ्य सङ्कट गहिरिँदै गएको जलवायु तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्। टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले सार्वजनिक गरेको सन् २०२६ को जलवायु अवस्थासम्बन्धी प्रतिवेदनबारे आयोजित पत्रकार सम्मेलनमा उनीहरूले जलवायु सङ्कट महामारीको स्तरमा पुगेको बताएका हुन्। जलवायु परिवर्तनले स्वास्थ्य प्रणाली र पूर्वाधारमा समेत गम्भीर असर पारिरहेको उनीहरूको भनाइ थियो। कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले दक्षिण एसियामा करोडौँ मानिस अत्यधिक गर्मीको जोखिममा रहेको र उत्तरी गोलाद्र्धको यस वर्षको ग्रीष्मकालमा तापक्रमले विगतका सबै रेकर्ड तोड्दा युरोपमा मात्रै अनुमानित ५० हजार मानिसको मृत्यु भएको बताए। “धेरै मानिसका लागि जलवायु परिवर्तन घातक बन्दै गएको छ। शक्तिशाली एल निनोले जलवायुसम्बन्धी असरलाई थप तीव्र बनाउँदै दोहोरो प्रहार गरिरहेको छ। जलवायु सङ्कट अहिले महामारीको स्तरमा पुगेको विश्वव्यापी स्वास्थ्य सङ्कट हो,” उनले भने। जलवायु परिवर्तनका कारण गर्भवती महिला, नवजात शिशु तथा मातृस्वास्थ्यमा देखिएका असर अर्को गम्भीर स्वास्थ्य चुनौतीका रूपमा विकसित भइरहेको उनले बताए। यसको प्रमुख कारण ठूलो परिमाणमा कोइला, तेल र ग्यासको प्रयोग तथा वन विनाश रहेको उनको भनाइ थियो। जलवायु तथा स्वास्थ्यका विषयलाई विश्वव्यापी प्राथमिकतामा ल्याउन योगदान गरेकोमा वेलकम, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) लगायतका संस्थालाई धन्यवाद दिँदै उनले मातृस्वास्थ्य क्षेत्रमा कार्यरत एक हजार स्वास्थ्यकर्मीमाथि गरिएको सर्वेक्षणका नयाँ तथ्याङ्कले यस क्षेत्रको जोखिम उजागर गरेको बताए। यस वर्षको कोप सम्मेलन व्यावहारिक समाधान अघि बढाउने र त्यसबाट जनजीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने विषयमा केन्द्रित रहेको उनले उल्लेख गरे। टर्किए र अस्ट्रेलियाको मार्गदर्शनमा स्वास्थ्यको विषयलाई सम्मेलनमा पुनः प्राथमिकतामा राखिएको तथा ब्राजिलको बेलेममा सम्पन्न कोप–३० का उपलब्धिलाई अघि बढाइने उनले बताए। जलवायु तथा स्वास्थ्य वित्तदाता गठबन्धनले हालसम्म २० करोड अमेरिकी डलरभन्दा बढी रकम प्रदान गरिसकेको जानकारी दिँदै उनले सम्मेलनका क्रममा उक्त कोषमा थप रकम जुटेको बताए। विश्वव्यापी स्वास्थ्य सङ्कट समाधानका उपाय उपलब्ध रहेको उल्लेख गर्दै उनले विद्युतीकरण र स्वच्छ ऊर्जाको विस्तारलाई महत्त्वपूर्ण उपायका रूपमा प्रस्तुत गरे। “यस कोपमा राष्ट्रहरूसामु एउटा छनोट छ– विद्युतीय ऊर्जा वा ऊर्जा सङ्कट। विश्व अर्थतन्त्रलाई विद्युतीय युगअनुकूल पुनर्संरचना गर्ने कि परिवार, व्यवसाय, सरकार र स्वास्थ्य प्रणालीले जीवाश्म इन्धनको निरन्तर बढ्दो मूल्य चुकाइरहने भन्ने निर्णय गर्नुपर्नेछ,” उनले भने। प्रभावकारी विद्युतीय प्रविधि र स्वच्छ ऊर्जाको प्रयोगले पृथ्वीको तापक्रम बढाउने प्रदूषण तथा घरपरिवारको बढ्दो खर्च घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। यसैगरी, विश्व मौसम विज्ञान सङ्गठनका महासचिव सेलिस्टे साउलोले जलवायु परिवर्तनको वैज्ञानिक प्रमाण स्पष्ट रहेको र विश्वले लगातार तापक्रमका नयाँ रेकर्ड सामना गरिरहेको बताए। सन् २०२६ को जलवायु अवस्थासम्बन्धी प्रतिवेदनले कोप–३१ को छलफलमा वैज्ञानिक तथ्य र प्रमाणलाई केन्द्रमा ल्याएको उल्लेख गर्दै उनले पछिल्ला १२ वर्ष अहिलेसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा रेकर्ड भएको जानकारी दिए। सन् २०२६ सहित पछिल्ला चार वर्ष अहिलेसम्मकै सबैभन्दा गर्मी चार वर्ष बनेको उनले बताए। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म विश्वको औसत तापक्रम औद्योगिक युग सुरु हुनुअघिको औसतभन्दा करिब १.४७ डिग्री सेल्सियस बढी रहेको उनले जानकारी दिए। शक्तिशाली एल निनोका कारण सन् २०२६ को समग्र तापक्रम अझ बढ्न सक्ने उनको भनाइ थियो। एल निनोको प्रभाव यसको विकास भएको वर्षभन्दा त्यसपछिको वर्षमा विश्वव्यापी तापक्रममा बढी देखिने भएकाले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष बनेको र सन् २०२७ मा पनि तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने उनले बताए। सन् २०२६–२०२७ को एल निनो आफूहरूले अहिलेसम्म अनुगमन गरेका घटनामध्ये असाधारण रहेको उल्लेख गर्दै उनले सन् २०२६ नोभेम्बरदेखि सन् २०२७ जनवरीसम्म उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम औसतभन्दा झन्डै चार गुणासम्म बढी हुन सक्ने पूर्वानुमान गरिएको बताए। विश्वका समुद्रको तापक्रम लगातार दसौँ वर्ष उच्च स्तरमा पुगेको, सन् २०२६ मा समुद्री सतहको तापक्रमले मासिक रेकर्ड तोडेको तथा समुद्री सतह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको उनले जानकारी दिए। समुद्री सतह बढ्दा तटीय तथा होचो भूभागमा बसोबास गर्ने करिब ९० करोड मानिसको जोखिम बढेको उनले बताए। गर्मीका लहर, उष्णकटिबन्धीय चक्रवात र वर्षाजन्य विपद् विगतको तुलनामा तीव्र बन्दै गएको उल्लेख गर्दै उनले सन् २०२६ मा लाखौँ मानिस असह्य गर्मीको जोखिममा परेको र युरोपमा मात्रै अत्यधिक गर्मीका कारण दशौँ हजार अतिरिक्त मृत्यु भएको बताए। भारत, पाकिस्तान तथा एसिया र उत्तर अमेरिकाका ठूलो भूभागले खतरनाक गर्मीको सामना गर्नुपरेको उल्लेख गर्दै उनले दक्षिणी गोलाद्र्धमा गर्मी याम सुरु हुँदै गर्दा थप जोखिम देखिन सक्ने बताए। चीन र नेपालमा भएका विपद्ले उच्च हिमाली क्षेत्रमा हुने प्राकृतिक प्रकोपबाट तल्लो तटीय तथा नदी किनारका समुदायसमेत गम्भीर जोखिममा पर्न सक्ने देखाएको उनले बताए। कोप–३१ सुरु भइरहँदा दक्षिण अमेरिका र अफ्रिकाका केही क्षेत्रमा विनाशकारी बाढी तथा एसिया, प्रशान्त क्षेत्र र मध्यअमेरिकाका विभिन्न देशमा खडेरीको अवस्था रहेको उनले उल्लेख गरे। यद्यपि, जलवायु जोखिम न्यूनीकरणका प्रयासले सकारात्मक नतिजा दिन थालेको उनले बताए। बहुप्रकोप पूर्वसूचना प्रणालीसम्बन्धी प्रतिवेदन पेस गर्ने देशको सङ्ख्या सन् २०१५ मा ५६ रहेकामा सन् २०२५ मा बढेर १३६ पुगेको उनले जानकारी दिए। सबैका लागि पूर्वसूचना प्रणाली (अर्ली वार्निङ्स फर अल) को लक्ष्य प्राप्तितर्फ भएका प्रगतिको समीक्षा कोप–३१ मा गरिने उल्लेख गर्दै उनले यस्तो प्रणाली संयुक्त राष्ट्रसङ्घको मात्र नभई सम्पूर्ण मानवजातिको साझा जिम्मेवारी भएको बताए। पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन मौसमसम्बन्धी अवलोकन, तथ्याङ्क र वैज्ञानिक सूचनाको गुणस्तर बलियो हुनुपर्ने उनको भनाइ थियो। त्यसका लागि विश्वका सबै क्षेत्रमा निरन्तर मौसम अवलोकन र तथ्याङ्क सङ्कलनमा लगानी बढाउन उनले आग्रह गरे। “हामी आँखामा पट्टी बाँधेर अघि बढ्न सक्दैनौँ,” उनले भने। जलवायु सङ्कट अस्तित्वसँग जोडिएको चुनौती भएकाले कोप–३१ बाट तत्काल आवश्यक निर्णय लिनुका साथै तिनको कार्यान्वयनका लागि पर्याप्त वित्तीय स्रोतको व्यवस्था गर्नुपर्ने उनले बताए। वेलकमका जलवायु तथा स्वास्थ्य निर्देशक एलन डाङ्गोरले विश्व मौसम विज्ञान सङ्गठनको प्रतिवेदनले वायुमण्डलमा हरितगृह ग्यासको उच्च सघनता, स्थल र समुद्रको तापक्रममा नयाँ रेकर्ड, समुद्री बरफ पग्लने क्रम तथा समुद्री सतह वृद्धिको गम्भीर अवस्था उजागर गरेको बताए। जलवायु परिवर्तनको असरबाट विश्वका कुनै पनि क्षेत्र अछुतो नरहेको उल्लेख गर्दै उनले जलवायु वार्तामा मानव स्वास्थ्य र जनजीवनलाई पर्याप्त प्राथमिकता दिनुपर्ने बताए। ‘द ल्यान्सेट काउन्टडाउन’ को वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै उनले जीवाश्म इन्धनको प्रयोग र मानव सिर्जित जलवायु परिवर्तनका कारण वायु प्रदूषण तथा अत्यधिक गर्मीबाट प्रत्येक वर्ष ३० लाखभन्दा बढी मानिसको मृत्यु हुने अनुमान रहेको जानकारी दिए। यसबाट थप करोडौँ मानिसको स्वास्थ्य र समृद्धिमा प्रतिकूल असर परेको उनले बताए। सन् २०२५ मा विश्वको करिब ५२ प्रतिशत भूभाग कम्तीमा एक महिनासम्म अत्यधिक खडेरीबाट प्रभावित भएको उल्लेख गर्दै उनले यसले किसान तथा बाहिरी क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रत्यक्ष असर पारेको बताए। भूमिगत जलभण्डारमा सुक्खा र ओसिलो अवस्थाको बदलिँदो प्रवृत्तिले खाद्य सुरक्षा र सरसफाइमा समेत गम्भीर स्वास्थ्य समस्या निम्त्याएको उनको भनाइ थियो। यद्यपि, जलवायु तथा स्वास्थ्य सङ्कट समाधानका उपाय उपलब्ध रहेको उनले बताए। जीवाश्म इन्धनबाट हुने वायु प्रदूषण घटेका कम्तीमा ७७ देशमा स्वच्छ हावाका कारण प्रत्येक वर्ष तीन लाखभन्दा बढी मानिसको ज्यान जोगिएको उनले उल्लेख गरे। विद्युतीकरण र स्वच्छ ऊर्जाको प्रयोगले मानव जीवन जोगाउनुका साथै स्वास्थ्य उपचार खर्च घटाउने, गर्मीसम्बन्धी पूर्वसूचना प्रणालीले मौसमी विपद्बाट हुने मृत्यु रोक्न सहयोग गर्ने तथा जलवायु अनुकूलनका उपायमा अहिले नै लगानी गर्दा भविष्यमा ठूलो आर्थिक तथा मानवीय क्षति रोक्न सकिने उनले बताए। वेलकमले ३५ भन्दा बढी परोपकारी संस्थासँग मिलेर ब्राजिलको बेलेममा सम्पन्न कोप–३० मा जलवायु तथा स्वास्थ्य वित्तदाता गठबन्धन स्थापना गरेको जानकारी दिँदै उनले गठबन्धनका लागि प्रारम्भिक चरणमा ३० करोड अमेरिकी डलरको संयुक्त प्रतिबद्धता प्राप्त भएको बताए। उक्त गठबन्धनले पहिलो वर्षमै अत्यधिक गर्मी, वायु प्रदूषण, जलवायुसंवेदनशील सङ्क्रामक रोग र तथ्याङ्क प्रणालीसम्बन्धी कामका लागि २२ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी रकम प्रदान गरिसकेको उनले जानकारी दिए। साथै, नयाँ तथा पुराना दाताबाट थप १५ करोड अमेरिकी डलरको प्रतिबद्धता प्राप्त भएको उनले बताए। जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राखेर सरकार, निजी क्षेत्र र परोपकारी संस्थाबीच सहकार्य तथा लगानी बढाउनुपर्नेमा उनले जोड दिए। विशेषगरी बालबालिका, गर्भवती महिला, बाहिर काम गर्ने श्रमिक र ज्येष्ठ नागरिक जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले उनीहरूको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी नीति, योजना र तथ्याङ्क प्रणाली आवश्यक रहेको उनले बताए। “जलवायुको अवस्था वास्तवमा मानव स्वास्थ्यको अवस्थाको सबैभन्दा ठूलो सूचक बनिसकेको छ। जलवायु वार्तालाई मानिसको जीवन त्यसैमा निर्भर भएजस्तै गम्भीरताका साथ अघि बढाउनुपर्छ, किनकि वास्तवमै मानिसको जीवन त्यसैमा निर्भर छ,” उनले भने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर
Latest NewsJust now

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर

उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। ...

हाम्राकुरा
कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन
Latest NewsJust now

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्। ...

कान्तिपुर
ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय
Latest NewsJust now

ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन ९प्रोभिजनिङ० को विद्यमान व्यवस्था अव्यावहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले आर्थिक मन्दी तथा प्रतिकूल आर्थिक परिस्थितिका कारण ऋण भुक्तानी गर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए । ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play