Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउनेः तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत हिमनदी, हिउँमण्डल र लचिलोपन’ विषयक छलफलमा उनले हिमनदी पग्लिने, हिउँमण्डल खुम्चिने र पर्वतीय क्षेत्रमा विपद्को जोखिम बढ्ने क्रमले विश्वकै जल सुरक्षा र खाद्य सुरक्षामा चुनौती थपेको बताएका हुन् । “जब हिमालहरू सङ्कटमा हुन्छन्, तब सिङ्गो मानवता सङ्कटमा पर्छ,” उनले भने, “हजारौँ वर्षमा बनेका हाम्रा हिमनदी र हिमाली चुचुरा मानव जीवनकालभित्रै तीव्र गतिमा परिवर्तन भइरहेका छन् । यसको असर हिमालमा मात्र नभई नदी प्रणाली, अर्थतन्त्र र पारिस्थितिकीय प्रणाली हुँदै समुद्रसम्म पुग्छ ।” पृथ्वीको कूल जमिनको करिब २७ प्रतिशत भूभाग ओगटेका हिमाल विश्वका प्रमुख ताजा पानीका स्रोत भएको उल्लेख गर्दै उनले कृषि, स्वच्छ ऊर्जा, जैविक विविधता र जल सुरक्षामा हिमाली क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । नेपालका लागि जलवायु परिवर्तनको जोखिम सैद्धान्तिक विषय नभई प्रत्यक्ष मानवीय तथा भौतिक क्षतिसँग जोडिएको वास्तविकता भएको उल्लेख गर्दै मन्त्री खनालले गत अगस्ट २६ मा नेपालको हिमाली क्षेत्रमा भएको विनाशकारी बाढीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । उक्त घटनालाई ‘हिमालयन सुनामी’को सङ्ज्ञा दिँदै उनले हिमनदी तथा चट्टानको पतनबाट उत्पन्न तीव्र वेगको लेदोयुक्त बाढीले मानवीय जीवन, पुल, जलविद्युत् संरचना र स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पारेको बताए । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्ता देशले जलवायु सङ्कटको असमानुपातिक भार व्यहोर्नुपरेको उनको भनाइ थियो । तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य हासिल गर्न विश्वव्यापी उत्सर्जन कटौतीलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उनले तापक्रम अस्थायी रूपमा बढेर पुनः घटे पनि त्यसबीचमा पग्लिएका हिमनदी र नष्ट भएका समुदायको अवस्था तत्काल पूर्ववत् अवस्थामा नफर्कने बताए । “पर्वतीय राष्ट्रहरूका लागि तापक्रमको सीमा नाघ्नु अस्थायी साङ्ख्यिकीय विचलन मात्र होइन, यसका परिणाम दीर्घकालीन र कतिपय अवस्थामा अपरिवर्तनीय हुन्छन्,” उनले भने। मन्त्री खनालले पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपालका तर्फबाट पाँच प्राथमिकता प्रस्तुत गरे । ती प्राथमिकतामा महत्वाकांक्षी उत्सर्जन न्यूनीकरण, अनुदानमा आधारित जलवायु वित्त, प्रभावकारी हानि तथा नोक्सानी व्यवस्थापन, विज्ञानमा आधारित निगरानी तथा पूर्वसूचना प्रणाली र संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनाभित्र पर्वतीय मुद्दाको संस्थागत मान्यता रहेका छन् । उनले पर्वतीय देशलाई अनुकूलन, उत्थानशील पूर्वाधार र दिगो जीविकोपार्जनका लागि अनुमानयोग्य, सहज पहुँचयोग्य तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने बताए । विपद्बाट प्रभावित तथा जोखिममा रहेका देशलाई ऋणको भरमा मात्र पुनर्निर्माण गर्न बाध्य पार्नु न्यायोचित नहुने उनको धारणा थियो । त्यस्तै, हानि तथा नोक्सानीसम्बन्धी कोषबाट प्राप्त हुने स्रोत अग्रपङ्क्तिमा रहेका पर्वतीय समुदायसम्म छिटो, प्रत्यक्ष र न्यायोचित रूपमा पुर्‍याउनुपर्ने उनले उल्लेख गरे । हिमनदीको नियमित अनुगमन, उपग्रहमा आधारित अवलोकन, क्षेत्रीय तथ्याङ्क आदानप्रदान तथा बहुप्रकोप पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले सीमापार जलवायु जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य र सूचना आदानप्रदान महत्वपूर्ण हुने बताए । नेपालको सगरमाथा संवाद, किर्गिस्तानको बिस्केक माउन्टेन डाइलग र ताजिकिस्तानको दुशान्बे हिमनदी सम्मेलनले पर्वतीय जलवायु सङ्कटलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले अब राजनीतिक प्रतिबद्धतालाई ठोस कार्य र लगानीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । नेपालले पर्वतीय तथा समुद्री तटीय समुदायबीच सहकार्य, ज्ञान आदानप्रदान र सामूहिक प्रयास प्रवर्द्धन गर्न ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको प्रस्ताव गरेको पनि उनले जानकारी दिए । नेपालको ‘सगरमाथा कल फर एक्सन’ले पर्वतीय एजेन्डा कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै उनले प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय पर्वतीय लचिलोपन दशकलाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लागुऔषधसहित पाँच जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट एक र बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट दुई जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफासिरमा मात्र […] ...

लोकपथ
तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी पुरुष लन्डनको अदालतबाट दोषी ठहर
Latest NewsJust now

तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी पुरुष लन्डनको अदालतबाट दोषी ठहर

लन्डन । लन्डनस्थित फारसी भाषाको सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको जासुसी गरेको अभियोगमा दुई इरानी पुरुषलाई बिहीबार बेलायतको अदालतले दोषी ठहर गरेको छ । दक्षिण लन्डनस्थित ‘वुलविच क्राउन कोर्ट’ का जुरीले ४१ वर्षीय... ...

रातोपाटी
लुम्बिनीविरुद्ध चलेन कर्णालीको ब्याटिङ, १०५ रनमै अलआउट
Latest NewsJust now

लुम्बिनीविरुद्ध चलेन कर्णालीको ब्याटिङ, १०५ रनमै अलआउट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्स लुम्बिनी लायन्ससामू १०५ रनमै समेटिएको छ। कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो र लुम्बिनीलाई जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हाे । सुरुवाती ब्याटिङ लाइनअप धराशयी बनेपछि कर्णालीका लागि सोमपाल कामीले १८ बलमा ४ चौका र १ ...

केन्द्रबिन्दु
युद्धबन्दी विवादका बाबजुद युक्रेनलाई सहयोग जारी राख्ने दक्षिण कोरियाको प्रतिबद्धता
Latest NewsJust now

युद्धबन्दी विवादका बाबजुद युक्रेनलाई सहयोग जारी राख्ने दक्षिण कोरियाको प्रतिबद्धता

काठमाडाैँ। उत्तर कोरियाली युद्धबन्दीलाई सोल पठाएको विषयमा युक्रेनसँग कूटनीतिक विवाद उत्पन्न भए पनि दक्षिण कोरियाले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार अन्तर्राष्ट्रिय समुदायको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play