टर्किए।कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण संकटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय एकता आवश्यक रहेको बताएकी छन्। उनले यसका लागि अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्न विश्व समुदायसँग आह्वान गरिन्। टर्किएमा जारी ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)’ अन्तर्गत आज नेपाल पेभेलियनमा आयोजित ‘लिभिङ सगरमाथाः पर्वतीय उत्थानशीलताका लागि विश्वव्यापी ऐक्यबद्धता र जलवायु वित्त परिचालन’ विषयक छलफल सत्रलाई सम्बोधन गर्दै उनले हिमाल मानवताको जीवन आधार प्रणाली भएको उल्लेख गरिन्। मन्त्री चौधरीले हिमालयले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी मानिसलाई पानी, स्वच्छ हावा र जैविक विविधताको आधार प्रदान गरिरहेको बताउँदै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र बन्दै गएको उल्लेख गरिन्। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा शुन्य दशमलव एक प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका कारण असमानुपातिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको उनको भनाइ थियो। जलवायु संकटले सिर्जना गरेको यो अवस्था जलवायु अन्यायको वास्तविक उदाहरण भएको उनले बताइन्। गत अगस्ट २६ मा नेपालले सामना गरेको रसुवा–भोटेकोशी विपद्लाई उदाहरण दिँदै मन्त्री चौधरीले हिमनदी र चट्टान खस्ने घटनासँग सम्बन्धित उक्त विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको जानकारी गराइन्। सो विपदमा परी करिब एक हजार ५०० जनाको ज्यान गएको, पाँच हजार बढी बेपत्ता रहेको तथा पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालको कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको आवश्यकता रहेको उनको भनाइ थियो। बूढीगण्डकी करिडोरमा त्यस्तै प्रकृतिका विपद्का घटना देखिएको उनको भनाइ थियो। मन्त्री चौधरीले जलवायु संकटको सामना गर्न नेपालले ‘लिभिङ सगरमाथाः नेपाल पर्वतीय उत्थानशीलता रणनीति’ अघि सारेको जानकारी दिइन्। उक्त रणनीतिले जलवायु कार्य, जैविक विविधता संरक्षण, आर्थिक समृद्धि, सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र क्षेत्रीय कूटनीतिलाई एकीकृत गरेको उनले बताइन्। उनले रणनीति कार्यान्वयनका लागि ठोस अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्नु पर्नेमा जोड दिइन्। तापक्रम वृद्धिको प्रत्येक अंशले हिमाली चुचुरा र तल्लो तटीय क्षेत्रका समुदायको अस्तित्वमा असर पार्ने उनको भनाइ थियो। पर्वतीय उत्थानशीलता ऋणको भरमा निर्माण गर्न नसकिने स्पष्ट पार्दै मन्त्री चौधरीले अनुकूलनका लागि पूर्वानुमानयोग्य, प्रत्यक्ष र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिन्। साथै, हानि तथा नोक्सानी प्रतिकार्य कोष (एफआरएलडी) मार्फत प्रभावित समुदाय र मुलुकलाई सहयोग पु¥याउन समर्पित तथा शीघ्र वित्त वितरण संयन्त्र आवश्यक रहेको उनले बताइन्। मन्त्री चौधरीले संयुक्त राष्ट्रसंघीयय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) को प्रक्रियामा स्थायी पर्वतीय एजेन्डा समावेश गर्न र हिमाली तथा हिमाच्छादित क्षेत्रका जोखिमबारे नियमित अनुगमन एवं छलफलका लागि वार्षिक उच्चस्तरीय संवाद स्थापना गर्न पनि आह्वान गरिन्। “सगरमाथामा जे हुन्छ, त्यो सगरमाथामा मात्र सीमित रहँदैन, उच्च चुचुराबाट बग्ने पानी महासागरसम्म पुग्छ,” उनले भनिन्, “सगरमाथादेखि समुद्रसम्म हामी एउटै ग्रह, एउटै जल प्रणाली र साझा भविष्यका साझेदार हौं।” उनले पर्वतीय मुलुकहरूका समुदायको सुरक्षा र जलवायु उत्थानशीलता निर्माणका लागि अन्तर्राष्ट्रिय साझेदार, वित्तीय संस्था, नागरिक समाज तथा अन्य पर्वतीय राष्ट्रलाई नेपालसँग सहकार्य गर्न आग्रह गरिन्। लिभिङ सगरमाथा रणनीतिलाई नीतिगत दस्तावेजमा मात्र सीमित नराखी पर्वतीय तथा तल्लो तटीय क्षेत्रका समुदायको संरक्षण र भावी पुस्ताको सुरक्षित भविष्यका लागि तत्काल कार्यान्वयनमा लैजानु पर्नेमा उनले जोड दिइन्।
जलवायु अन्याय रोक्न र हिमाली क्षेत्र जोगाउन नेपालको जोड

Read Complete Original Article
Published originally on नेपालन्युज






