काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितता अन्त्य गरी सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य हुनुपर्ने बताएका छन्। जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता र जवाफदेहिताका साथ काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख अर्यालले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र जनभावनाअनुसार कानुन निर्माण गर्ने कार्यमा सबैको साझा प्रयास आवश्यक रहेको बताए। जेनजी विद्रोहपछि नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तन आएको उल्लेख गर्दै उनले युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए। राज्यसँग उपलब्ध साधन र स्रोत सीमित भए पनि तिनको पारदर्शी तथा प्रभावकारी परिचालन गर्न सके विकास र समृद्धिको यात्रालाई गति दिन सकिने उनको भनाइ थियो। सभामुख अर्यालले साहित्यकारहरूले समाजमा रहेका विकृति, विसङ्गति र समस्यामाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास तथा असल अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताए। साहित्यले समाजका समस्या, नागरिकका भावना र यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले साहित्य तथा साहित्यकारप्रति आफ्नो उच्च सम्मान रहेको उनले उल्लेख गरे।
जनताको विश्वासअनुसार सरकारले इमानदारीपूर्वक काम गर्नुपर्छ : सभामुख अर्याल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






