धनुषा।जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र पारिएको छ। प्रस्तावित जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालन गर्नु अघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारतीय रेल्वेका अधिकारी बिहीबार १७ बोगीसहितको रेल लिएर धनुषाको कुर्था रेल्वे स्टेसन आइपुगेका छन्। भारतीय रेल्वेका पदाधिकारीसहित डब्ल्यूडीपी–४ डी ४०३७० नम्बरको रेल भारतको अयोध्याबाट जनकपुरधाम ल्याइएको हो। प्रस्तावित रेल सेवा सञ्चालनको पूर्व तयारीस्वरूप रेल ल्याएर प्रारम्भिक परीक्षण तथा निरीक्षण गरिएको नेपाल रेल्वेले जनाएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन गर्ने योजनाअनुसार पहिलो चरणमा १७ बोगीसहितको रेल ल्याइएको हो। सेवा सञ्चालनको मिति र अन्य व्यवस्थापकीय विषयमा नेपाल तथा भारतबीच औपचारिक सम्झौता हुन भने बाँकी रहेको उनले बताए। रेल सेवा सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था, रेलमार्गको अवस्था, प्राविधिक क्षमता तथा अन्य व्यवस्थापकीय पक्षको स्थलगत निरीक्षण भइरहेको महाप्रबन्धक पराजुलीले बताए। भारतीय रेल्वेका अधिकारीले नेपाल रेल्वेका अधिकारीसँग रेल सञ्चालन, सुरक्षा र प्राविधिक तयारीका विषयमा छलफल गर्ने कार्यक्रम समेत रहेको छ। उनका अनुसार प्रस्तावित सेवा सञ्चालन गर्न सकिने अवस्था, रेलमार्गको क्षमता र सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर निरीक्षण भइरहेको छ। अहिले रेल सेवा परीक्षण तथा तयारीकै चरणमा रहेकाले सञ्चालनका लागि आवश्यक केही प्राविधिक र प्रशासनिक काम बाँकी छन्। ती काम आन्तरिक रूपमा अघि बढाइएको उनले बताए। नेपालको जनकपुरधामदेखि भारतको अयोध्याधामसम्म प्रस्तावित रेलमार्गको दूरी करिब ४६४ किलोमिटर छ। जनकपुरधाम र अयोध्या धार्मिक तथा सांस्कृतिक दृष्टिले नेपाल र भारतका महत्वपूर्ण गन्तव्य हुन्। जनकपुरधामलाई माता सीताको जन्मस्थल तथा अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा चिनिन्छ। उक्त दुई धार्मिक नगरीलाई रेल सेवामार्फत जोड्न सके धार्मिक पर्यटन तथा दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय व्यवसायी तथा सर्वसाधारणले प्रस्तावित रेल सेवा सञ्चालनको तयारीलाई सकारात्मक रूपमा लिएका छन्। रेल सेवा सञ्चालन भएपछि धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात, खुद्रा पसल तथा अन्य सेवा व्यवसायको कारोबार विस्तार हुने उनीहरूको अपेक्षा छ। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा सञ्चालन भएपछि जनकपुरधामका धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटकको आवागमन बढ्ने र त्यसबाट स्थानीय व्यापार व्यवसायले लाभ लिन सक्ने विश्वास व्यक्त गरे। उनले तेस्रो मुलुकबाट आयात तथा निर्यात हुने सामग्रीको ढुवानी सहज बनाउन महोत्तरीको भिठ्ठामोड वा धनुषाको जटही नाकामध्ये कुनै एकलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्न सरकारसँग माग गरे। अहिले व्यवसायीले टाढाका नाकाबाट सामान ल्याउनु पर्ने बाध्यता छ। जस्का कारण ढुवानी खर्च बढ्ने गरेको छ। जनकपुरधाम क्षेत्रका लागि पायक पर्ने नाका सञ्चालनमा आए स्थानीय व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने बताइन्छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्णले जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालनले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने बताए। माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् श्रीरामको जन्मस्थल अयोध्याबीच रेल सेवा सञ्चालन हुनु धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्वको विषय भएको उनको भनाइ छ। रेल सेवा सञ्चालन भएपछि अयोध्याबाट हजारौं धार्मिक पर्यटक जनकपुरधाम आउने सम्भावना रहेको उल्लेख गर्दै उनले पर्यटकको आवागमन सहज बनाउन दुवै देशका नागरिकलाई लक्षित गरी सीमा आवागमनसम्बन्धी नीति सहज बनाउन सरकारसँग आग्रह गरे। दीर्घकालीन योजनासहित धार्मिक पर्यटकको आवागमन व्यवस्थित गर्न सके जनकपुरधामसहित मधेस प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए। प्रस्तावित रेल सेवाको उदुघाटन नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रस्तावित कार्यक्रमअनुसार भारतको राजधानी नयाँदिल्लीबाट रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको जनाइएको छ। यसका लागि दुवै देशका रेल्वे पदाधिकारी, कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी तथा प्रशासनिक प्रतिनिधिले आवश्यक तयारी अघि बढाएका छन्। रेल सञ्चालनका लागि सुरक्षा व्यवस्थापन, प्राविधिक परीक्षण र प्रशासनिक समन्वयलाई प्राथमिकता दिइएको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा जनकपुरधामबाट अयोध्यासम्मको बस सेवा शुभारम्भ गरेका थिए। तर, उक्त बस सेवा लामो समय नियमित सञ्चालन हुन सकेन। त्यसैले प्रस्तावित रेल सेवा पनि उद्घाटनमा मात्र सीमित नभई नियमित र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्।
जनकपुर र अयोध्या रेलमार्गले जोडिँदै

Read Complete Original Article
Published originally on नेपालन्युज






