काठमाडौं । ओपनर तृतराज दासको अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो । जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा ७ चौका र एक छक्का प्रहार गरे । तृतराजले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरेका थिए । मोइन १६ बलमा २१ रन बनाएर आउट भए । अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए । सैफ हस एक रनमा आउट हुँदा कप्तान हर्मीत सिंहले ९, जिम्मी निशमले ११, अमरसिंह रौटेला र अनिलकुमार शाहले समान ९ रन बनाए । पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए । पहिलो खेलमा पराजित पोखरा यस खेलबाट पहिलो जित निकाल्ने लक्ष्यमा छ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर भने दोस्रो जितको खोजीमा छ ।
जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






