जनकपुरधाम।छठ पर्वअन्तर्गत ब्रतालुले आज अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिएका छन्। छठ पर्वमा अस्ताउँदो सूर्यको पनि पूजा गर्ने परम्परा छ। सूर्यलाई‘ आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ। त्यसैले सूर्यलाई अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिँदै आएको छ। वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना भएकाले छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ। छठ पर्वको अवसरमा रास्वपाका सभापति रवि लामिछाने श्रीमती निकिता छामिछानेसँगै जनकपुरधामको गंगा सागर पोखरीमा अर्घ्य दिएका छन् । जनकपुरधामको किसोर नगरमा स्थानीय नरेश साहको घरमा व्रतको लागि बसेका उनी दिउँसो कुर्ता र पहेलो रंगको धोती र श्रीमती साडी लगाएर अर्घको समानहरु टाउकोमा राखेर छठ घाटसम्म पुगेका थिए। उनीहरु छठ मनाउन हिजो जनकपुरधाम आएका थिए। व्रतालुहरुले अर्घ दिँदै गर्दा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टि गरिएको थियो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको किम्वदन्ती रहेको छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। हेर्नुस् तस्बिरहरु
जनकपुरमा रवि दम्पतीको छठ पूजा (फोटो फिचर)

Read Complete Original Article
Published originally on नेपालन्युज






