छ महिनाभित्र जानकी आँखा अस्पतालको अवस्था सुधार गर्छौं : मनिष झा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधार गरी व्यवस्थित बनाउने बताउनुभएको छ । अस्पतालको निरीक्षण गर्दै सांसद झाले अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र आर्थिक सुशासनमा सुधार गरी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने बताउनुभएको हो । जनकपुरधामको पहिचानसँग जोडिएको जानकी आँखा अस्पतालमा पर्याप्त भौतिक संरचना र आर्थिक स्रोत हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उहाँले बताउनु भयो । अस्पतालमा करिव २२ करोड रुपैयाँ कोषमा रहेको उल्लेख गर्दै उहाँले उक्त रकम पूर्वाधार स्तरोन्नति र सेवा विस्तारमा उपयोग गर्ने बताउनु भयो । उहाँले अस्पतालको कमजोर व्यवस्थापन र कर्मचारीको कार्यशैलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । अस्पतालको सुधारमा कर्मचारीबाट असहयोग भएमा कारबाही गर्ने उहाँको भनाई छ । काम नगरी तलब लिने वा अस्पतालको जिम्मेवारीमा रहेर अन्यत्र निजी व्यवसाय सञ्चालन गर्ने कर्मचारीमाथि कारबाही गर्ने उहाँले बताउनु भयो । विगतमा केही कर्मचारीले अस्पतालबाट तलव लिएर बाहिर औषधि पसलमा समय बिताउने गरेको उहाँको भनाई छ । त्यस्तै, गार्डेनरको तलब मासिक ७५ हजार रुपैयाँ रहेको तर अस्पताल परिसर व्यवस्थित नभई झाडीमा परिणत भएको उहाँले बताउनु भयो । उहाँले अस्पतालमा प्राविधिक जनशक्ति थप्ने र कर्मचारीको अनुपात मिलाउने बताउनु भयो । अस्पतालमा प्रशासनिक कर्मचारीको तुलनामा प्राविधिक जनशक्ति कम रहेको उहाँको भनाई छ । उहाँकाअनुसार अस्पतालमा करिव १० जना प्राविधिक र ३० जना प्रशासनिक कर्मचारी रहेका छन् । दुई जना सर्जनले मात्रै ठूलो अस्पतालको सेवा आवश्यकताअनुसार सञ्चालन गर्न कठिन हुने भन्दै उहाँले दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति थप्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘जानकी आँखा अस्पताल पनि जनकपुरको लागि एउटा परिचय हो । सीमावर्ती क्षेत्र भएकोले भारतबाट पनि धेरै बिरामीहरू उपचारको लागि यहाँ आउने गरेका थिए । तर बीचमा आएर दलीयकरण, अनावश्यक स्वार्थहरूले गर्दाखेरि यो ठाउँ अलि थलथलिएको थियो, अलि कमजोर, जर्जर अवस्थामा पुगेको थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आएपछि हामीले नयाँ नेतृत्व दिएर यसलाइ परिवर्तनका प्रयासहरू गर्दैछौँ । ६ महिनाको कार्यनीति बनाएर हामी यसमा काम गर्दैछौँ । यति ठूलो रिसोर्स छ, सहरको बीचमा २ बिघाभन्दा धेरै जमिन, यति भवनहरू, ७ सय भन्दा धेरैलाई दैनिक उपचार दिइराखेको, यति राम्रो ठाउँ । तर यसको सदुपयोग नभएको देख्दा चाहीँ दुःख लागेको छ । तर हाम्रो जिम्मेवारी हो पनि हो, यसको सदुपयोग गर्ने । भारतमा क्रिकेट कहिलेदेखि राम्रो भयो भने त्यहाँको एकजना राजनीतिज्ञ शरद पवार जब बिसीसीआईको अध्यक्ष हुनुभयो, अनि राम्रो भयो । त्यसपछि दलीयकरण के को लागि गर्ने ? दलीयकरण प्रगतिको लागि गर्ने हो, उत्साहजनक उन्नतिको लागि गर्ने हो । हामी पहिलाको जस्तै दलीय प्रतिनिधिहरूलाई नियुक्ति दिएर आम्दानीको स्रोत बनाउने, नेताहरूको प्लेनको टिकट किन्ने, होटलको बिल तिर्ने संस्थाको रूपमा यसलाई बनाउने छैनौ, ६ महिनामा हामी परिवर्तित जानकी आँखा अस्पताल देखाउने छौँ । कर्मचारीले पहिला–पहिला घाम तापेर तलब थाप्नुहुन्थ्यो, बाहिर औषधि पसलमा दिनभरि बस्नुहुन्थ्यो । यहाँको गार्डेनरको मात्र ७५ हजार तलब थियो, तर गार्डेन थिएन, यो जङ्गल थियो । त्यो कर्मचारीहरूलाई पक्कै अप्ठ्यारो लाग्छ, अब काम गर्न । तर कोही सही नियतले आउनुहुन्छ तर नेतृत्वले वा म्यानेजमेन्टले डिस्टर्ब गरिरहेको छ भने हामीले सुधार्नुपर्छ । तर यहाँको तलब थाप्ने, बाहिर काम गर्ने, यहाँको तलब थाप्ने, आफ्नो पसल चलाउने, गार्डेनरले ७५ हजार तलब खाने र जङ्गल बनाएर राख्नेहरूलाई त कारबाही हुनैपर्छ । अहिले यहाँ दुईजना मात्र सर्जनले यत्रो ठूलो प्रोपर्टी र दैनिक ७ सय जनालाई राम्रो सेवा दिन सक्दैन । त्यसैले त्यो थप्नुपर्छ । अनावश्यक प्रशासनमा कर्मचारी थपिएको छ । यहाँ प्राविधिक १० जना छ, प्रशासनिक ३० जना छ । तर अस्पतालमा प्रशासन १० जना, प्राविधिक ३० जना हुनुपर्ने हो । त्यसको रेसियो पनि मिलाउने छौँ ।’ सांसद झाले अस्पताललाई उपचारमा सिमित नराखी स्थानीय नागरिकसँग जोडिएको संस्थाका रूपमा विकास गर्ने बताउनु भयो । अस्पताल परिसरमा रहेको ठूलो खुला क्षेत्रलाई मर्निङ वाक, वाकिङ ट्रेललगायत नागरिकले उपयोग गर्न सक्ने संरचनामा विकास गर्ने उहाँको भनाई छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय नागरिकसँग बनाएको सम्बन्धको उदाहरण दिँदै उहाँले जानकी आँखा अस्पताललाई पनि जनकपुरधामको पहिचान र नागरिकको अपनत्वसँग जोड्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनकपुरको नागरिकले यो पनि मेरै ठाउँ हो है भन्ने संस्थाको रुपमा हामीले यसलाई विकास गर्नुपर्छ । यहाँ लगभग १० कठ्ठा जतिको एरिया ठूलो ग्राउण्ड छ, त्यसलाई हामीले नागरिकलाई प्रयोग गर्न सक्नेगरी वाकिङ ट्रेल, मर्निङ वाक गर्ने ठाउँ बनाइदिनुपर्छ । यसले नागरिक यो इन्स्टिच्युसनसँग जोडियोस् । धरानमा देखेका छौँ, बिपी कोइराला इन्स्टिच्युसनले यति राम्रो त्यो नागरिकलाई जोडेको छ । धरानको अहिले पहिचान नै त्यो इन्स्टिच्युसनले बनाएको छ । यो इन्स्टिच्युसनसँग पैसा नभएको होइन । २२ करोड रुपैयाँ फन्ड छ, तर त्यो फण्ड युज हुन सकेको छैन । यो इन्स्टिच्युसनहरूमा फण्डको कमी कहिले पनि हुँदैन तर त्यसलाई रणनीतिक रूपमा प्रयोग कसरी गर्ने, उपयोग कसरी गर्ने र त्यसको उपयोगिताले यसको उत्पादनशीलता, प्रोडक्टिभिटी कसरी बढाउँछ भन्ने कुराको रणनीतिक योजना चाहिन्छ । ६ महिनामा पक्कै केही न केही सुधारको सूचकहरू हामीले देखाउन सक्छौँ ।’ जानकी आँखा अस्पताल जनकपुरधामको ऐतिहासिक पहिचानसँग जोडिएको संस्था भएको उहाँले बताउनु भयो । भारतको बिहारलगायत सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेको अस्पताल विगतमा दलीयकरण, स्वार्थ र कमजोर व्यवस्थापनका कारण प्रभावित भएको उहाँको दाबी छ । अस्पतालमा नयाँ नेतृत्व र व्यवस्थापनमार्फत सुधारका प्रयास भइरहेको बताउँदै उहाँले राजनीतिक नियुक्ति तथा संस्थाको स्रोतसाधनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्ने दाबी गर्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला
• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। • प्रतियोगितामा ११ टोली सहभागी हुनेछन् र ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। • कर्णाली प्रदेशले १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरिसकेको छ, जहाँ उद्घाटन र समापन समारोह हुने छ। ...

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी
काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि सेवा सीमित हुँदा युक्रेनी सेनाको सञ्चार... ...

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ, कात्तिक ७ गते । हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैंअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसु... ...

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर र... ...


