भरतपुर । भोलि मनाइने छठ पर्वको पूर्वसन्ध्यामा चितवनको भरतपुरस्थित नारायणी नदी किनार झिलिमिली बत्तीले सजिएको छ। छठ पूजाका लागि निर्माण गरिएका घाट, टेन्ट र आकर्षक बत्तीले नदी किनारको दृश्य मनमोहक बनेको छ। छठ पूजाको तयारीस्वरूप घाट सजाउने, टेन्ट टाँग्ने, बत्ती जडान गर्ने तथा सरसफाइ र व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ। पूजाको पूर्वसन्ध्यामा श्रद्धालुहरूको चहलपहलसमेत बढेको छ। तराई सेवा समितिको आयोजनामा हुने छठ पूजाका लागि नदी किनारमा विभिन्न तयारी गरिएको छ। पूजास्थललाई आकर्षक बनाउन झिलिमिली बत्ती जडान गरिएको छ भने श्रद्धालुहरूको सुविधाका लागि टेन्टलगायत आवश्यक व्यवस्था मिलाइएको छ। तराई सेवा समितिका सल्लाहकार राजकुमार शाहका अनुसार यस वर्ष छठ पूजामा हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। व्रतालु तथा श्रद्धालुहरू भोलि दिउँसोदेखि नै पूजाका लागि घाटमा पुग्नेछन्। “छठ पर्व अब तराई समुदायको मात्रै रहेन, सम्पूर्ण नेपालीकै साझा पर्व बनिसकेको छ,” शाहले भने। पूजालाई व्यवस्थित र सुरक्षित बनाउन समितिले सुरक्षागार्ड परिचालन गर्नुका साथै प्रहरी प्रशासनसँग समन्वय गरेको छ। रातिको समयमा चार जना सुरक्षागार्ड खटाइएको र भोलि निजी सुरक्षागार्डसँगै प्रहरीसमेत परिचालन गरिने शाहले जानकारी दिए। श्रद्धालुका लागि चिया तथा स्वास्थ्य सेवाको व्यवस्था पनि गरिनेछ। यस वर्ष बाढीका कारण नारायणी नदी किनारका संरचनामा क्षति पुगेकाले तयारीमा केही चुनौती थपिएको थियो। महानगरपालिकाको सहयोगमा जेसीबी प्रयोग गरी घाट क्षेत्र सम्याइएको शाहले बताए। तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
छठ पूजाको पूर्वसन्ध्यामा झिलिमिली बन्यो नारायणी नदी किनार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






