वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले आस्था, विश्वास र सद्भावको पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै पर्वका क्रममा हुन सक्ने आगलागी, मानवीय तथा भौतिक क्षति रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले छठ पर्वका अवसरमा पटका, आतिसबाजीजस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न तथा नगराउन अनुरोध गरेका छन् । यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिएका छन् । त्यसैगरी, छठ घाट तथा पोखरीमा पूजाआजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण डुब्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद् तथा दुर्घटनामा तत्काल उद्धार गर्न आवश्यक उपकरणसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने पनि प्रशासनले जनाएको छ । विभिन्न छठ पूजा व्यवस्थापन समितिको अनुरोधलाई ध्यानमा राख्दै पर्वको धार्मिक मर्यादा र पवित्रता कायम गर्न आज र भोलि (कात्तिक २८ र २९ गते) छठ पूजा स्थल तथा घाट वरपर माछा, मासु र मादक पदार्थको बिक्रीवितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न प्रशासनले सूचित गरेको छ । पर्व अवधिभर शान्तिसुरक्षा चुस्त र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिबीच आवश्यक समन्वय गर्न आग्रह गर्दै प्रशासनले छठ पर्वलाई सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न सबैसँग अपिल गरेको छ ।
छठ पर्व मर्यादित रूपमा मनाउन पर्सा प्रशासनको अपिल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






