चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका संस्थागत (निजी) विद्यालयमा गरिएको शुल्क वृद्धि तत्कालका लागि स्थगित गरेको छ । सोमबार बसेको महानगर कार्यपालिका बैठकले शुल्क वृद्धिको निर्णयप्रति चौतर्फी विरोध भएपछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हालका लागि बढेको शुल्क नलिन संस्थागत विद्यालयहरूलाई पत्राचारमार्फत निर्देशन दिइनेछ । नगरप्रमुख संयोजक रहने नगर शिक्षा समितिले सर्वपक्षीय छलफल गरी शुल्क वृद्धिको वैज्ञानिक आधार प्रस्तुत गरेपछि मात्रै यसबारे थप निर्णय गरिने उनले बताए । कार्यपालिका बैठकले शुल्क समायोजनका विषयमा सरोकारवालासँग छलफल गर्ने जिम्मेवारी पनि नगर शिक्षा समितिलाई दिएको छ । यसअघि गत असोज २ गते बसेको महानगर कार्यपालिका बैठकले संस्थागत विद्यालयलाई २१ देखि ३० प्रतिशतसम्म शुल्क वृद्धि गर्न स्वीकृति दिएको थियो । तर, शैक्षिक सत्रको बीचमा अप्रत्याशित रूपमा शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनदेखि राजनीतिक दलसम्मले विरोध जनाएका थिए ।
चौतर्फी विरोधपछि भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि स्थगित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






