धादिङ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन्। गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउने, टिकाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताए। गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब ६ करोड रुपैयाँ सङ्कलन गर्नु र विपन्न, चेपाङ, असहाय तथा अभिभावकविहीन बालबालिकाको शिक्षाका लागि शैक्षिक उत्थान कोष स्थापना गर्नु सकारात्मक पहल भएको उनको भनाइ थियो। एकीकृत आवासीय विद्यालयको अवधारणामार्फत करिब एक हजार चेपाङलगायत समुदायका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा दिने प्रयास सामाजिक न्याय र शैक्षिक समानताको उदाहरण भएको उनले बताए। गाउँपालिकाले टोलटोलमा रात्रिकालीन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै घरघरमै शैक्षिक समीक्षा गर्ने अभ्यास पनि सकारात्मक रहेको अध्यक्ष दाहालले बताए।
‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’

Read Complete Original Article
Published originally on नेपालन्युज






