चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्ने भएको छ। वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेर निकुञ्जले घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थापनको काम अघि बढाएको हो। निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार हालसम्म १२५ हेक्टर घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भइसकेको छ। बाँकी क्षेत्रमा काम भइरहेको उनले जानकारी दिए। निकुञ्जभित्र रहेका ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रको संरक्षणका लागि यस वर्ष चारवटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम छ। जसमध्ये एउटा पोखरीको निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी तीनवटा निर्माणको प्रक्रियामा छन्। प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले यस वर्ष अघिल्ला वर्षको तुलनामा ठूलो कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले भने, ‘करिब १६ सयदेखि १७ सय हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम अघि बढाउने योजना रहेको छ।’ घाँसे मैदान र सिमसार क्षेत्रको व्यवस्थापनले एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुको आहार र पानीको उपलब्धता सहज बनाउने निकुञ्जको अपेक्षा छ। यसका साथै निकुञ्जले वन्यजन्तु अवलोकनका लागि मचान निर्माण गर्ने योजना पनि अघि सारेको छ। निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभारमा तीन तलाका मचान निर्माण गर्ने तयारी भइरहेको छ। पुनका अनुसार एउटा मचान निर्माणमा करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। अहिले यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको छ। मचान निर्माणले पर्यटकलाई निश्चित स्थानमा बसेर वन्यजन्तु अवलोकन गर्न सहज हुने र वन्यजन्तुलाई अनावश्यक बाधा नपर्ने निकुञ्जको विश्वास छ।
चितवन राष्ट्रिय निकुञ्जमा १६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिँदै

Read Complete Original Article
Published originally on नेपालन्युज






