काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। १५२ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो। पोखराका लागि अर्जुन कुमालले ४५ र युवराज शर्माले १९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। चितवनका बलर रिजन ढकालले ४ विकेट लिए भने कमल ऐरीले ३ विकेट हात पारे। यसैगरी डन माउस्ली, मौसम ढकाल र कुशल मल्लले एक-एक विकेट लिए। यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५१ रन जोडेको थियो। चितवनका कप्तान सिकन्दर राजाले ३७ रन बनाए भने रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डेभिड मलानले २८ रनको योगदान दिए। पोखराका बलर विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २ विकेट लिए। यो जितसँगै चितवन ४ खेलबाट ५ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता, लगातार चौथो हार व्यहोरेको पोखरा तालिकाको पुछारमा रहेको छ। शुक्रबार नै भएको अर्को खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको थियो।
चितवन राइनोजको जित, पोखरा एभेन्जर्सको लगातार चौथो हार

Read Complete Original Article
Published originally on नेपालन्युज






