Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चार वर्षदेखि अलपत्र ४२ करोडको सडक, निर्माण अघि बढाउन मुख्यमन्त्रीसँग गुहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार वर्षदेखि अलपत्र ४२ करोडको सडक, निर्माण अघि बढाउन मुख्यमन्त्रीसँग गुहार
Photo / Coverage: विश्वखबर

काठमाडौं – पश्चिम सुर्खेतका दुई महत्त्वपूर्ण सडक निर्माण वर्षौँदेखि अलपत्र परेपछि चौकुने गाउँपालिकाले कर्णाली प्रदेश सरकारसँग तत्काल पहल गरिदिन माग गरेको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँ जोड्ने सडक र राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ढिलाइ भएपछि गाउँपालिका अध्यक्ष खड्क बि.क. (विवश) ले मुख्यमन्त्रीसमक्ष गुहार माग्नुभएको हो । अध्यक्ष बि।क।ले मङ्सिर २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै पत्र पठाउँदै दुवै सडकको निर्माण तत्काल अघि बढाउन आवश्यक पहल गरिदिन आग्रह गरेको छ । सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीयको दैनिक आवागमन, कृषि उपज ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा समेत असर परेको गाउँपालिकाले जनाएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्मको करिब १३.९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्न २०७९ असार १४ गते अनक–जयदेव जेभी बाँकेसँग ठेक्का सम्झौता भएको थियो । ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त सडक २०८१ असार २४ गतेभित्र पूरा गर्नुपर्ने थियो । तर निर्धारित समय सकिएको लामो समय बितिसक्दा पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन । निर्माणको जिम्मेवारी पाएको संयुक्त निर्माण कम्पनीमध्ये सहायक निर्माण व्यवसायी जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले पछिल्लो समय आफैँ निर्माणको जिम्मेवारी सम्हालेको छ । जग्गा प्राप्ति, रुख कटानलगायत सरकारी प्रक्रियामा भएको ढिलाइ र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण आयोजना प्रभावित भएको बताइएको छ । २०८३ भदौ ३० गते सार्वजनिक विवरणअनुसार उक्त सडकको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्रै पुगेको छ। निर्माण सम्पन्न गर्न २०८४ जेठ २४ गतेसम्म म्याद थपका लागि पूर्वाधार विकास निर्देशनालयले मन्त्रालयमा प्रस्ताव पठाएको जनाएको छ । त्यस्तै, गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँ जोड्ने सडकको अवस्था पनि उस्तै छ। ठेक्का सम्झौता भएर निर्माण सुरु भए पनि निर्माण व्यवसायीले बीचमै काम छाडेपछि सडक अधुरो र जीर्ण बनेको गाउँपालिकाको भनाइ छ । यससँग सम्बन्धित घाटगाउँ–गुटु–सालघारी–कोइरालाबास–कुइनेभिर सडक आयोजना पनि कर्णाली प्रदेश सरकारको रुग्ण आयोजनाका रूपमा रहेको छ । २०७९ असार ८ गते ठेक्का सम्झौता भएको उक्त आयोजना २०८२ पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर निर्धारित समयसम्म काम पूरा हुन सकेको छैन । मन्त्रालयको सार्वजनिक विवरणअनुसार आयोजनाको भौतिक प्रगति ४० प्रतिशत मात्रै छ । गाउँपालिकाले दुवै सडकको निर्माण तत्काल अघि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा परिचालन गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ। निर्माण व्यवसायीले काम नगरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएर आयोजना सम्पन्न गराउनुपर्ने मागसमेत गरिएको छ । गुटु–घाटगाउँ सडकको दुरवस्थाका कारण स्थानीयलाई दैनिक उपभोग्य वस्तु तथा कृषि उपज ढुवानी गर्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई आकस्मिक अवस्थामा अस्पताल पुर्‍याउनसमेत कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ । बड्डीचौर–खम्बागाडे सडकमा पनि हिउँदमा धुलो र वर्षायाममा हिलो तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या हुने गरेको छ । गाउँपालिकाले पठाएका दुवै पत्रको बोधार्थ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई समेत दिएको छ । पश्चिम सुर्खेतका नागरिकले वर्षौँदेखि सडकको सास्ती खेप्दै आएका छन् । करोडौँ रुपैयाँका आयोजना ठेक्का लागेर पनि निर्धारित समयमा सम्पन्न नहुँदा स्थानीयको दैनिक जीवन प्रभावित भएको छ । गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष ध्यानाकर्षण गराएपछि अब प्रदेश सरकारले निर्माण व्यवसायीलाई कसरी जवाफदेही बनाउँछ र अलपत्र सडक निर्माण कहिले सम्पन्न हुन्छ भन्ने चासो बढेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाँजासहित कार बरामद, चालक फरार
Latest NewsJust now

गाँजासहित कार बरामद, चालक फरार

मकवानपुर । मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्। बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले ...

केन्द्रबिन्दु
पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ
Latest NewsJust now

पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ

पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ६६ वर्षीया एक ग्रिक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक काल्लिपी स्टेफानो छिन्। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर... ...

रातोपाटी
दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै
Latest NewsJust now

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् । ...

कान्तिपुर
मधेशमा सामाचकेवाको रौनक
Latest NewsJust now

मधेशमा सामाचकेवाको रौनक

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । तराईमधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्व खर्नाको दिनदेखि सुरु भएको सामाचकेवा पर्वमा महिलाहरू प्रत्येक दिन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play