Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

चार महिनादेखि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन, नियुक्ति प्रक्रिया अझै अन्योलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनादेखि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन, नियुक्ति प्रक्रिया अझै अन्योलमा
Photo / Coverage: पर्दाफास

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको लामो समय बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा आयोग पदाधिकारीविहीन बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार बनेसँगै आयोग पदाधिकारीविहीन बनेको हो । आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि २०८३ साउन २२ गते दरखास्त आह्वान गरी सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनाअनुसार आवेदन दिने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको थियो । तर दरखास्त आह्वान भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि पदपूर्ति हुन नसकेपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । आयोगले भने सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार गठित सिफारिस समितिले सिफारिस प्रक्रिया टुङ्ग्याइसकेको भए पनि पदाधिकारी नियुक्त हुन सकेका छैनन् । ऐनमा प्रतिनिधिसभाका सभामुख, सञ्चारमन्त्री र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहने सिफारिस समितिको व्यवस्था गरिएको छ । आयोगका एक कर्मचारीले पदाधिकारी नियुक्ति हुन नसक्दा आयोगको दैनिक कार्यसञ्चालन जसोतसो भइरहे पनि पुनरावेदन र उजुरी सुनुवाइको प्रक्रियामा समस्या देखिएको बताए । उनले भने, ‘पुनरावेदन र उजुरीउपर सुनुवाइ हुन नसक्दा सूचनाका सेवाग्राहीलाई निश्चय पनि केही मर्का परेको हुनुपर्छ ।’ तर सरकारको सम्बन्धित सरोकारवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढीरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव विष्णुप्रसाद कोइरालाले नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढीरहेको बताउँदै नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘प्रक्रियामा छ । निर्णय हुने ठाउँमा पुगेको हुनुपर्छ ।’ आयोगमा लामो समयदेखि पदाधिकारी रिक्त रहँदा जनताको सूचना प्राप्त गर्ने हक कुण्ठित हुन पुगेको सूचनाको हकसम्बन्धी विज्ञहरूले बताएका छन् । समावेशी आयोगका पूर्वअध्यक्ष, सूचनाको हकका विज्ञ तथा कानुनविद् डा. रामकृष्ण तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा सूचनाको हक महत्वपूर्ण अधिकार भएकाले त्यसको संरक्षण र कार्यान्वयन गर्ने आयोगलाई लामो समयसम्म पदाधिकारीविहीन राख्न नहुने बताए । उनले पदाधिकारी नियुक्तिमा ढिलाइ हुनु उपयुक्त नभएको उल्लेख गर्दै आयोग निष्क्रिय हुँदा लोकतन्त्रको महत्वपूर्ण आयाममै असर पर्ने बताए । उनले भने, ‘सूचनाको हकको क्षेत्रमा काम गर्ने सूचना आयोग हो। सूचना आयोग यत्तिकै खाली हुनुहुँदैन । प्रमुख आयुक्त र आयुक्तहरू हुनुपर्छ । यसले लोकतन्त्रको एउटा प्रमुख आयाममा असर गर्छ । नियुक्तिमा ढिलाइ हुनु उपयुक्त हुँदैन ।’ यस्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचनाको हकका विज्ञ तारानाथ दाहालले पनि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन हुँदा सूचनाको हकको कार्यान्वयन र संरक्षणमा गम्भीर असर परेको बताए । उनका अनुसार आयोगमा पदाधिकारी रिक्त हुनुअघि नै नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्नुपर्ने कानुनी व्यवस्था छ । तर समयमै नियुक्ति हुन नसक्दा आयोग निष्क्रिय बन्न पुगेको र नागरिकले सूचना नपाएको अवस्थामा न्याय खोज्ने निकायसमेत प्रभावित भएको उनको भनाइ छ । दाहालले भने, ‘राष्ट्रिय सूचना आयोग सूचनाको हक कार्यान्वयन र संरक्षण गर्ने संस्था हो । त्यसलाई नै पदाधिकारीविहीन राख्दाखेरि सूचनाको हकको कार्यान्वयनमा गम्भीर प्रभाव पर्छ । आयोग निष्क्रिय भएपछि नागरिकले सूचना नपाएको अवस्थामा न्याय खोज्ने ठाउँसमेत प्रभावित हुन्छ ।’ उनले पदाधिकारी नियुक्ति सरकारको प्राथमिकतामा पर्नुपर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विषयमा सक्रियता देखाउनुपर्ने बताए । योग्य र सूचनाको हकका विषयमा जानकार व्यक्तिहरूमध्येबाट पदाधिकारी नियुक्त गर्नुपर्ने उनको सुझाव छ । त्यस्तै, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले आयोगमा पदाधिकारी नहुँदा पुनरावेदनका मुद्दा तथा उजुरीमाथि सुनुवाइ हुन नसकेको बताए । उनका अनुसार नागरिकले सरकारी निकायबाट सूचना नपाएपछि आयोगमा पुनरावेदन गर्ने व्यवस्था भए पनि पदाधिकारी नहुँदा निर्णय गर्ने, आदेश दिने र कारबाहीका लागि सिफारिस गर्ने काम प्रभावित भएको छ । यसले सूचनाको हकका अभियन्ता र सूचना माग गर्ने नागरिकलाई अन्योलमा पारेको उनको भनाइ छ । उनले भने, ‘राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नहुँदा थुप्रै पुनरावेदनमाथि सुनुवाइ हुने अवस्था छैन । सूचना माग्दा पुनरावेदन गर्ने ठाउँमा पदाधिकारी छैनन् । आदेश गर्ने, निर्णय गर्ने र कारबाहीका लागि सिफारिस गर्ने कोही नभएपछि अभियानकर्ताहरू पनि अन्योलमा छन् । आयोगको पदाधिकारी नहुँदा सूचनाको हकको अभियानलाई नै असर परेको छ ।’ बागचन्दले सरकारले नियुक्ति प्रक्रियामा ढिलाइ गर्नु गलत भएको बताउँदै सूचनाको हकका क्षेत्रमा सक्रिय, अनुभवी र विषयविज्ञ व्यक्तिहरूलाई आयोगको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए । उनले विगतमा राष्ट्रिय सूचना आयोगले बनाएको संस्थागत पहिचान र प्रभाव पछिल्लो समय कमजोर हुँदै गएको उल्लेख गर्दै पदाधिकारीविहीन अवस्थाले समस्या थप गम्भीर बनाएको बताए । उनका अनुसार सरकारले समयमै पदाधिकारी नियुक्त नगर्दा नागरिकले सरकारी निकायबाट सूचना प्राप्त गर्न नसकेको अवस्थामा पुनरावेदन गर्ने र न्याय पाउने अधिकारसमेत प्रभावित भइरहेको छ । सूचनाको हक नागरिकको मौलिक अधिकार हो । राज्यका निकायलाई पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय सूचना आयोग नै लामो समयसम्म पदाधिकारीविहीन रहँदा यसको प्रभाव नागरिकको सूचना प्राप्त गर्ने अधिकार र लोकतान्त्रिक अभ्यासमा पर्ने सरोकारवालाहरूको निष्कर्ष छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क
OthersJust now

विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क

‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकताको निरन्तरता कायम गर्नुपर्ने बताएका छन् । उनले वंशजको नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको व्यक्तिगत आवश्यकताभन्दा पनि नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा घिमिरेले ठूलो सङ्ख्यामा नेपाली युवा विदेश पलायन भइरहेका बेला उनीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालसँग जोड्न वंशजको नागरिकताको निरन्तरता आवश्यक रहेको ...

पर्दाफास
सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद
OthersJust now

सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद

१२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले मंसिर ११ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा… ...

अनलाइन खबर
जेनजी आन्दोलनमा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ
OthersJust now

जेनजी आन्दोलनमा महोत्तरी कारागारबाट फरार लागुऔषध मुद्दाका एक बन्दी सिरहामा पक्राउ

जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादवलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला आन्दोलनका क्रममा फरार भएका थिए । प्रहरीका अनुसार मंसिर ११ गते दिउँसो ३ः२५ बजे इलाका प्रहरी कार्यालय माडर सिरहाबाट ...

पर्दाफास
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
OthersJust now

कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन

कर्णाली राजमार्ग अतिक्रमण गरेर निर्माण भएका संचरना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन, जुम्लाको कार्यक्षेत्र अन्तर्गत पर्ने कर्णाली राजमार्गको दैखोला–नाग्मा–जुम्ला सडक खण्ड र तथा नाग्मा–गमगढी सडक खण्डमा अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको हो । राजमार्गको दैखोलादेखि नाग्मा जुम्ला सडकमा र नाग्मा गमगढी सडक सीमा क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यापारिक मालसामान राख्ने, गाई वस्तु बाध्ने, ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement