‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकताको निरन्तरता कायम गर्नुपर्ने बताएका छन् । उनले वंशजको नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको व्यक्तिगत आवश्यकताभन्दा पनि नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा घिमिरेले ठूलो सङ्ख्यामा नेपाली युवा विदेश पलायन भइरहेका बेला उनीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालसँग जोड्न वंशजको नागरिकताको निरन्तरता आवश्यक रहेको बताए । उनले विदेशमा रहेका नेपालीलाई नागरिकता दिनुभन्दा पनि उनीहरूलाई नेपाल फर्काउन राज्यले वातावरण बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘यो समस्या राज्यको हो, हामीले गलत बुझिरहेका छौँ। यो विदेशमा बस्ने नेपालीहरूको आवश्यकता भन्ने लागिरहेको छ तर मेरो बुझाइ फरक छ । यो गैरआवासीय वंशजका नेपालीलाई चाहिएको विषय हुँदै होइन । वंशजको नागरिकताको निरन्तरता भइदियो भने राम्रै हो, नभए पनि ठिकै छ । मुख्य विषय भनेको यदि विदेशमा बसेका नेपालीहरू स्वदेश फर्किएनन् भने नेपाललाई क्षति हुनेछ। त्यसकारण राज्यलाई नै गैरआवासीय नेपाली चाहिएको छ।’ घिमिरेले नेपालमा जनसाङ्ख्यिक असन्तुलन बढ्दै गएको र ठूलो सङ्ख्यामा युवा जनशक्ति विदेश गइरहेको बताए। विदेश पलायनको क्रम नरोकिए देशको जनसङ्ख्या, श्रमशक्ति र आर्थिक गतिविधिमा दीर्घकालीन असर पर्ने उनको भनाइ छ। उनले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन नागरिकतासम्बन्धी विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताए। उनले नेपालको अर्थतन्त्रमा पनि वंशजको नागरिकताको निरन्तरताले सकारात्मक प्रभाव पार्न सक्ने दाबी गरे । हाल नेपालमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा विदेशमा रहेका नेपालीले आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा गर्न पठाउने गरेको भन्दै उनीहरूलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन सके आर्थिक गतिविधि विस्तार हुने उनको तर्क छ । उनले भने, ‘हाम्रो बजारको आकार ६५ खर्ब मात्रै छ । जब कुनै देशमा ठूलो सङ्ख्यामा मानिसको बसाइँसराइ हुन्छ, त्यो देशको बजारको आकार पनि घट्छ । अहिले हामीले २२ खर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरिरहेका छौँ तर विदेशमा रहेका नेपालीले कमाएको पुँजी, ज्ञान र सीपलाई नेपालमा उपयोग गर्न सकियो भने अहिलेभन्दा धेरै ठूलो आर्थिक लाभ लिन सकिन्छ ।’ उनले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधि नेपालको विकासका लागि महत्वपूर्ण हुने बताए । विशेषगरी विज्ञान, प्रविधि, कृत्रिम बौद्धिकता, अनुसन्धान र शिक्षाका क्षेत्रमा विदेशमा दक्षता हासिल गरेका नेपालीलाई स्वदेश फर्काउन सके राज्यले ठूलो लाभ लिन सक्ने उनको भनाइ छ । ‘अमेरिकामा मात्रै हजारौँ नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राध्यापक हुनुहुन्छ । उहाँहरूलाई राज्यले आर्थिक रूपमा नियुक्त गरेर ल्याउन सक्दैन । तर वंशजको नागरिकताको निरन्तरता भयो र उहाँहरू नेपाल फर्किनसक्ने साथै ज्ञान र सीप राज्यले उपयोग गर्न पाउँछ,’उनले भने । घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीलाई नेपालमा व्यवसाय तथा लगानी गर्न पनि विभिन्न कानुनी र प्रशासनिक जटिलता रहेको बताए । गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि त्यसले वंशजको नागरिकतासरह सबै अधिकार सुनिश्चित गर्न नसकेको उनको भनाइ छ । कृषि क्षेत्रमा लगानीको सीमा, सम्पत्ति राख्ने अधिकार र लगानीबाट प्राप्त नाफा विदेश लैजाने प्रक्रियामा समेत समस्या रहेको उनले बताए । उनले विदेशमा नागरिकता लिएका नेपालीले आफ्नो वंशजको नागरिकता त्यागेर मात्रै गैरआवासीय नेपाली नागरिकता लिनुपर्ने व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने माग गरे । घिमिरेका अनुसार नेपालको संविधानको धारा १३ मा रहेको नागरिकता कायम नरहनेसम्बन्धी व्यवस्थाका कारण विदेशमा अर्को देशको नागरिकता लिएका नेपालीको वंशजको नागरिकता निष्क्रिय हुने अवस्था छ। उक्त व्यवस्था हटाएर वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्ने उनको माग छ । उनले नेपालले विदेशमा रहेका नेपालीको पुँजी मात्रै नभई उनीहरूको अवकाशपछिको आम्दानी, अनुभव र बौद्धिक क्षमतालाई समेत उपयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । विदेशमा लामो समय काम गरेर अवकाश पाएका नेपाली नेपाल फर्किएर बस्न चाहे पनि उनीहरूले प्राप्त गरिरहेको अवकाश सुविधामा असर पर्ने अवस्था भएमा फर्किन कठिन हुने उनको भनाइ छ । उनले थपे, ‘एउटा वैज्ञानिकले विदेशमा काम गरेर अवकाशपछि मासिक २० हजार डलर प्राप्त गर्ने अवस्था छ भने त्यो सुविधा छोडेर नेपाल आउन सजिलो हुँदैन । राज्यले त्यति धेरै पारिश्रमिक दिएर उहाँहरूलाई नियुक्त गर्न पनि सक्दैन। त्यसकारण उहाँहरूको वंशजको नागरिकता कायम राखेर नेपालमा बस्ने र काम गर्ने वातावरण बनाउनुपर्छ।’ घिमिरेले आफ्नो अभियान कुनै व्यक्ति वा समूहको व्यक्तिगत लाभका लागि नभई नेपालको राष्ट्रिय हितका लागि सञ्चालन गरिएको दाबी गरे। विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन र उनीहरूको पुँजी तथा ज्ञानलाई देशको विकासमा उपयोग गर्न राज्यले स्पष्ट नीति लिनुपर्ने उनले बताए । उनले वर्तमान सरकारले चाहेमा कानुनी मस्यौदामार्फत वंशजको नागरिकताको निरन्तरतासम्बन्धी माग सम्बोधन गर्न सक्ने बताए । तर भविष्यमा कुनै सरकारले बहुमतका आधारमा उक्त व्यवस्था परिवर्तन गर्न नसक्ने गरी संविधानमै संशोधन गरेर सुनिश्चित गर्नुपर्ने उनको धारणा छ । ‘हामीले नयाँ विदेशी नागरिकलाई नागरिकता देऊ भनिरहेका छैनौँ। विदेशमा अर्को देशको नागरिकता लिएका आफ्नै वंशजका नेपालीको नागरिकता निरन्तरता होस् भनिरहेका छौँ। राज्यले चाहेमा अहिले पनि मस्यौदामार्फत चाहेका कुरा सम्बोधन गर्न सक्छ। तर त्यसलाई दीर्घकालीन रूपमा सुनिश्चित गर्न संविधानमै संशोधन गर्नुपर्छ,’उनले भने। उनले यस विषयमा कानुनविद्, पूर्वन्यायिक क्षेत्रका विज्ञ तथा अन्य सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए। राज्यले वार्ता र छलफलमार्फत समस्या समाधान गर्न चाहेमा अभियानका तर्फबाट विस्तृत अध्ययन र प्रस्ताव प्रस्तुत गर्न तयार रहेको पनि उनले बताए। घिमिरेले वंशजको नागरिकताको निरन्तरता कायम भए मात्रै विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको समृद्धिसँग जोड्न सकिने दाबी गर्दै यस विषयलाई व्यक्तिगत अधिकारभन्दा पनि राष्ट्रिय अस्तित्व र भविष्यसँग जोडेर हेर्न राज्यलाई आग्रह गरे।
विदेशी नागरिकता लिएकाको वंशजको नागरिकता किन खोस्ने ? अभियन्ता घिमिरेले दिए यस्तो तर्क

Read Complete Original Article
Published originally on पर्दाफास






