काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र व्यावसायिक सुदृढीकरणका लागि चलचित्र हल व्यवसायीलाई सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र संघको ५२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पण्डितले नेपाली चलचित्रको विकासमा चलचित्र प्रदर्शकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले चलचित्र संघलाई नेपाली चलचित्र क्षेत्रको अभिभावक संस्था भन्दै यस क्षेत्रको विकासका लागि संघसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । चलचित्र हल व्यवसायीहरूले लामो समयदेखि विभिन्न समस्या तथा चुनौती भोग्दै आएको उल्लेख गर्दै उहाँले हल व्यवसायको संरक्षण, आधुनिकीकरण र नयाँ लगानी आकर्षित गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । यसका लागि चलचित्र विकास बोर्डले सम्बन्धित मन्त्रालय तथा सरकारी निकायसँग आवश्यक पहल गर्ने उहाँको भनाइ थियो । ‘नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । हल व्यवसायीहरूले भोग्दै आएका समस्या तथा चुनौतीलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हल व्यवसायको संरक्षण, आधुनिकीकरण र नयाँ लगानी आकर्षित गर्न सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम ल्याउन आवश्यक छ ।’ नेपाली चलचित्र निर्माण गरेर मात्र नहुने भन्दै अध्यक्ष पण्डितले त्यसलाई दर्शकमाझ पुर्याउने र दर्शकको माया दिलाउने महत्त्वपूर्ण जिम्मेवारी चलचित्र हलहरूको पनि रहेको बताउनुभयो । नेपाली चलचित्रलाई आफ्नो पर्दामा स्थान दिएर दर्शकको अनुभवलाई प्रभावकारी बनाउन योगदान पुर्याउने हल सञ्चालक तथा प्रदर्शक व्यवसायीप्रति उहाँले आभार व्यक्त गर्नुभयो । यसैबीच, नेपाली चलचित्रको प्रदर्शन र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने चलचित्र हलहरूलाई यस वर्षदेखि चलचित्र विकास बोर्डले विशेष सम्मान गर्ने भएको छ । नेपाली चलचित्रलाई प्राथमिकता दिने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अध्यक्ष पण्डितले जानकारी दिनुभयो । उहाँले नेपाली चलचित्रको व्यावसायिक सफलतामा हल सञ्चालकहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली चलचित्रको प्रदर्शन र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने हलहरूलाई सम्मान गरिने बताउनुभयो । चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै अध्यक्ष पण्डितले चलचित्र विधेयक आगामी ६० दिनभित्र पारित गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताउनुभयो । मन्त्रालयलगायत सम्बन्धित निकायको सहयोग प्राप्त भएकाले निर्धारित समयभित्र विधेयक पारित गरी सकेसम्म चाँडो ऐनका रूपमा कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उहाँको भनाइ थियो । अध्यक्ष पण्डितले चलचित्र हल व्यवसायीहरूले उठाउँदै आएका जायज मागलाई नीतिगत तहसम्म पुर्याएर सम्बोधन गर्न बोर्डले भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । चलचित्र संघसँग सहकार्य गर्दै हल व्यवसायको संरक्षण, प्रवर्द्धन र व्यावसायिक विकासका लागि आवश्यक पहल गरिने उहाँले स्पष्ट पार्नुभयो ।
चलचित्र हल व्यवसायलाई राहत र प्रोत्साहन दिन बोर्ड अध्यक्ष पण्डितको आग्रह

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






