चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन बजारबाट करिब तीन किलोमिटर कुरिनटारतर्फ रहेको घोप्टेभिरमा सुक्खा पहिरो खस्ने क्रम नरोकिँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सडकभन्दा करिब ३० मिटर माथिबाट ढुङ्गासहित पहिरो खसिरहेकाले जुनसुकै बेला सडक पूर्ण रूपमा अवरुद्ध हुन सक्ने जोखिम बढेको छ। पहिरोका कारण पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले घण्टौँ जाममा बिताउनुपरेको छ। गत साता नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न काठमाडौं पुगेका चितवन राइनोजका समर्थक खेल सकिएपछि चितवन फर्कन १२ घण्टाभन्दा बढी समय सडक यात्रामै बिताउन बाध्य भएका थिए। शनिबार काठमाडौंबाट चितवन आउँदै गरेका सरोज रेग्मी कुरिनटार पुग्दा लामो जाममा परे। साँझ पर्नुअघि नै घोप्टेभिर पार गर्ने योजनासहित हतारिएका उनी सडक अवरुद्ध भएपछि रोकिए। “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको, यहीँ रोकिनुपर्यो,” उनले भने। करिब एक घण्टा पर्खिएपछि मात्रै उनी पहिरो प्रभावित क्षेत्र पार गर्न सफल भए। निरन्तरजसो ढुङ्गा खसिरहने भएकाले यात्रु त्रासमा यात्रा गर्न बाध्य छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घोप्टेभिरमा समयसमयमा ढुङ्गासहित पहिरो खसिरहेको छ। पहिरो पन्छाएर सवारीसाधनलाई पालैपालो पार गराउने गरिएको उनले बताए। शनिबार सडक बन्द गरेर दुईतर्फी सवारी सञ्चालन गरिएको भए पनि आइतबार बिहान पुनः पहिरो खसेपछि एकतर्फी आवागमन भइरहेको छ। “आज केहीबेर रोकिएको सडक अहिले एकतर्फी सञ्चालनमा छ। सवारी चाप कम भएपछि केहीबेर रोकेर दुईतर्फी सञ्चालन गर्नुपर्छ,” पौडेलले भने। उनका अनुसार सडक अवरुद्ध हुँदा चालकले लेन अनुशासन पालना नगर्ने र जथाभाबी सवारी चलाउने गर्दा सडक खुलेपछि पनि लामो समयसम्म जाम रहने गरेको छ। तिहारको भाइटीकाको अघिल्लो दिन राति ११ बजेसम्म आफू र ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा खटिएर सवारी व्यवस्थापन गरेको उनले बताए। “सावधानी अपनाएकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन,” पौडेलले भने। उनले यात्रु तथा सवारी चालकलाई ट्राफिक नियम पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेका छन्। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडक छेउको डाँडो कमजोर भएकाले सुक्खा पहिरो खसिरहेको हो। अहिले भइरहेको सडक विस्तारको ठेक्कामार्फत यस समस्याको दीर्घकालीन समाधान सम्भव नभएकाले तत्काल पहिरो पन्छाउने काम मात्रै भइरहेको उनले बताए। उनका अनुसार जोखिमपूर्ण पहिरो खसेर जोखिम कम हुने अवस्था नआएसम्म तत्कालका लागि पहिरो पन्छाउँदै सडक सञ्चालन गर्नुको विकल्प छैन। दीर्घकालीन समाधानका लागि अध्ययन गरेर आवश्यक काम अघि बढाइने उनले जानकारी दिए। पहिरो प्रभावित क्षेत्रमा रातिको समयमा काम गर्न सहज होस् भनेर बत्ती जडान गरिएको छ। पहिरो खस्नेबित्तिकै सडक खुलाउन सक्ने गरी आवश्यक उपकरण र जनशक्तिसमेत तयारी अवस्थामा राखिएको मिश्रले बताए। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौं भित्रिने र बाहिरिने प्रमुख मार्ग हो। यस सडकबाट दैनिक १५ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन्। अत्यधिक सवारी चाप रहने सडकमा केही समय मात्रै आवागमन रोकिँदासमेत लामो जाम हुने गरेको छ। पहिरोका कारण हुने ढिलाइले सर्वसाधारण यात्रु मात्रै नभई अत्यावश्यक कामका लागि यात्रा गर्नेहरू समेत प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू घण्टौँसम्म गन्तव्यमा पुग्न नसक्ने र निर्धारित कामसमेत छुट्ने अवस्था छ।
घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

Read Complete Original Article
Published originally on अनलाइनपाना






