नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम गरिएसँगै सडक सहज भएको हो । पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली अहिले पनि निरन्तर खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले प्रहरी टोली सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा सक्रिय रहेको बताए । घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् । यसैबीच, पृथ्वी राजमार्ग सञ्चालनमा आए पनि नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको छ । सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडक बन्द हुँदा दिउँसोको समयमा चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् ।
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






