म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८, राम्चेको रच्चान टोलका एकै घरका चार दिदीबहिनी सरकारी सेवामा छन् । जीवनको लामो समय गाईभैँसीपालन र घिउ बेचेर जीविकोपार्जन गरेका ओमबहादुर पुर्जा र राममाया पुर्जाका छोरीले प्राप्त गरेको सफलताले खुसी मात्रै दिलाएको छैन, सफलताको एउटा उदाहरण नै बनेको छ । अभाव र संघर्षबीच सन्तानलाई शिक्षित बनाउने पुर्जा दम्पत्तीको सपना अहिले सफलताको शिखरमा पुगेको छ । पुर्जा दम्पतीका चार छोरीमध्ये कान्छी स्मृति जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडमा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छिन् । व्यवस्थापन र कानुन विषयमा स्नातककोत्तर अध्ययन गरेकी स्मृतिले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी २०७६ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी हुन् । जेठी कल्पना, माहिली चन्दा र साहिली निलमले २०७९ मा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक बनेका हुन् । कल्पना र निलम प्रावि र चन्दा निमावि तहको शिक्षक हुन् । चन्दा २०७१ देखि अस्थायी शिक्षकको रूपमा कार्यरत थिइन् । कल्पनाको शिक्षण पेसामा प्रवेशको यात्रा केही फरक छ । उनले म्याग्दी, पर्वत र कास्कीका विभिन्न रेडियोमा १२ वर्ष सञ्चारकर्मीका रूपमा काम गरेकी थिइन् । म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, पर्वतको रेडियो दिदीबहिनी र पोखराको रेडियो जननीमा आबद्ध भएर सञ्चार क्षेत्रमा अनुभव बटुलेकी उनले पछि शिक्षण पेसा रोजेकी हुन् । ‘सञ्चार क्षेत्रमा काम गर्दा आफ्नो अध्ययनलाई पनि सँगसँगै अगाडि बढाएँ । आफूले पढेका र सिकेका कुराहरू अब बालबालिकालाई सिकाउने पेसामा छु’, कल्पनाले भनिन् । स्नातक तह उत्तीर्ण गरेका कल्पना र चन्दा हाल अन्नपूर्ण गाउँपालिका– ५ मा रहेको शिख नमुना आवासीय माविमा शिक्षकका रूपमा कार्यरत छन् । प्रावि तहको शिक्षक निलम राम्चेमा बाल्यकालमा आफैँले शिक्षा हासिल गरेको देउराली आधारभूत विद्यालयमा प्रअको जिम्मेवारीमा छिन् । कक्षा १२ सम्मको अध्ययन पूरा गरेका पुर्जा दम्पतीका एक मात्र छोरा मीनबहादुर जापानको रोजिटोरेसुयु कम्पनीमा प्रबन्धकको रूपमा कार्यरत छन् । पुर्जा दम्पत्तलाई चार छोरी सरकारी सेवामा र छोरा विदेशमा रहे पनि उनीहरूको सफलताभन्दा बढी अभिभावकलाई सन्तानले पाएको शिक्षाले दिएको सन्तुष्टि महत्त्वपूर्ण बनेको छ । ‘धेरै सन्तान भएपछि हुर्काउन, बढाउन र पढाउन निकै संघर्ष गर्नुपर्यो । आम्दानीको निश्चित स्रोत थिएन । गोठमा गाईभैँसी पालेर घिउ र वस्तुभाउ बेच्दा प्राप्त हुने पैसाले छोराछोरीको पढाइ खर्च जुटाउँथ्यौँ,’ ओमबहादुरले भने, ‘अहिले सबै छोरी सरकारी जागिरे भएका छन् । हामीलाई ठूलो सन्तोष मिलेको छ ।’ विगतमा गोठ र पशुपालनमै व्यस्त रहने पुर्जा दम्पती अहिले घरमै खेतीपाती गरेर समय बिताउँछन् । छोराछोरीको शिक्षादीक्षा र भविष्यका लागि गरेको मेहनतले सार्थकता पाएपछि उनीहरूको दैनिकी सहज बनेको छ । ग्रामीण र दुर्गम बस्तीमा हुर्किएर उच्च शिक्षा हासिल गर्दै चारै दिदीबहिनी सरकारी सेवामा प्रवेश गर्नु स्थानीय समुदायका लागि पनि प्रेरणाको विषय बनेको अन्नपूर्ण गाउँपालिका– ८ मा रहेको हिमाञ्चल माविका प्रअ रमन पुनले बताए । उनका अनुसार मगर समुदायमा उच्च शिक्षा हासिल गरेपछि रोजगारीका लागि विकसित मुलुक जाने क्रम बढिरहेका बेला राम्चेका यी दिदीबहिनीले स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर फरक उदाहरण प्रस्तुत गरेका छन् । चारै दिदीबहिनीले देउराली आधारभूतबाट प्रारम्भिक र हिमाञ्चल माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेका हुन् । सीमित आम्दानी, ग्रामीण परिवेश र गोठको कठिन दैनिकीबीच सन्तानको शिक्षालाई प्राथमिकता दिएको पुर्जा दम्पतीको निर्णयले एउटा परिवारको भविष्य मात्र बदलेको छैन, राम्चेका नयाँ पुस्तालाई शिक्षामार्फत आफ्नै गाउँबाट अघि बढ्न सकिन्छ भन्ने सन्देश दिएको अन्नपूर्ण गाउँपालिका– ८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए ।
घिउ बेचेर पढाएका छोरीले बदले परिवारको भाग्य

Read Complete Original Article
Published originally on नेपालन्युज






