काठमाडौं । नियात्रा समाज नेपालले नियात्रा क्षेत्रका अग्रज सर्जक घनश्याम राजकर्णिकार र नरेन्द्रराज पौडेललाई ‘पवन आलोक नियात्रा सम्मान’ प्रदान गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले राजकर्णिकारलाई २०८२ र पौडेललाई २०८३ सालको सम्मान प्रदान गर्नुभएको हो । सम्मानसँगै दुवैलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । कार्यक्रममा घिमिरेले नेपाली यात्रा साहित्यको इतिहासबारे चर्चा गर्दै सम्मानित सर्जकहरूसँगका स्मृति सुनाउनुभयो । नियात्राकार विष्णु शर्मा पराजुलीले राजकर्णिकारले करिब ६० वर्षदेखि र पौडेलले पाँच दशकदेखि साहित्य क्षेत्रमा योगदान दिँदै आएको बताउनुभयो । साहित्यकार पवन आलोकले सुरुमा कृति पुरस्कारका रूपमा स्थापना गरिएको सम्मान पछिल्ला तीन वर्षदेखि साहित्यिक योगदानका आधारमा प्रदान गर्न थालिएको जानकारी दिनुभयो । उहाँकी पत्नी रेखा कँडेलले अक्षयकोष स्थापना गरी यो सम्मान सञ्चालन गर्नुभएको हो । कार्यक्रममा साहित्यकार अशेष मल्ल, इल्या भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’लगायतले सम्मानित सर्जकहरूको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो । सम्मानित राजकर्णिकार र पौडेलले पनि आफ्ना लेखन तथा यात्राका अनुभव सुनाएउनुभएको थियो ।
घनश्याम राजकर्णिकार र नरेन्द्रराज पौडेललाई पवन आलोक नियात्रा सम्मान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






