गीतकार शिवशंकर थापा मगरलाई विशिष्ट प्रतिभा सम्मान, चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान वरिष्ठ गीतकार शिवशंकर थापा मगरलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले यस वर्षको प्रतिभा पुरस्कार कवि तथा कलाकार चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार बेलायतमा विज्ञप्ति जारी गर्दै थापा मगरलाई एक लाख रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहितको विशिष्ट प्रतिभा सम्मान प्रदान गर्ने जनाएको छ । त्यस्तै, रानाहँछालाई एक लाख रुपैयाँ नगद र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार प्रदान गरिनेछ । दुवैलाई आगामी मंसिरमा काठमाडौंमा कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ । पाँच दशकदेखि गीत लेखन, कविता तथा कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थापा मगरलाई विशिष्ट प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसले बताउनुभयो । २००३ वैशाख १५ गते धनकुटाको चुलीवन, डाँडागाउँमा जन्मनुभएका थापा मगर युवा अवस्थादेखि नै गीत लेखनमा सक्रिय हुनुहुन्छ । उहाँले २०२० सालदेखि गीत लेख्न थाल्नुभएको थियो भने २०२६ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराउनुभएको थियो । उहाँका गीतहरू २०२८ सालदेखि रेडियो नेपालबाट प्रसारण हुन थालेका थिए । थापा मगरले हालसम्म करिब एक सय गीत लेख्नुभएको छ । उहाँका ‘तिमी आकाशको जून भयौ’, ‘भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू’ र ‘हावासँग बगुँ भन्छ, पातसँग बोलुँ भन्छ’ लगायतका गीत लोकप्रिय छन् । यी गीतमा दीप श्रेष्ठ, पवन गोलेलगायतका गायकको स्वर तथा विभिन्न संगीतकारको संगीत रहेको छ । विभिन्न सामाजिक संघसंस्थाबाट सम्मानित थापा मगरको पहिलो प्रकाशित कृति ‘पाइतालाका डोबहरू’ मुक्तकसंग्रह हो । उहाँको ‘भन्थिन् मेरी उनी’ नामक संस्मरण तथा गीतिसंग्रह प्रकाशोन्मुख रहेको जनाइएको छ । यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९, निर्मलीडाँडामा २०३७ सालमा जन्मनुभएका चन्द्र रानाहँछा साहित्य लेखन र कलाकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्ने उहाँले गीत, कविता, कथा तथा चलचित्रका पटकथा लेखनमा समेत योगदान पुर्याउँदै आउनुभएको छ । रानाहँछाका प्रकाशित कृतिमा ‘चौबन्दी किनिदिउँला’ (गीतिसंग्रह/एल्बम, २०५६), ‘चिनो रुमाल’ (गीति एल्बम, २०५७), ‘मनमा आँधी चलेपछि’ (गीत तथा कवितासंग्रह, २०६७), ‘भाउजू लडेको भीर’ (कथासंग्रह, २०६९) र ‘थिबिया चराको गीत’ (कवितासंग्रह, २०७१) रहेका छन् । उहाँको उपन्यास ‘बागदता’ प्रकाशोन्मुख रहेको विज्ञप्तिमा उल्लेख छ । साहित्य र कलाकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका रानाहँछाले राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान (२०७४), युवा वर्ष मोती पुरस्कार (२०७५) र खोटाङ प्रतिभा पुरस्कार (२०८०) लगायतका पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँको सिर्जनात्मक योगदानको कदर गर्दै यस वर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । सन् २००८ मा बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, संगीत तथा कलाका क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । बेलायतलाई कर्मथलो बनाएका नेपाली स्रष्टाहरूको पहलमा स्थापना भएको प्रतिष्ठानले हालसम्म विभिन्न विधाका अग्रज स्रष्टालाई विशिष्ट प्रतिभा सम्मान तथा प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ । प्रतिष्ठानबाट विशिष्ट प्रतिभा सम्मान प्राप्त गर्ने स्रष्टामा ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, राजेन्द्र विमल, डा. कृष्णहरि बराल, दीप श्रेष्ठ, गणेश रसिक, राजेश्वर थापा र जसराज किरातीलगायत हुनुहुन्छ । त्यस्तै, नवीन विभास, कुबेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदीप पाख्रिन, प्रदीप मेन्याङ्बो, सन्ध्या सुब्बा सिङ्जाङ्गो र विजेता चौधरीलगायतले प्रतिष्ठानको प्रतिभा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष... ...
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश... ...

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै
चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), कात्तिक ८ गते । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै... ...

पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते
बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...


