काठमाडौँ । सर्लाहीको बरहथवा नगर अस्पतालमा गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा आगजनी र तोडफोड गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन्। बरहथवा नगरपालिका–६ स्थित अस्पतालमा आइतबार राति भएको घटनामा आकस्मिक कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश कुमार रौनियारले जानकारी दिए। बरहथवा नगरपालिका–५ निवासी २१ वर्षीया सीमा देवी रामको उपचारका क्रममा अवस्था गम्भीर भएपछि थप उपचारका लागि चन्द्रनिगाहपुर लगिएको थियो। त्यहाँ चिकित्सकले राति १०ः५३ बजे उनलाई मृत घोषणा गरेका थिए। चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। प्रहरीले बरहथवा नगरपालिका–५ का राजेश कुमार महरा र रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९ का भुनेसी महरा र राजन महरालाई पक्राउ गरेको छ। अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

Read Complete Original Article
Published originally on टक्सार






