नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले नेपाली काँग्रेसको सदस्य भएकोमा गर्व गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् । शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा बोल्दै सभापति थापाले काँग्रेसको ऐतिहासिक विरासत र स्थापनाकालीन मूल्यमान्यतालाई संरक्षण गर्दै पार्टीलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउने बताएका हुन् । उनले नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल भएको उल्लेख गर्दै आधुनिक नेपालको इतिहास लेख्दा पार्टीको योगदानलाई अलग राख्न नसकिने बताए । पार्टीको इतिहास, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान र उपलब्धिलाई संस्थागत रूपमा संरक्षण गरिने उनको भनाइ थियो । ‘हामी पुरानो पार्टी हौँ भनेर लुकाउने होइन, गर्वका साथ भन्ने हो । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस हो । आधुनिक नेपालको इतिहास लेख्दा नेपाली काँग्रेसबाट सुरु नगरी इतिहासका पाना अगाडि बढ्न सक्दैनन्’, उनले भने, ‘पार्टीको स्थापनाकालीन मूल्यलाई फेरि आत्मसात् गर्दै नयाँ पुस्ताका साथीहरूलाई काँग्रेस भएकोमा गौरव लाग्ने अवस्था बनाउनेछौँ । त्यो दिन फेरि ल्याएरै छाड्नेछौँ ।’ सभापति थापाले शहीद, प्रजातन्त्रका सेनानी तथा उनीहरूका परिवार पार्टीका अमूल्य सम्पत्ति भएको बताए । लोकतन्त्र र नागरिक अधिकारका लागि सानै उमेरमा जीवन बलिदान गर्नेहरूको योगदानलाई राजनीतिक स्मृतिमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो । पार्टीमा योगदान गरेका व्यक्तिको सफलतालाई पद, राजनीतिक नियुक्ति वा सत्तासँग मात्र जोडेर हेर्न नहुने उनले बताए । सांसद, मन्त्री वा प्रधानमन्त्री बनेपछि मात्रै जीवन सफल भएको मान्ने प्रवृत्तिले लामो समय पार्टीमा योगदान गरेका तर कुनै पद नपाएका नेता तथा कार्यकर्ताको योगदान ओझेलमा पर्ने उनले उल्लेख गरे । थापाले पुराना नेता तथा कार्यकर्ताको योगदान अभिलेखीकरण गर्न पार्टीले विशेष अभियान अघि बढाएको जानकारी दिए । काँग्रेसको केन्द्रीय कार्यालयलाई पार्टी स्थापनादेखि हालसम्मको राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन र ऐतिहासिक घटनाक्रमबारे जानकारी दिने स्थलका रूपमा विकास गरिने उनले बताए । पार्टी कार्यालय प्रवेश गरेर अर्को गेटबाट बाहिरिँदासम्म आगन्तुकले नेपाली काँग्रेसको इतिहास र नेपालको राजनीतिक परिवर्तनमा पार्टीले खेलेको भूमिकाबारे जानकारी पाउने गरी संरचना तयार गरिने उनको भनाइ थियो । त्यसैगरी, देशका ७५३ वटै स्थानीय तहबाट प्रजातन्त्रका सेनानीहरूको विवरण संकलन गरी राष्ट्रिय अभिलेख तयार गर्ने अभियान सुरु गरिएको उनले जानकारी दिए । संकलित विवरणलाई डिजिटल अभिलेखका रूपमा व्यवस्थित गरिने उनले बताए । सभापति थापाले शहीद परिवार, प्रजातन्त्रका सेनानी तथा द्वन्द्वपीडित परिवारलाई लक्षित गरी १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरे । उक्त कोषबाट विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै उनले कोष स्थापनाको काम यसै वर्षदेखि सुरु गरिने जानकारी दिए ।
गगन थापाको प्रतिबद्धता- नयाँ पुस्ताले काँग्रेस भएकोमा गर्व गर्ने पार्टी बनाउँछौँ

Read Complete Original Article
Published originally on पर्दाफास






