काठमाडौं । नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा कम्पनीको खरिद प्रक्रियासम्बन्धी भ्रमपूर्ण तथा अपुष्ट समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त गरी देशभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको संस्था हो । कम्पनीले आफ्नो ऐतिहासिक पृष्ठभूमि, स्थापित प्रतिष्ठा, जनविश्वास तथा आमग्राहकको भरोसालाई सम्पत्तिका रूपमा लिएको जनाएको छ । कम्पनीका अनुसार प्रचलित ऐन, कानुन तथा पछिल्लो समय विकसित सुशासनका मूल्य र मान्यताअनुसार काम गर्दै आएको छ । सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ रूपमा सबै नागरिकलाई उपलब्ध गराउने तथा देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यका साथ कम्पनी क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ । सहरी क्षेत्रदेखि देशका अति विकट स्थानसम्म दूरसञ्चार सेवा विस्तार गर्दै आएको टेलिकमले नयाँ प्रविधि अवलम्बन, गुणस्तरीय सेवाको उपलब्धता, नेपाल सरकारको नीतिगत लक्ष्य प्राप्ति तथा कम्पनीको व्यावसायिकतालाई मध्यनजर गरी विभिन्न कार्य गर्दै आएको जनाएको छ । खरिद प्रक्रियाका सम्बन्धमा कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्ट्यान्डर्ड बिड डकुमेन्टका आधारमा आवश्यक खरिद प्रक्रिया अपनाइने कम्पनीले स्पष्ट पारेको छ । कम्पनीको खरिद प्रक्रियालगायत विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आवश्यक आधिकारिक विवरण कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता एवं सूचना तथा प्रकाशन शाखाबाट सहज रूपमा उपलब्ध हुने पनि विज्ञप्तिमा जनाइएको छ । त्यसैले भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी कम्पनीको प्रतिष्ठा, विकास तथा संस्थागत हित अभिवृद्धिमा सकारात्मक सहयोग पुर्याउन नेपाल टेलिकमले सञ्चारमाध्यमहरूसँग अपेक्षा गरेको छ । कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा आधिकारिक सूचना तथा विवरणका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन नेपाल टेलिकमको आग्रह

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






