काठमाडौं । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सम्मान गरेको छ। महासंघले आफ्ना पूर्वअध्यक्षसमेत रहेका कर्ण राजदूत नियुक्त भएको अवसरमा आइतबार काठमाडौंको खुसीबुस्थित सचिवालयमा विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रकै गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व गरेका कर्णले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रका अनुभवी व्यक्तित्वलाई इजरायलजस्तो विश्वकै प्रमुख नवप्रवर्तन तथा प्रविधि केन्द्रमा राजदूतका रूपमा पठाउनु नेपालको आर्थिक तथा प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले यसले नेपाल र इजरायलबीच प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर सिर्जना गर्ने धारणा राखे। त्यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले कर्णलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्दै सम्पूर्ण नेपाली आईसीटी क्षेत्रका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपालको बढ्दो दक्ष प्रविधि जनशक्ति र इजरायलको विकसित प्रविधि प्रणालीबीच सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गरे। सम्मान ग्रहणपछि नवनियुक्त राजदूत कर्णले महासंघप्रति आभार व्यक्त गर्दै प्रविधि कूटनीतिमार्फत नेपाल र इजरायलबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा विशेषगरी नलेज आउटसोर्सिङ र द्विपक्षीय आईसीटी सहकार्यलाई प्राथमिकतामा राख्ने बताए। कर्णले सफ्टवेयर इन्जिनियरिङ, साइबर सुरक्षा तथा आईटी सेवाका लागि इजरायली प्रविधि कम्पनीहरूको प्रमुख गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने लक्ष्य रहेको बताए। यसका साथै दुवै देशका सूचना प्रविधि उद्योगबीच संस्थागत साझेदारी, प्रविधि हस्तान्तरण र स्टार्टअप इकोसिस्टमको आदानप्रदानलाई प्रोत्साहन गर्ने उनको योजना छ। क्यान महासंघको सचिवालयमा आयोजित कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्वअध्यक्षहरू विजय कृष्ण श्रेष्ठ, विप्लव मान सिंह, ई. विनोद ढकाल, हेमन्त कुमार चौरसिया, निवर्तमान अध्यक्ष रञ्जित कुमार पोद्दार, कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी तथा सचिव दीपेन्द्र पौडेललगायतको उपस्थिति थियो। प्रविधि क्षेत्रको नेतृत्वदायी भूमिकामा लामो अनुभव हासिल गरेका कर्ण इजरायलका लागि नेपाली राजदूत नियुक्त भएसँगै नेपालका आईटी कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा नयाँ अवसर पाउने अपेक्षा गरिएको छ। विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), अन्तरदेशीय व्यावसायिक साझेदारी (बीटुबी), प्रविधि हस्तान्तरण र विश्व बजारमा नेपाली प्रविधि कम्पनीको पहुँच विस्तारमा उनको कूटनीतिक अनुभव उपयोगी हुने विश्वास नेपाली आईसीटी क्षेत्रले गरेको छ।
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत कर्णलाई सम्मान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






