विराटनगर। कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्तिबारे अन्योल कायमै छ। तत्कालीन प्रदेश प्रमुख परशुराम खापुङको कार्यकाल गत कात्तिक २३ गते समाप्त भएपछि उक्त पद रिक्त रहेको हो। संघीय सरकारले अहिलेसम्म नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छैन भने कसैलाई कार्यवाहकको जिम्मेवारी पनि तोकिएको छैन। प्रदेश प्रमुखको अनुपस्थितिले कोशीको सत्ता समीकरण र मुख्यमन्त्रीको राजीनामाको विषयलाई ओझेलमा पारेको छ। नेकपा एमालेका सांसद एकराज कार्कीले प्रदेश प्रमुख नहुँदा राजीनामाको प्रक्रिया अघि बढाउन कठिनाइ भएको बताए। उनले भने, ‘राजीनामा दिने भन्ने कुरा यसअघि पनि आएको हो। तर, अहिले प्रदेश प्रमुख नै छैनन्, यस्तो अवस्थामा कसलाई राजीनामा दिने?’ मुख्यमन्त्रीनिकट एक सांसदले भने तत्काल राजीनामा दिने कुनै योजना नरहेको दाबी गरेका छन्। यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्कालका लागि प्रदेश प्रमुखको खाँचो नरहेको बताएका थिए। उनले भनेका थिए, ‘प्रदेश प्रमुखको पद रिक्त भर्खर केही दिन मात्र त भएको छ। अहिले प्रदेश सरकारको नियमित कामकाजमा खासै अप्ठ्यारो परेको छैन।’ नेपालको संविधानको धारा १६३ (१) अनुसार रिक्त प्रदेश प्रमुखको पदमा नियुक्तिका लागि संघीय सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ। साथै, संविधानको धारा १६५ (२) मा नयाँ नियुक्ति नभएसम्म राष्ट्रपतिले अर्को प्रदेशका बहालवाला प्रमुखलाई कार्यवाहक तोक्न सक्ने प्रावधान छ। राष्ट्रपति कार्यालयका सहप्रवक्ता धर्मराज गौतमले राष्ट्रपति संवैधानिक पद भएकाले मन्त्रिपरिषद्को सिफारिसमा मात्र नियुक्त वा कार्यवाहक तोक्ने काम हुने स्पष्ट पारेका छन्। चाडपर्व, सत्तारूढ दलका नेताहरूको विदेश भ्रमण र सरकारका अन्य व्यस्तताका कारण नियुक्तिमा ढिलाइ भएको नेताहरूको भनाइ छ।
कोशीमा प्रदेश प्रमुख नियुक्ति अझै अन्योलमा

Read Complete Original Article
Published originally on नेपालन्युज






