अन्ताल्या, टर्की । जलवायु न्यायका लागि विश्वभरका युवाको साझा आवाज बुलन्द गर्ने उद्देश्यसहित टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को अवसरमा काठमाडौं क्लाइमेट विकको अग्रसरतामा र विभिन्न युवा संघ संस्थाहरूको सहकार्यमा ‘ग्लोबल युथ क्लाइमेट जस्टिस राउन्डटेबल’ सम्पन्न भएको छ। नेपाली युवाको पहलमा आयोजित उक्त अन्तर्राष्ट्रिय छलफलमा टर्की, बंगलादेश, भारतलगायत विभिन्न अफ्रिकी देशका करिब ३० जना युवा अभियन्ता तथा जलवायु नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो। छलफलमा सहभागी युवाहरूले जलवायु परिवर्तनको असमान प्रभाव, जलवायु संकटबाट प्रभावित समुदायको अवस्था, जलवायु वित्त, क्षतिपूर्ति तथा अन्तर्राष्ट्रिय उत्तरदायित्वका विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले जलवायु संकटमा सबैभन्दा कम योगदान दिएका नेपालजस्ता विकासशील तथा जोखिममा रहेका देशहरूले सबैभन्दा ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्दै जलवायु न्याय सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराए। नेपालको प्रतिनिधित्व गर्दै सहभागी युवा अभियन्ता प्रसुज मैनालीले जलवायु न्याय प्राप्तिका लागि विश्वभरका युवाहरू एकजुट भएर अन्तर्राष्ट्रिय तहमा दबाब सिर्जना गर्नुपर्ने बताए। नेपाललगायत जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरूले भोगिरहेका विपद् र त्यसबाट सिर्जित मानवीय तथा आर्थिक क्षतिको उचित सम्बोधन हुनुपर्ने उनको भनाइ थियो। त्यस्तै, अर्का युवा अभियन्ता अर्नब चौधरीले नेपाल इतिहासकै कठिन विपद्को अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै जलवायु संकटबाट प्रभावित समुदायको न्यायका लागि युवाहरूले सामूहिक भूमिका निर्वाह गर्नुपर्ने बताए। प्रभावित समुदायको पीडा र वास्तविकतालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न युवाहरूको एकता र निरन्तर पैरवी आवश्यक रहेको उनले जोड दिए। कार्यक्रममा सहभागी युवा अभियन्ता आकृति डोटेलले जलवायु न्याय केवल वातावरण संरक्षणको मुद्दा नभई मानव अधिकार, सामाजिक न्याय र पुस्तान्तरणीय समानताको विषयसमेत भएको धारणा राखिन्। जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका समुदाय, विशेषगरी महिला, बालबालिका, आदिवासी समुदाय तथा आर्थिक रूपमा कमजोर वर्गका आवाजलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उनले जलवायु संकटको समाधान नीतिगत प्रतिबद्धतामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन, पर्याप्त जलवायु वित्त र प्रभावित समुदायसम्म स्रोत तथा सहयोगको न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। साथै, युवाहरूलाई जलवायु वार्ताका दर्शकका रूपमा नभई निर्णय प्रक्रिया र नीति निर्माणका सक्रिय साझेदारका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरिन्। छलफलमा बंगलादेशका युवा प्रतिनिधिले आफ्नो देश पनि जलवायु परिवर्तन, समुद्री सतह वृद्धिदेखि प्राकृतिक विपद्सम्मका चुनौतीबाट प्रभावित रहेको उल्लेख गर्दै नेपालसँग सहकार्य गरेर क्षेत्रीय तथा विश्वव्यापी जलवायु न्यायको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। राउन्डटेबलमा सहभागी युवाहरूले जलवायु संकटको जिम्मेवारी र त्यसको प्रभावबीच रहेको असमानतालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्ने निष्कर्ष निकाले। उनीहरूले जलवायु वित्तमा सहज पहुँच, हानि तथा नोक्सानीको उचित सम्बोधन, प्रभावित समुदायको पुनर्स्थापना र युवाको अर्थपूर्ण सहभागितालाई जलवायु न्यायका प्रमुख आधारका रूपमा प्रस्तुत गरे। कोप–३१ को अवसरमा आयोजित यस अन्तर्राष्ट्रिय छलफलले विभिन्न देशका युवा अभियन्ताबीच सहकार्य, साझा धारणा र ऐक्यबद्धता निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको अपेक्षा गरिएको छ। विशेषगरी नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशका युवाहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मुद्दा र प्रभावित समुदायको आवाज सशक्त रूपमा उठाउने अवसरका रूपमा यसलाई लिएका छन्। टर्कीको अन्ताल्यामा जारी कोप–३१ मा नेपालसहित विश्वका विभिन्न देशका युवा प्रतिनिधिहरूले साइड इभेन्टदेखि जलवायु वार्तासम्म सक्रिय सहभागिता जनाइरहेका छन्। उनीहरूले जलवायु परिवर्तनबाट प्रभावित समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउँदै जलवायु न्याय, वित्तीय सहयोग, हानि तथा नोक्सानीको सम्बोधन र विकसित राष्ट्रहरूको उत्तरदायित्वका विषयमा निरन्तर पैरवी गरिरहेका छन्। विश्वव्यापी जलवायु संकट गहिरिँदै गएको वर्तमान अवस्थामा युवाहरूको यस्तो सामूहिक पहलले जलवायु न्यायको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
कोप–३१ मा युवाको आवाज : जलवायु वित्त र क्षतिपूर्तिमा विकसित राष्ट्रलाई जवाफदेही बनाउन माग

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






