नेपाल सयौं जातजाति, भाषा, संस्कृति र परम्पराले सुसज्जित सुन्दर बगैँचा हो । यस बगैँचामा प्रत्येक समुदायको आफ्नै रङ, सुगन्ध र विशिष्ट महत्त्व छ । कुनै फूलको महत्त्व त्यसको आकारले मात्र निर्धारण गर्दैन, त्यसको मौलिकता र समग्र बगैँचामा पुर्याएको योगदानले पनि निर्धारण गर्छ । नेपालको सामाजिक तथा सांस्कृतिक विविधताभित्र कुमाल समुदाय पनि एउटा विशिष्ट फूल हो तर यस समुदायको इतिहास, भाषा, संस्कृति र मौलिक पहिचानबारे पर्याप्त अध्ययन, अभिलेखीकरण र सार्वजनिक बहस हुन नसक्नु चिन्ताको विषय हो । कुनै पनि समुदायको पहिचान उसको पेशा वा आर्थिक अवस्थाले मात्र निर्धारण हुँदैन । भाषा, संस्कृति, परम्परा, सामूहिक स्मृति, सामाजिक संरचना र ऐतिहासिक निरन्तरताले त्यसको विशिष्टता निर्माण गर्छन्। त्यसैले कुमाल समुदायको पहिचानको प्रश्नलाई पेशागत परिचयमा सीमित नगरी इतिहास, संस्कृति, भाषिक मौलिकता र संवैधानिक अधिकारसँग जोडेर हेर्न आवश्यक छ । धादिङको रामकोटको कुमाल गाउँबस्तीमा पुस्तौंदेखि कायम रहेको सामाजिक सहअस्तित्व यस विषयको एउटा महत्त्वपूर्ण आधार हो । एउटै गाउँबस्तीमा बस्ने, मेलापात गर्ने, दुःखसुख बाँड्ने, खोलानालामा सँगसँगै रमाउने र आपसी सहयोगमा जीवन चलाउने ग्रामीण परम्पराले विभिन्न समुदायबीचको सम्बन्धलाई गहिरो बनाएको छ । यस्तो सामाजिक निकटताले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ-पुस्तौंदेखि सँगै जीवन बिताएको समुदायको इतिहास, भाषा र मौलिक पहिचानलाई राज्य तथा समाजले कति गम्भीरतापूर्वक अभिलेखीकरण गरेका छन् ? यो प्रश्न कुनै एउटा गाउँ वा जिल्लाको मात्र होइन । नेपालको जातीय विविधताको संरक्षण, ऐतिहासिक न्याय र समावेशी विकाससँग सम्बन्धित राष्ट्रिय प्रश्न हो । पहिचान र पेशाबीचको सम्बन्धराष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कुमाललाई सूचीकृत आदिवासी जनजातिमध्ये एकका रूपमा उल्लेख गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुमाल समुदायको जनसंख्या एक लाख २९ हजार ७०२ छ । समुदायको उत्पत्ति, पुर्ख्यौली थलो, भाषा र धार्मिक–सांस्कृतिक पक्षबारे थप अध्ययन आवश्यक रहेको विभिन्न विवरणले देखाउँछन् । यसले कुमाल समुदायको पहिचानसम्बन्धी विषयमा अनुसन्धान र व्यवस्थित अभिलेखीकरणको आवश्यकता स्पष्ट पार्छ । कुमाल समुदायको परम्परागत पेशाका रूपमा माटाका भाँडा बनाउने कामको उल्लेख विभिन्न विवरणमा पाइन्छ तर कुनै समुदायको परम्परागत पेशाको उल्लेख हुनु र त्यस समुदायका सबै क्षेत्रका मानिसको पहिचानलाई एउटै पेशासँग जोड्नु फरक कुरा हो । समय, भूगोल, उपलब्ध स्रोतसाधन र स्थानीय सामाजिक परिवेश अनुसार जीविकोपार्जन तथा जीवनशैलीमा विविधता आउनसक्छ । त्यसैले कुमाल समुदायको पहिचानको अध्ययन गर्दा पेशागत विविधता र क्षेत्रगत भिन्नतालाई समेत ध्यान दिनुपर्छ । विशेषतः धादिङलगायतका पहाडी क्षेत्रमा बसाोस गर्ने कुमाल समुदायको पहिचान, भाषा, सांस्कृतिक अभ्यास र परम्परागत जीवनपद्धतिबारे स्थानीय अनुभव तथा लिखित विवरणको तुलनात्मक अध्ययन आवश्यक छ । अर्कोतर्फ, भक्तपुरमा परम्परागत रूपमा माटाका भाँडा बनाउने प्रजापति समुदायलाई नेवार समुदायभित्रको विशिष्ट समूहका रूपमा चिनिन्छ । यस सन्दर्भमा कुमाल र प्रजापति समुदायको ऐतिहासिक पृष्ठभूमि, सामाजिक पहिचान र पेशागत सम्बन्धबारे स्पष्टता आवश्यक देखिन्छ । यस विषयमा निष्कर्ष निकाल्न हतार गर्नु उचित हुँदैन । पेशा, थर, जातीय पहिचान र ऐतिहासिक सम्बन्धका आधारमा समुदायहरूलाई एकअर्कासँग मिलाउने वा अलग्याउने काम अनुमानका आधारमा गर्न मिल्दैन । सम्बन्धित समुदायका अग्रजको मौखिक इतिहास, पुराना अभिलेख, भाषिक प्रमाण, सांस्कृतिक अभ्यास र उपलब्ध शैक्षिक अनुसन्धानका आधारमा निष्पक्ष अध्ययन हुनुपर्छ । राज्यका अभिलेखमा कुनै त्रुटि वा अपूर्णता भएको प्रमाण भेटिएमा त्यसलाई सच्याउने व्यवस्था पनि हुनुपर्छ । पहिचानको सम्मान गर्नु भनेको एउटा समुदायलाई अर्को समुदायविरुद्ध उभ्याउनु होइन, प्रत्येक समुदायको विशिष्टतालाई यथार्थपरक ढंगले बुझ्नु र स्थापित गर्नु हो । भाषा : पहिचानको जीवन्त आधारभाषा कुनै समुदायको सञ्चारमाध्यम मात्र होइन, त्यसको इतिहास, ज्ञान, अनुभव र सामूहिक स्मृतिको भण्डार हो । भाषामा पुस्तौंदेखि सञ्चित जीवनदर्शन, प्रकृतिसँगको सम्बन्ध, सामाजिक व्यवहार र सांस्कृतिक मूल्यहरू अभिव्यक्त हुन्छन् । त्यसैले कुनै समुदायको भाषा कमजोर हुनु वा प्रयोगबाट हराउँदै जानु भनेको शब्दमात्र हराउनु होइन, एउटा मौलिक ज्ञानपरम्परा पनि संकुचित हुँदै जानु हो । कुमाल भाषाको संरक्षण र विकासलाई यसै दृष्टिकोणबाट हेर्नुपर्छ । राष्ट्रिय जनगणनामा कुमाल जातिको जनसंख्या र कुमाल मातृभाषा बोल्ने जनसंख्याबीच उल्लेख्य अन्तर देखिन्छ । यस अन्तरको कारण बुझ्न विस्तृत अध्ययन आवश्यक छ । भाषा पुस्तान्तरणमा आएको कमी, अन्य भाषाको बढ्दो प्रयोग, बसाइँसराइ, शिक्षा र सामाजिक परिवर्तनजस्ता पक्षले यसमा प्रभाव पारेका हुनसक्छन् । यद्यपि, प्रमाणित अध्ययनबिना कुनै एउटा कारणलाई निर्णायक मान्न सकिँदैन । रामकोटको कुमाल गाउँबस्तीमा प्रचलित भाषिक प्रयोगले यस भाषाको मौलिकता बुझ्न मद्धत गर्छ । उदाहरणका लागि, स्थानीय भाषिक व्यवहारमा ‘नाखौ’ शब्दलाई ‘हैन’ वा ‘छैन’ र ‘हखौ’ लाई ‘हो’ वा ‘छ’ भन्ने अर्थमा प्रयोग गरिन्छ । ‘हमर बाऊ मरल’ भन्ने अभिव्यक्तिले ‘हाम्रो बाउ मरे’ भन्ने अर्थ दिन्छ । यस्ता शब्द र वाक्यांश भाषिक अध्ययनका लागि उपयोगी सामग्री हुन् । यिनलाई व्यवस्थित रूपमा संकलन, लिप्यन्तरण र अर्थसहित अभिलेखीकरण गर्न सके भावी पुस्ताका लागि महत्त्वपूर्ण सम्पदा सुरक्षित रहनसक्छ तर एउटा गाउँबस्तीमा प्रचलित शब्दलाई सम्पूर्ण कुमाल भाषाको प्रतिनिधि मान्नु उचित हुँदैन । जिल्लागत तथा स्थानीय भाषिक भिन्नता हुनसक्छन् । त्यसैले विभिन्न बस्तीमा बोलिने भाषाको ध्वनि, शब्दभण्डार, व्याकरण, लोककथा, उखानटुक्का, गीत र मौखिक इतिहासको अध्ययन विश्वविद्यालय, भाषाविद्, स्थानीय जानकार र समुदायको संयुक्त सहभागितामा गर्नुपर्छ । कुमाल भाषामा बालसाहित्य, शब्दकोश, लोककथा संग्रह, श्रव्यदृश्य सामग्री र आधारभूत सिकाइ सामग्री तयार गर्न सकिन्छ । विद्यालयमा मातृभाषा र स्थानीय संस्कृतिप्रति सम्मान जगाउने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । नयाँ पुस्तालाई आफ्नो भाषा बोल्न र सिक्न प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । भाषा संरक्षणको दायित्व समुदायको मात्र होइन, राज्य, शैक्षिक संस्था र समाज सबैको साझा जिम्मेवारी हो । संस्कृति र परम्परामा निहित सामाजिक ज्ञानकुमाल समुदायको सांस्कृतिक जीवनमा धार्मिक आस्था, चाडपर्व, सामूहिक श्रम, परम्परागत सीप र आपसी सहयोगको महत्त्वपूर्ण स्थान छ । रामकोटको कुमाल गाउँबस्तीमा वायुको पूजा, आइतबारे पूजा र चण्डी पूर्णिमाका अवसरमा गरिने गाइडु पूजाजस्ता स्थानीय परम्परा प्रचलित रहेको पाइन्छ । यसका अतिरिक्त दशैँ, तिहार, माघेसंक्रान्ति, साउने संक्रान्ति र चैते दशैँजस्ता पर्व मनाइन्छन् । यस्ता अभ्यासको स्वरूप स्थान, परिवार र समयअनुसार फरक हुनसक्छ । दशैँमा परिवार र आफन्तबीच भेटघाट, ज्येष्ठबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा पारिवारिक परम्परा अनुसार भोजभतेर गर्ने चलन पाइन्छ । तिहारमा दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई विशेष महत्त्व दिइन्छ । देउसीभैलो, लोकगीत र सामूहिक उत्सवले सामाजिक सम्बन्धलाई जीवन्त बनाउँछन् । यी परम्परालाई केवल धार्मिक कर्मकाण्डका रूपमा मात्र होइन, पुस्ताबीचको सम्बन्ध र सामुदायिक एकताको माध्यमका रूपमा बुझ्न सकिन्छ । परम्परागत जीवनपद्धतिमा प्रकृति र स्थानीय स्रोतसाधनसँगको सम्बन्ध स्पष्ट देखिन्छ । खेतीपाती, मेलापात, भरपर्म, सापटी र सरसहयोग ग्रामीण अर्थजीवनका अभिन्न पक्ष थिए । खोलामा माछा मार्ने, पानीको बहाव छेकेर माछा समात्ने तथा बाँसका चोयाबाट डोको, डालो र अन्य सामग्री बुन्नेजस्ता सीपले स्थानीय जीवनयापनमा सहयोग पुर्याउथे । माछा बोक्न प्रयोग गरिने परुंगो, खेतबारीमा काम गर्दा बोक्ने हँसिया र परम्परागत पोशाकले त्यस समयको श्रमसंस्कृति र वातावरणसँगको सम्बन्धलाई देखाउँछन् । चौतारीमा भेला भएर दिनभरिका अनुभव साटासाट गर्ने, गाउँका समस्या छलफलबाट समाधान गर्ने र झ्याउरे, ठाडो भाका तथा दोहोरी गीतमार्फत मनोरञ्जन लिने परम्परा सामुदायिक जीवनका महत्त्वपूर्ण पक्ष थिए । गाउँमा विवाद उत्पन्न हुँदा पञ्चभलादमीको बैठकबाट समाधान खोज्ने र सामूहिक कामका लागि कटुवालमार्फत सूचना प्रवाह गर्ने अभ्यासले स्थानीय सामाजिक संगठनको स्वरूप देखाउँछ । यी अभ्यासलाई विगतको जीवनशैलीको वर्णनमा मात्र सीमित गर्नुहुँदैन । यिनमा सामूहिक निर्णय, श्रमको सम्मान, आपसी सहयोग र स्थानीय विवाद समाधानसम्बन्धी ज्ञान निहित छ । यस्ता परम्पराको अभिलेखीकरण गर्दा तिनका सकारात्मक पक्ष संरक्षण गर्ने र समयानुकूल सुधार गर्नुपर्ने पक्षलाई विवेकपूर्ण ढंगले छुट्याउन सकिन्छ । सांस्कृतिक संरक्षणको अर्थ पुराना सबै अभ्यासलाई जस्ताको तस्तै निरन्तरता दिनु होइन । यसको उद्देश्य समुदायको मौलिकता, ज्ञान र पहिचानलाई सम्मान गर्दै उपयोगी परम्परालाई भावी पुस्तासम्म पुर्याउनु हो । राज्यको दायित्व : अध्ययन, संरक्षण र अवसरनेपालको संविधानले समानता, सामाजिक न्याय, समावेशिता र विविधताको सम्मानलाई महत्त्व दिएको छ । आदिवासी जनजातिको उत्थानसम्बन्धी कानुनी व्यवस्थाले उनीहरूको भाषा, संस्कृति, इतिहास, परम्परागत सीप र सामाजिक-आर्थिक विकासको संरक्षण तथा प्रवर्द्धनमा राज्यको भूमिका स्पष्ट पारेको छ । यस्तो व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र समुदायको पहिचान र अधिकार व्यवहारमा सुनिश्चित हुनसक्छ । कुमाल समुदायको हकमा पहिलो आवश्यकता तथ्यमा आधारित राष्ट्रिय तथा स्थानीय अध्ययन हो । समुदायको उत्पत्ति, ऐतिहासिक बसोवास, भाषिक अवस्था, सांस्कृतिक अभ्यास, परम्परागत ज्ञान र सामाजिक-आर्थिक स्थितिसम्बन्धी अध्ययनलाई प्राथमिकता दिनुपर्छ । यस कार्यमा सम्बन्धित समुदायका अग्रज, स्थानीय बुद्धिजीवी, भाषाविद्, इतिहासकार र शैक्षिक संस्थाको सहभागिता सुनिश्चित गर्नुपर्छ । समुदायबारे अध्ययन गर्ने तर समुदायको आवाज नसुन्ने प्रवृत्तिले पूर्ण र विश्वसनीय निष्कर्ष दिन सक्दैन । दोस्रो, कुमाल समुदायको भाषा र संस्कृतिको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक छ । लोकगीत, लोककथा, मौखिक इतिहास, परम्परागत सीप र सांस्कृतिक अनुष्ठानलाई अभिलेखीकरण गरी स्थानीय तह, विद्यालय, पुस्तकालय र डिजिटल माध्यमबाट उपलब्ध गराउन सकिन्छ । स्थानीय सरकारहरूले समुदायसँग सहकार्य गरी सांस्कृतिक अभिलेख केन्द्र, भाषा सिकाइ कार्यक्रम र परम्परागत सीपको पुस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न सक्छन् । तेस्रो, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक अवसरमा समुदायको पहुँच विस्तार गर्नुपर्छ । विपन्न परिवारका बालबालिकाका लागि छात्रवृत्ति, विद्यालयमा निरन्तरता कायम गर्ने सहयोग, प्राविधिक तथा व्यावसायिक शिक्षा, सीप विकास र उद्यमशीलताका कार्यक्रम आवश्यक छन् । परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्न सके स्थानीय उत्पादन, हस्तकला र सांस्कृतिक पर्यटनबाट आयआर्जनका अवसर सिर्जना हुन सक्छन् तर विकासका नाममा समुदायको मौलिक ज्ञान र स्रोतसाधनको व्यावसायिक उपयोग गर्दा समुदायको अधिकार र लाभ सुनिश्चित हुनुपर्छ । चौथो, राज्यका नीति निर्माण र निर्णय प्रक्रियामा कुमाल समुदायको अर्थपूर्ण सहभागिता बढाउनुपर्छ । समुदायको नाममा कार्यक्रम सञ्चालन गर्नुमात्र पर्याप्त हुँदैन, ती कार्यक्रमको आवश्यकता निर्धारण, योजना निर्माण, कार्यान्वयन र मूल्यांकनमा सम्बन्धित समुदायको प्रतिनिधित्व हुनुपर्छ । लक्षित सहायता र सकारात्मक विभेदका कार्यक्रम आवश्यकतामा आधारित, पारदर्शी र परिणाममुखी हुनुपर्छ । शिक्षा, आय, भौगोलिक पहुँच र सामाजिक वञ्चितीकरणको वास्तविक अवस्था अध्ययन गरेर अवसरको असमानता घटाउने नीति बनाउन सकिन्छ । जातीय पहिचान तथा जनगणनासम्बन्धी अभिलेखलाई विश्वसनीय बनाउनुपर्छ । कुनै समुदायको पहिचान, मातृभाषा वा ऐतिहासिक विवरणमा त्रुटि भएको प्रमाण भेटिएमा सम्बन्धित निकायले समुदायको सहभागितामा पुनरावलोकन गर्नुपर्छ । यस्ता विषयमा न त पूर्वनिर्धारित निष्कर्ष थोपर्नु उचित हुन्छ न त प्रश्न उठाउनै नहुने ठान्नु । प्रमाण, संवाद र निष्पक्ष अनुसन्धानका आधारमा यथार्थ स्थापित गर्नु उपयुक्त बाटो हो । संरक्षणसँगै सम्मान र समान अवसरकुमाल समुदायको पहिचानको प्रश्नलाई केवल सांस्कृतिक संरक्षणको विषय मानेर पुग्दैन । पहिचानसँगै सम्मान, प्रतिनिधित्व, अवसर र सामाजिक न्याय पनि जोडिएका छन् । कुनै समुदाय आफ्नो इतिहास र भाषाबारे पर्याप्त जानकारीबाट वञ्चित छ, उसका परम्परागत ज्ञानको अभिलेखीकरण भएको छैन वा विकासका अवसरमा उसको पहुँच कमजोर छ भने त्यसको समाधान प्रतीकात्मक सम्मानमा मात्र खोज्न सकिँदैन । समुदायका मानिसलाई उनीहरूको पहिचानका आधारमा रूढ छविमा सीमित गर्नु पनि अन्याय हो । कुमाल समुदायका सदस्यहरू आज कृषि, शिक्षा, व्यापार, रोजगारी, सेवा र अन्य विविध क्षेत्रमा संलग्न हुन सक्छन् । परम्परागत पेशा वा जीवनशैलीलाई मात्र समुदायको स्थायी परिचय बनाउँदा उनीहरूको बदलिँदो सामाजिक वास्तविकता ओझेलमा पर्नसक्छ । त्यसैले मौलिकताको संरक्षण र आधुनिक अवसरको विस्तारलाई परस्पर विरोधी होइन, परिपूरक रूपमा लिनुपर्छ । कुमाल समुदायको पहिचान, सामाजिक योगदान र ऐतिहासिक अनुभवलाई सार्वजनिक विमर्शको हिस्सा बनाउनु आवश्यक छ । समुदायको पहिचानबारे लेखन, अनुसन्धान र नीतिनिर्माण गर्दा सम्मानजनक भाषा प्रयोग गर्नुपर्छ । समुदायभित्रको विविधतालाई स्वीकार गर्दै समानता र साझा नागरिकताको भावनालाई बलियो बनाउनु महत्वपूर्ण छ । कुमाल समुदायको प्रश्न उठाउनु कुनै एउटा जातिको पक्षपोषणमात्र होइन । यो नेपालको बहुजातीय समाजलाई अझ न्यायपूर्ण, समावेशी र सभ्य बनाउने प्रयास हो । एउटा समुदायको भाषा र संस्कृति जोगिँदा राष्ट्रिय सम्पदा समृद्ध हुन्छ, एउटा समुदायले न्यायोचित अवसर पाउँदा लोकतन्त्रको आधार बलियो हुन्छ । नेपालको सुन्दर बगैँचामा कुमाल पनि आफ््नै मौलिक सुगन्ध भएको फूल हो । त्यसको सुगन्ध रामकोटको कुमाल गाउँबस्ती र धादिङका अन्य बस्तीमा मात्र सीमित नरहोस्स्, देशभरि फैलियोस् र विश्वले पनि त्यसको विशिष्टता चिन्न सकोस् । यसका लागि भावनात्मक प्रशंसामात्र पर्याप्त हुँदैन । तथ्यमा आधारित अनुसन्धान, सांस्कृतिक अभिलेखीकरण, भाषाको संरक्षण, आर्थिक अवसरको विस्तार र राज्यका निकायमा अर्थपूर्ण सहभागिता आवश्यक छ । कुमालको इतिहास खोज्नु विगतको खोजीमात्र होइन, वर्तमानको यथार्थ बुझ्ने र भविष्यको न्याय सुनिश्चित गर्ने अभियान हो । पहिचानलाई सम्मान, अधिकारलाई सुनिश्चितता र विकासलाई समान अवसरसँग जोड्न सकियो भनेमात्र नेपालको विविधतायुक्त राष्ट्रिय बगैँचा अझ सुन्दर, सुदृढ र सुगन्धित बन्नेछ ।
कुमालको पहिचान : इतिहास, अस्तित्वसँगै अधिकार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






