किन उठिरहन्छ विवाद ?

बेलाबेलामा अनेक खालका प्रश्नहरू सिर्जना हुने क्रममा केही दिनयता लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिको सन्दर्भमा अनेक प्रश्न उठाइएका छन् । आनी बौद्ध भिक्षुणी हुनुहुन्छ । यसका साथै उहाँको कलाकारिता सर्वव्यापी चर्चामा रहँदै आएकै हो । केही समय अगाडि निधन हुनुभएका दुर्गालाल श्रेष्ठले लेख्नुभएको गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार’ गाएर ख्याति आर्जन गर्नुभएकी आनी त्यस पहिले चिनिनुभएको थिएन । त्यही गीतले उहाँलाई चिनायो, उहाँले ख्याति आर्जन गर्नुभयो र लोकप्रिय बन्नुभयो । उहाँले गाएको यो गीत सबैका मुखमुखमै रहने गरेको छ । अनेक सन्दर्भहरूको दृष्टान्तका रूपमा उक्त गीत मानिसका मुखमा झुण्डिने गरेको छ । यसरी ख्याति आर्जन गर्नुभएकी बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति हुनुभएपछि विवादमा पर्नुभएको छ । सरकारले यसरी दिने राजनीतिक नियुक्तिहरूका लागि निश्चित प्रक्रियाहरू पूरा गर्छ होला र त्यही प्रक्रिया पूरा गरेर नै आनीको पनि नियुक्ति भएको हुनसक्छ तर अहिले उहाँको नियुक्तिलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन् । उहाँको नियुक्तिलाई समर्थन गर्ने र विरोध गर्ने दुवै पक्षका अनेकौं भनाइ सार्वजनिक भइरहेका छन् । सरकारले दिएको नियुक्तिमा प्रक्रिया पुगेन भन्ने छैन । केवल दुईवटा प्रश्न उठाइएको छ । एउटा आनीको नागरिकताको प्रश्न र अर्को उहाँको आर्जनको प्रश्न । आनी आफैंले आफ्नो जीवनीमा तिब्बतीयन शरणार्थीको नेपालमा जन्मिएको सन्तान उल्लेख गर्नु पनि बाबुआमा तिब्बती तर उहाँको नागरिकता भने वंशजको बनेको छ । कुनै पनि विदेशी व्यक्ति नेपालमा १५ वर्षसम्म लगातार बसोवास गरेको, नेपाली भाषा बोल्न, लेख्न, पढ्न जानेको, यहाँ कुनै व्यापार व्यवसाय गरेर बसेको, असल आचरण भएको र आफ्नो पहिलेको देशको नागरिकता त्याग्ने प्रक्रिया चलाएको भए उसले नेपालको नागरिकता पाउँछ भन्ने कानुनी व्यवस्थानुसार आनी छोइङले नेपाली नागरिकता पाउने आधारभूत कुराहरू मापदण्ड पूरा भएकै थियो तर उहाँले त्यसरी पाएको नागरिकता वंशजको नागरिकता नभई अंगीकृत नागरिकता हुन्थ्यो । आनीले पाएको हालको नागरिकता भने वंशजको नागरिकता हो । उहाँले कुनै नेपाली व्यक्तिलाई मातापिता मानेर नागरिकता बनाउनुभएको र जसले उहाँलाई आफ्ना मातापिता बनाउनुभएको छ उहाँकै सन्तानले आनी आफ्नो परिवारको सदस्य नभएको भनेर उजुरीसमेत गरेको भन्ने चर्चा हाल भइरहेको छ । यस आधारमा हेर्ने हो भने आनीको नागरिकता निश्चय पनि विवादको घेरामै छ । अर्कातिर उहाँले लेखेको आत्मकथा र उहाँको नागरिकताको सामानजस्य पनि पाइएन । उहाँले आफ्नो आत्मकथामा आफ्ना मातापिता तिब्बती शरणार्थी भएको र आफू बौद्धक्षेत्रमा शरणार्थी बाबुआमा शरणार्थी हुँदा जन्मिएको भन्नुभएको छ भने उहाँले पाएको नागरिकतामा आफूलाई तामाङ लामाका रूपमा चिनाएको भनिएको छ । यदि यसो हो भने अपराध गर्ने छुट कसैलाई छैन । यसो भन्दैमा फेरि आनीले नागरिकता लिएको प्रक्रिया यदि गलत छैन भने उहाँ दण्डित हुनु हुँदैन । अर्कातिर उहाँको आर्जनको प्रश्न उठेको छ । उहाँ बौद्ध भिक्षुणी तर उहाँसँग त्यत्रो धेरै सम्पत्ति कसरी प्राप्त भयो त्यसको खोजी गर्नु अस्वाभाविक होइन । हङ्कङबाट उहाँको नाउँमा लगभग साढे १८ करोड रुपैयाँ आएको र उहाँले तुइन विस्थापनका लागि सरकारलाई १ करोड रुपैयाँ दिनुभएको भन्ने चर्चामा छ । प्रश्न के हो भने उहाँजस्तो मानिसले यत्रो आर्जन कसरी गर्नुभयो ? तर यदि उहाँको उक्त आर्जन विधिसम्मत हो भने प्रश्न उठाउनु पनि गलत हुनजान्छ, किनभने संविधानले नै प्रत्येक नागरिकलाई कुनै पेशा व्यवसाय गर्ने छुट दिएको छ । यसरी उठाएका यी दुईटा प्रश्नको जवाफ दिने क्रममा आनीले आफू नेपाली नागरिक भएको, धेरै प्रयास गरेर ५० वर्ष पार गरिसकेपछि नागरिकता पाएको र आफ्नो आर्जनका बारेमा उठेका प्रश्नहरूको पनि जवाफ दिएर अहिलेभन्दा आठ वर्षअगाडि नै सम्पत्ति शुद्धीकरणबाट उक्त समस्याको निराकरण भइसकेको बताउनुभएको छ । उहाँले नेपालको कर्मचारीतन्त्रले विधिसम्मत गरिएका काममा पनि धेरै दुःख दिने गरेको सन्दर्भ उठाउँदा भने हाम्रो कर्मचारीतन्त्रमाथि प्रश्नचिह्न खडा हुन्छ नै । अवैध कामलाई वैध बनाउन खोजिन्छ भने त्यसमा कर्मचारीतन्त्रले कडाइ गर्नु स्वाभाविकै हो तर विधिसम्मत कामलाई अनेक अवरोध तेर्स्याएर अप्ठ्यारो बनाउने काम भने हुनु स्वाभाविक मानिँदैन । भगवान गौतम बुद्धको जन्म भएको ठाउँ लुम्बिनीलाई नेपालीहरूले मात्र होइन संसारले नै एउटा ठूलो धाम अर्थात् धार्मिक क्षेत्र मान्दै आएको छ । त्यसकारण लुम्बिनी विकास कोषमा मनोनित हुने व्यक्तिहरू बौद्ध धर्मावलम्बी नै हुनुलाई अस्वाभाविक मान्न मिल्दैन । अहिलेसम्म यहाँ नियुक्ति हुने सबै व्यक्तिका बारेमा प्रश्न उठेका पनि छैनन् । अनि लार्क्याङ लामा, आनी छोइङ डोल्माका बारेमा चाहिँ किन प्रश्न उठ्छन् यो गम्भीर विषय हो । आनी आफ्नो गायकीले यति लोकप्रिय हुनुहुन्छ र उहाँको बोलीव्यवहार ज्यादै शालीन छ तर उहाँकै बारेमा किन यसरी प्रश्न उठ्यो ? यसबारे भने सोच्नै पर्ने हुन्छ । सबै नागरिकका लागि कानुन समान हुन्छ । त्यसकारण आनीमा कुनै कमजोरी छ भने त्यो केलाउनैपर्छ र उहाँमा त्यस्तो कुनै गल्ती कमजोरी छैन भने उठेका प्रश्नले मात्र उहाँको नियुक्ति रोकिनु हुँदैन । यसबारेमा आनीको पष्टीकरण आइसकेको छ तर उक्त पष्टीकरणमा आनीले शालीन ढंगले एउटा ठूलो चेतावनी दिनुभएको छ । त्यो चेतावनी के हो भने ‘मेरो चिन्ता भनेको अरू केही होइन कुनै धार्मिक साम्प्रदायिक दंगा हुन्छ कि भन्नेमात्र हो’ भन्नुभएको छ । उहाँले यसरी चिन्ताका माध्यमबाट चेतावनी प्रकट गर्नुभएको कुरा भने सामान्य छैन । सरकारले आनीका बारेमा राम्ररी नबुझी नियुक्ति दिएको नहोला । तर, केही बुझ्न बाँकी रहेछ भने अब छिटै केही दिनभित्रै उहाँलाई लागेका आरोपहरू सही हुन् वा गलत छिनोफानो हुनुपर्छ र ती आरोपहरूमा सत्यता छ भने आनीको नियुक्ति बदर हुनु पनि वान्छनीय हुन्छ तर यदि आनीलाई लागेका आक्षेपहरूमा कुनै सत्यता छैन भने आनीको छविमा कुनै आँच आउनु हुँदैन र उहाँको नियुक्ति सदर मानिनु उपयुक्त हुन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र
घोराही समाचारदाता घोराही, कात्तिक १३ गते । दाङको धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रकुने दहको प्रवर्धन योजना अलपत्र परेको छ । पाँच वर्षअघि गुरुयोजना तयार गरी बाह्रकुने दहलाई जिल्लाक... ...

भुटानमा हिमताल फुट्यो : भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट'
काठमाडौँ । भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ। बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि पश्चिम बङ्गालका अधिकारीहरूले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता... ...

सडक कालोपत्रे हुँदै
रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), कात्तिक १३ गते । तराईलाई हिमालसँग जोड्ने सालझन्डी–ढोरपाटन सडक धमाधम कालोपत्रे भइरहेको छ । यो सडक रुपन्देहीको सालझन्डीदेखि बागलुङ ढोरपाटनसम्म १... ...

कहाँ गए सईदेखि परिचरसम्मका सात जना सशस्त्रका कर्मचारी ? सम्पर्कमा नआए कारबाहीको चेतावनी
काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना नायव निरीक्षक (सई) सहित सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ । हाजिर नभए कारबाही गर्ने चेतावनी दिइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका […] ...


