काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्रीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको अवज्ञा गर्दै बिक्रीका लागि राखिएका ३३६ वटा प्लास्टिकका माला र १४० वटा पुष्पगुच्छा महानगर प्रहरी बलले विभिन्न स्थानबाट जफत गरेको छ । महानगर प्रहरी बल र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्रीको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएका थिए । सार्वजनिक सूचनाको अवज्ञा गर्दै व्यापार गर्ने व्यवसायीबाट ती सामग्री जफत गरिएको महानगरले जनाएको छ । महानगर प्रहरी बलका अनुसार चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, कोटेश्वर पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराही लगायतका स्थानबाट प्लास्टिकजन्य माला तथा पुष्पगुच्छा जफत गरिएको हो । जफत गरिएका सामग्रीमध्ये सबैभन्दा धेरै कोटेश्वर र कोटेश्वर पानीपुरी चोकबाट बरामद भएका छन् । महानगर प्रहरी बलले नगर प्रहरीको सेवा नागरिकको नजिक पु¥याउने उद्देश्यले महानगरको भूगोललाई पूर्व, पश्चिम, उत्तर र मध्य गरी चार क्षेत्रमा विभाजन गरेको छ । प्रत्येक क्षेत्रमा क्षेत्रगत कमान्डर तथा विभिन्न दर्जाका प्रहरी टोली परिचालन गरी बजारको नियमित निगरानी र अनुगमन भइरहेको महानगरले जनाएको छ । सोही अभियानअन्तर्गत चारवटै क्षेत्रबाट खटिएका टोलीले अनधिकृत रूपमा बिक्रीका लागि राखिएका प्लास्टिकजन्य फूल तथा माला जफत गरेका हुन् । प्लास्टिकजन्य सामग्रीको बिक्रीमा रोक लगाउँदै महानगरपालिकाले स्वदेशी फूलको बिक्री प्रवद्र्धनका लागि आफ्नो भौगोलिक क्षेत्रभित्र ३३ वटा सार्वजनिक तथा व्यावसायिक स्थान निर्धारण गरेको छ । किसानले उत्पादन गरेका स्वदेशी फूल सहज रूपमा बिक्री गर्न सकून् र नेपाली उत्पादनले बजार पाओस् भन्ने उद्देश्यले बिक्रीस्थल तोकिएको महानगरले जनाएको छ । महानगरपालिकाले २०८० सालदेखि नै तिहारमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ । महानगरले निर्धारण गरेका बिक्रीस्थलमध्ये एनबी सेन्टर नयाँ बानेश्वर, बिग मार्ट शंखमुल, आइप्लेक्स मल नयाँ बानेश्वर, सेल्सबेरी मध्य बानेश्वर, फोनेक्स टावर बत्तीसपुतली, एसी कम्प्लेक्स चाबहिल, चाबहिल गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि, कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल र न्यूप्लाजास्थित बज्र कम्प्लेक्स रहेका छन् । त्यसैगरी तीनकुने चौर, सिफल चौर, लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्मचक्र पार्क, कालीमाटी ब्याङ्क्वेट, कालीमाटीको द्यौखेल, कलंकीको भाटभटेनी, नयाँबजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल, माछापोखरीस्थित गुणस्तर तथा नापतौल विभागतर्फको खाली भाग, हाँडीगाउँको नरःदे कार्यालय अगाडिको डबली, गणेश मन्दिर डबली, वडा नम्बर २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबुको बिग मार्ट, चप्पल कारखानाको बिग मार्ट र बालुवाटारको बिग मार्टलगायत स्थानमा पनि स्वदेशी फूल बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ ।
काठमाडौं महानगरद्वारा ३३६ प्लास्टिकका माला र १४० पुष्पगुच्छा जफत

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






