काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने महापर्व छठ आज सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य अर्पण गरेका छन्। छठ पर्वको मुख्य विधिअनुसार गाईको दूध, फूल र जलले सूर्यदेवलाई अर्घ्य दिएपछि पर्वको समापन हुने धार्मिक मान्यता छ। यसअघि हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू रातभर नदी, पोखरी तथा तालका किनारमा जाग्राम बसेका थिए। हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिन राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीघाट पुगेका थिए। त्यसैगरी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी थिइन्। काठमाडौंका विभिन्न नदी, पोखरी तथा जलाशयमा छठ मनाउनेको उपस्थिति बढ्दै गएको छ। पछिल्लो समय काठमाडौंमा पनि छठ पर्वको रौनक र भव्यता थपिँदै गएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय हुने उल्लेख छ। छठको विधिअनुसार व्रतालुहरू सूर्योदय हुनुअघि नै कम्मरमुनिको भाग पानीमा डुबाएर सूर्य उदाउने प्रतीक्षामा बस्ने गर्छन्। उदाउँदो सूर्यको दर्शन गर्दै अर्घ्य अर्पण गरेपछि व्रत सम्पन्न हुन्छ। छठ पर्वको समापनसँगै आज विभिन्न छठ घाटमा श्रद्धालुहरूलाई प्रसाद वितरण गरिँदैछ।
काठमाडौंमा छठको रौनक बढ्दो

Read Complete Original Article
Published originally on नेपालन्युज






