काठमाडौं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज शनिबार पुनः घटेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। महाशाखाले आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गर्ने जनाएको छ। सो समयमा तापक्रम सुरुको मापनभन्दा थोरै घट्ने वा स्थिर रहने सम्भावना रहन्छ। शुक्रबार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा ८.७ डिग्री सेल्सियस देखिएको तापक्रम अन्तिम मापनमा ८.५ डिग्री सेल्सियस कायम भएको थियो। उपत्यकाको न्यूनतम तापक्रम मंसिर ९ गते ७ डिग्री सेल्सियससम्म झरेको थियो। त्यसपछि मंसिर १० र ११ गते तापक्रममा वृद्धि देखिए पनि आज पुनः घटेको हो। मौसमविद्का अनुसार रातिको समयमा आकाश खुला रहँदा तापक्रम घट्ने र बादल लाग्दा बढ्ने गर्दछ। मौसम पूर्वानुमान महाशाखाले दैनिक रूपमा न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था र अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ। हाल देशभर तापक्रम घट्ने क्रममा रहेको र चिसो बढ्दै गएको महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्यो

Read Complete Original Article
Published originally on नेपालन्युज






