काठमाडौँ। वसन्तपुरका मन्दिरका सिँढीमा परम्परागत नृत्य प्रस्तुत भइरहेको छ। डबलीमा बाजा बजिरहेका छन्। सम्पदा क्षेत्रका चोक र गल्ली हुँदै अघि बढेको पाहुनाको समूह कतै सांस्कृतिक प्रस्तुति हेर्न रोकिन्छ, कतै त्यसमा आफैँ सहभागी हुन्छ। यो कुनै चलचित्रको छायाङ्कन दृश्य होइन, काठमाडौंले आफ्नो फिल्म फेस्टिभल सुरु गर्न रोजेको सांस्कृतिक मञ्च हो। कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं महानगरपालिकाले आयोजना गरेको काठमाडौं फिल्म फेस्टिभल वसन्तपुरको सम्पदा यात्राबाट सुरु भएर राष्ट्रिय सभा गृह, जय नेपाल सिनेमा र नेपाल पर्यटन बोर्ड हुँदै बौद्ध तथा तारागाउँ नेक्स्टको एम्फिथिएटरसम्म फैलियो। तीन दिनसम्म नेपाली पुराना चलचित्र, युवा सर्जकका लघु चलचित्र, अन्तर्राष्ट्रिय सिनेमा, चलचित्रसम्बन्धी बहस, मास्टर क्लास र सांस्कृतिक प्रस्तुतिलाई एउटै कार्यक्रममा जोड्ने प्रयास गरियो। यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यक्रम थिएन। काठमाडौंले आफ्नो सांस्कृतिक पहिचानलाई चलचित्रमार्फत विश्वसँग जोड्ने सम्भावना खोजिरहेको थियो। ऐतिहासिक सम्पदा, जात्रा, परम्परागत कला र जीवन्त सांस्कृतिक अभ्यासका लागि परिचित सहरले आफ्ना कथा चलचित्रको भाषामा सुनाउन चाहेको छ। तर सम्भावना र उपलब्धि एउटै कुरा होइनन्। एउटा महोत्सव आयोजना गर्नु सुरुवात हो। त्यसलाई सर्जकका लागि अवसर, दर्शकका लागि अनुभव, चलचित्र उद्योगका लागि सम्बन्ध र सहरका लागि दीर्घकालीन सांस्कृतिक सम्पत्तिमा बदल्नु अर्को काम हो। काठमाडौं फिल्म फेस्टिभलको महत्त्व यहीँ छ। यसले नयाँ मञ्च खोलेको छ, तर त्यसको दीर्घकालीन प्रभाव निरन्तरताले निर्धारण गर्नेछ। सम्पदाबाट सुरु भएको कथा महोत्सवको उद्घाटन सम्पदा क्षेत्रमा गर्नु आफैँमा एउटा सांस्कृतिक सन्देश थियो। चलचित्र प्रायः अँध्यारो हल र पर्दासँग जोडिन्छ। काठमाडौंले भने खुला सार्वजनिक स्थान, परम्परागत प्रदर्शनकला र ऐतिहासिक सम्पदासँगको प्रत्यक्ष साक्षात्कारबाट महोत्सव सुरु गर्यो। जुद्ध शालिक क्षेत्रमा अतिथिलाई मौलिक टीका लगाएर स्वागत गरियो। त्यसपछि टोली वसन्तपुर डबली पुग्यो, जहाँ गुरुजुको पल्टनले सांस्कृतिक वादन प्रस्तुत गरेको थियो। कुमारी घरमा जीवित देवी कुमारीको दर्शनपछि गद्दी बैठकअगाडिको नारायण मन्दिरका सिँढीमा गणेश चर्या, माजु देगःमा परम्परागत नृत्य, शिवपार्वती डबलीमा सांस्कृतिक अर्केस्ट्रा र श्वेत भैरवअगाडिको नारायण मन्दिर परिसरमा अष्टमातृका चर्या प्रस्तुत गरियो। गणेश चर्या बज्रकला कुञ्जले, माजु देगःको नृत्य नेपा डान्स एकेडेमीले र अष्टमातृका चर्या यूएनएक्सले प्रस्तुत गरेका थिए। शिवपार्वती डबलीको अर्केस्ट्रामा कुटुम्ब, नेपाल प्रहरी र स्थानीय बाजा खल सहभागी थिए। अतिथिहरूले प्रस्तुति अवलोकन मात्र गरेनन्, कतिपय गतिविधिमा आफैँ पनि सहभागी भए। औपचारिक कार्यक्रमको अन्त्यमा मुनासा नेपालको प्रस्तुति र आर्मय नकर्मीको निर्देशनमा ‘हसाना’ अर्थात् ‘सन्देश’ नाटक प्रदर्शन गरियो। नेपाः डान्स एकेडेमीले ‘कर्कुल्ला’ तथा सातै प्रदेशका आदिवासी जनजातिका भेषभूषा र नृत्य समेटिएको प्रस्तुति पनि गरेको थियो। यी गतिविधिले चलचित्र महोत्सवलाई सिनेमा हलभित्र सीमित हुन दिएनन्। काठमाडौंको सांस्कृतिक जीवनलाई चलचित्रसँग जोड्ने प्रयास गरे। कार्यवाहक प्रमुख सुनिता डंगोलले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित गरेर बुझ्न नहुने बताइन्। उनले भनिन्, “चलचित्र मनोरञ्जनको साधन मात्र होइन। यसले कुनै विषय, वस्तु, पात्र वा अवस्थाका बारेमा मानिसको सोचमा गहिरो दृष्टिकोण निर्माण गराउँछ। यसकारण चलचित्रलाई एउटा कोणबाट मात्र हेर्न हुँदैन। यही मान्यतालाई रचनात्मक उद्योगसँग जोडेर हामीले फेस्टिभल थालेका हौँ।” उनले समृद्धिको अर्थ भौतिक पूर्वाधारभन्दा फराकिलो हुनुपर्नेमा पनि जोड दिइन्। “अग्ला भवन, चिल्ला सडकले मात्र समृद्धिको उचाइ पुग्दैन। यसका लागि स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण र पुस्तान्तरण हुनुपर्छ। हामी सिर्जनशील सहरका कार्यक्रमअन्तर्गत यही विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।” यो दृष्टिकोण काठमाडौंका लागि सान्दर्भिक छ। सहरको विकासलाई सडक र भवनबाट मात्र मापन गर्दा त्यसको सांस्कृतिक जीवन ओझेलमा पर्न सक्छ। स्थानीय भाषा, कलात्मक अभिव्यक्ति, परम्परागत सीप र सामुदायिक स्मृति पनि सहरका सम्पत्ति हुन्। तिनको संरक्षण गर्नुका साथै नयाँ पुस्ताले बुझ्ने र आफ्नै समयको भाषामा पुनर्व्याख्या गर्न सक्ने अवसर दिनु आवश्यक छ। काठमाडौंलाई विश्वले मन्दिर, जात्रा र परम्परागत पोसाकका दृश्यबाट मात्र चिन्नु पर्याप्त हुँदैन। बदलिँदो सहरी जीवन, नयाँ पुस्ताका आकाङ्क्षा, हराउँदै गएका पेसा र पुराना समुदायले सामना गरिरहेका चुनौती पनि यस सहरका कथा हुन्। चलचित्रले ती कथालाई दृश्यमा उतार्ने अवसर दिन सक्छ। काठमाडौंको आफ्नै मञ्च सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महोत्सव महानगरपालिकाको सामूहिक प्रयासबाट सम्भव भएको बताए। उनले भने, “फेस्टिभल आयोजना गर्न काठमाडौं महानगरपालिकाको सिङ्गो परिवार जुटेको छ। युनेस्को क्रियटिभ सिटिज नेटवर्कको सदस्यता प्राप्त गर्नदेखि फेस्टिभल आयोजना गर्न नगर सभाबाट कार्यक्रम पारित गर्ने नगर सभा सदस्य र कार्यपालिकाबाट निर्णय गर्ने कार्यपालिका सदस्यको संयुक्त प्रयास हो।” उनका अनुसार महोत्सवले काठमाडौंलाई सांस्कृतिक सहर र समृद्ध महानगर बनाउने लक्ष्यमा सहयोग गर्ने अपेक्षा गरिएको छ। युनेस्कोको सिर्जनशील सहर सञ्जालमा आबद्ध हुनु अन्तर्राष्ट्रिय पहिचान हो। त्यसलाई व्यवहारमा उतार्न भने बजेट, नीति, संस्थागत सहकार्य र निरन्तरता चाहिन्छ। महोत्सव कुनै एक व्यक्तिको कार्यकाल वा व्यक्तिगत प्रतिबद्धतामा निर्भर रहनुभन्दा नियमित सांस्कृतिक संरचनामा रूपान्तरण हुन सके त्यसको प्रभाव दीर्घकालीन हुन सक्छ। उद्घाटन समारोहमा युनेस्को काठमाडौंका प्रमुख जाको डु टोइटले चलचित्रलाई विभिन्न पेसा र क्षेत्र जोड्ने शक्तिशाली माध्यमका रूपमा व्याख्या गरेका थिए। उनले भने, “सिनेमा नै एउटा यस्तो माध्यम हो, जसले सरकार र सम्बद्ध क्षेत्रसँग सिधै अन्तरसंवाद गराउँछ। यसकारण सिनेमा रचनात्मक उद्योगमा पनि शक्तिशाली माध्यम हो। यो सैद्धान्तिक कुरालाई काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सर्वसाधारणको आवतजावतसँगै घुलमिल गर्दै जसरी फेस्टिभल शुभारम्भ गरेको छ, यो उत्साहजनक छ। यस क्षेत्रले कलाकार, प्राविधिक, सर्जक, डिजाइनर, बजार व्यवस्थापकजस्ता विभिन्न पेसाकर्मीलाई जोड्न सक्छ।” चलचित्रको अन्तिम उत्पादन पर्दामा देखिए पनि त्यसको निर्माणमा पटकथा लेखक, निर्देशक, कलाकार, छायाकार, सम्पादक, ध्वनि प्राविधिक, डिजाइनर, निर्माता र वितरकको श्रम जोडिएको हुन्छ। यसका लागि यातायात, आवास, भोजन र अन्य सेवाको आवश्यकता पर्छ। त्यसैले चलचित्रलाई सांस्कृतिक गतिविधिसँगै सिर्जनशील अर्थतन्त्रको एउटा हिस्साका रूपमा पनि हेर्न सकिन्छ। काठमाडौंले महोत्सवलाई यसरी विकास गर्न सके त्यसको लाभ चर्चित कलाकार वा आमन्त्रित पाहुनामा मात्र सीमित रहनेछैन। स्थानीय सर्जक, प्राविधिक, व्यवसायी र नयाँ पुस्ताका लागि पनि अवसर सिर्जना हुन सक्छ। पुरानो सिनेमासँग नयाँ पुस्ताको भेट महोत्सवमा ‘कुमारी’ र ‘के घर के डेरा’ जस्ता पुराना नेपाली चलचित्रको विशेष प्रदर्शन गरियो। यो विगतप्रतिको सम्मान मात्र होइन, नयाँ पुस्तालाई नेपाली चलचित्रको इतिहाससँग जोड्ने अवसर पनि हो। पुराना चलचित्रले कुनै समयको सामाजिक सोच, पारिवारिक सम्बन्ध, वर्गीय धारणा र सहरी जीवनबारे बताउँछन्। तिनले नेपाली समाजले आफूलाई कसरी हेर्थ्यो र दर्शकको कल्पनामा कस्तो संसार निर्माण हुन्थ्यो भन्ने बुझ्न सघाउँछन्। पुराना चलचित्र प्रदर्शन गर्नु र चलचित्रको इतिहास व्यवस्थित रूपमा संरक्षण गर्नु फरक कुरा हुन्। प्रदर्शनपछि चलचित्रको सामाजिक पृष्ठभूमि, निर्माण प्रक्रिया र अहिलेको दर्शकले त्यसलाई कसरी बुझ्न सक्छ भन्ने विषयमा छलफल गर्न सकिन्छ। चलचित्रका प्रतिलिपि सुरक्षित राख्ने, डिजिटल संरक्षण गर्ने र भविष्यका पुस्ताले तिनलाई हेर्न पाउने व्यवस्था पनि आवश्यक हुन्छ। समापन समारोहमा वरिष्ठ कलाकार नीर शाहले महोत्सवको सुरुवातलाई महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका थिए। उनले भने, “काठमाडौं महानगरपालिकाले अहिले जे काम गरेको छ, यो काम सरकारले पहिले नै थाल्नुपर्ने थियो। तर जे होस्, ढिलै भए पनि काठमाडौंले थालनी गरेको छ। यो नै ठूलो कुरा हो।” उनले महोत्सवलाई अभिलेखीकरण गर्ने, भावी पुस्तासम्म पुर्याउने र प्रवर्धन गर्ने आवश्यकतामा जोड दिएका थिए। उनको भनाइले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ। कुनै सांस्कृतिक कार्यक्रमको उपलब्धि त्यही दिनको अनुभवमा मात्र सीमित रहने कि त्यसले भविष्यका सर्जकका लागि पनि सामग्री छोड्ने? कार्यक्रमको सूची, चलचित्रका प्रतिलिपि, छलफलका अभिलेख र सहभागीका अनुभव सुरक्षित राख्न सके महोत्सव स्वयं पनि सांस्कृतिक इतिहासको हिस्सा बन्न सक्छ। नयाँ पुस्ताका कथालाई मञ्च महोत्सवको सर्ट भिडियो च्यालेञ्ज र नेपाल पानोरामाले नयाँ सर्जकलाई आफ्नो काम देखाउने अवसर दिए। ‘माइ कल्चर, माइ हेरिटेज’ विषयमा आयोजित सर्ट भिडियो च्यालेञ्जका लागि ३५ भिडियो प्राप्त भएको आयोजकको विवरण छ। जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ले पहिलो पुरस्कार जित्यो। अनुभव श्रेष्ठको ‘द सोल अफ गुठि’ दोस्रो र सौगात सापकोटाको ‘झिँगु छेँ’ अर्थात् ‘मेरो घर’ तेस्रो भए। पहिलो, दोस्रो र तेस्रो पुरस्कार क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ थियो। कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता विजय बराल र अभिनेत्री सुरक्षा पन्तले पुरस्कार प्रदान गरेका थिए। छनोट भएका अन्य चलचित्रमा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करण ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द बिगेस्ट फेस्टिभल अफ काठमाडौं’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याट टाइज यू होम’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ थिए। डंगोलले युवा पुस्तालाई काठमाडौंको सांस्कृतिक, सामाजिक र ऐतिहासिक जीवनसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएकी थिइन्। उनले भनिन्, “युवाहरूलाई काठमाडौंको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सुगन्ध महसुस गराउने हाम्रो उद्देश्य हो। युवाहरूको सहभागिताले हाम्रो उद्देश्य सफल बनाएको छ।” प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता नवीन मानन्धरले चलचित्र क्षेत्रका व्यक्तित्वको सहभागिताले महानगरपालिकालाई प्रोत्साहन मिलेको बताएका थिए। अभिनेता विजय बरालले कार्यक्रमलाई कला क्षेत्रका लागि राम्रो सुरुवात भन्दै यसमा क्षेत्रका व्यक्तिहरू जोडिँदै जानुपर्ने बताएका थिए। अभिनेत्री सुरक्षा पन्तले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै युवा सहभागिता बढाउनुपर्ने अपेक्षा राखेकी थिइन्। सर्ट भिडियो च्यालेञ्जका निर्णायकमा चलचित्रकर्मी तथा निर्माता अनिल योञ्जन, नाट्य कलाकार तथा पत्रकार बैकुण्ठ भण्डारी, चलचित्रकर्मी तथा प्रशिक्षक प्रसुना डंगोल, युनेस्कोका सञ्चार विज्ञ रबिन राई तथा सहरी योजनाकार एवं सम्पदा संरक्षणकर्मी रीजा जोशी थिए। पुरस्कारले नयाँ सर्जकलाई आर्थिक सहयोग र सार्वजनिक पहिचान दिन सक्छ। तर एउटा प्रतियोगितामा सफलता पाउनु र व्यावसायिक रूपमा टिक्न सक्नु फरक कुरा हुन्। युवा निर्देशकले अर्को चलचित्र बनाउन रकम कहाँबाट जुटाउँछन्? पटकथा विकास, छायाङ्कन, सम्पादन र वितरणका लागि आवश्यक सीप कसरी सिक्छन्? महोत्सवमा भेटिएका निर्माता वा अन्तर्राष्ट्रिय साझेदारसँग सम्बन्ध कसरी कायम राख्छन्? यी प्रश्नको उत्तर पुरस्कार वितरणमा मात्र भेटिँदैन। नियमित प्रदर्शन, परामर्श, कार्यशाला र अन्य निर्मातासँग भेटघाटको अवसरले महोत्सवलाई प्रतिभा विकासको दीर्घकालीन माध्यम बनाउन सक्छ। नेपाल पानोरामाले नयाँ सर्जकलाई थप फराकिलो मञ्च दियो। कथात्मक चलचित्र, वृत्तचित्र, एनिमेसन र प्रयोगात्मक चलचित्र समेटेर ३० मिनेटसम्मका काम माग गरिएको थियो। आयोजकका अनुसार ७५ चलचित्र प्राप्त भएकामा नौ छनोट गरिए र प्रत्येकलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइयो। छनोट भएका चलचित्रमा सरिता शाहको ‘मनकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डोर्स आर स्टिल क्लोज्ड’, पूरबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ थिए। नेपाल पानोरामाका निर्णायकमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष तथा निर्देशक दिनेश डीसी, निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता तथा पटकथा लेखक सम्पदा मल्ल र फिल्म क्रिटिक्स सोसाइटी अफ नेपालका लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना थिए। यी कार्यक्रमले नयाँ प्रतिभालाई मञ्च दिएका छन्। अब तिनको प्रभाव पुरस्कारमा सीमित नराखी सर्जकलाई अर्को काम गर्न सहयोग गर्ने संरचना बनाउनु आवश्यक छ। विश्व सिनेमासँग संवाद महोत्सवको अन्तर्राष्ट्रिय पानोरामामा चीनको ‘डियर यु’, भारतका ‘बयान’, ‘मिस एन प्लेस’, ‘स्टेयर्स’, ‘ला ग्राभिडा’, ‘द किङ्स वार्डेन’, ‘नट अ हिरो’ र ‘नो गुड मेन’ लगायतका चलचित्र समावेश थिए। फ्रान्सिस फोर्ड कोपोलाको ‘द गडफादर’ पनि प्रदर्शन गरिएको थियो। ‘एलिफेन्ट्स इन द फग’को विशेष प्रदर्शनपछि चलचित्र अध्ययनका विद्यार्थी र चलचित्रकर्मीसँग छलफल गरिएको थियो। विभिन्न देशका चलचित्र एउटै महोत्सवमा देखिनु अन्तर्राष्ट्रिय आकर्षण जुटाउने माध्यम मात्र होइन। यसले दर्शक र सर्जकलाई फरक कथन शैली, सांस्कृतिक दृष्टिकोण र चलचित्र निर्माणका परम्परासँग परिचित गराउँछ। तर चलचित्रको सूची विविध हुँदैमा अन्तर्राष्ट्रिय संवाद स्वतः स्थापित हुँदैन। तिनको छनोट किन गरियो, नेपाली चलचित्रसँग तिनको सम्बन्ध के छ र तिनबाट स्थानीय सर्जकले के सिक्न सक्छन् भन्ने बहस पनि आवश्यक हुन्छ। जापानी निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभा गृहमा ‘यामागाता युनेस्को फिल्म सिटी सर्ट्स’ अन्तर्गत पाँच छोटा चलचित्र प्रस्तुत गरेका थिए। ती थिए ‘सनी स्पट–स्टोरी अफ अ बिलभ्ड लोकल सुपरमार्केट’, ‘द राइटर्स अफ देवा’, ‘मेमोरिज द्याट सीप क्यारी जेनघिस खान इन जो ओन्सेन’, ‘टन–द वे अफ द मास्टर वर्डस्मिथ कानबयासी सुन्चीरा’ र ‘द सेक अफ यामागाता–माउन्ट जोको ब्लेसिङ’। नाकामुराले चलचित्र र यामागाता सहरको सन्दर्भबारे परिचय दिएका थिए। यी चलचित्रको साझा विशेषता स्थानीय जीवन, स्मृति, सीप र भूगोललाई कथामा रूपान्तरण गर्नु थियो। चलचित्रका लागि असाधारण घटना वा चर्चित पात्र नै चाहिन्छ भन्ने छैन। पुस्तौँदेखि चलिरहेको पसल, परम्परागत सीप, स्थानीय समुदायको स्मृति वा बदलिँदो बस्ती पनि चलचित्रका विषय हुन सक्छन्। काठमाडौंका लागि यो दृष्टिकोण उपयोगी छ। यहाँका मन्दिर र जात्रा परिचित दृश्य हुन्, तर हरेक टोलको आफ्नै जीवन र स्मृतिको संसार छ। स्थानीय बाजा बनाउने शिल्पी, हराउँदै गएको पेसा वा सहरीकरणसँग जुधिरहेको पुरानो बस्ती पनि चलचित्रका सम्भावित विषय हुन्। नेपाल पर्यटन बोर्डमा सांघाई फिल्म एकेडेमीको फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सव सञ्जालमा चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गरेका थिए। ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ शीर्षकको संवादमा भारतीय अभिनेत्री शबाना आजमी र नेपाली अभिनेत्री स्वस्तिमा खड्काले व्यक्तिगत, पारिवारिक र व्यावसायिक अनुभव आदानप्रदान गरेका थिए। ‘चलचित्र र महोत्सवमार्फत सिर्जनशील सहरको विकास’ विषयमा प्यानल छलफल पनि भएको थियो। मुलरले नेपाललाई चलचित्र उद्योग विकासका लागि सम्भावना भएको स्थान मानेका थिए। उनले भने, “चलचित्र उद्योगलाई आकार दिन दक्षिण एसियाली मुलुकहरूमा नेपाल प्रचुर सम्भावना भएको ठाउँ हो। यसलाई पहिचान गरौँ। आफैँभित्रको सम्भावना खोजौँ।” उनले थपे, “काठमाडौंले थालेको कामबाट नेपाली चलचित्र उद्योगलाई मात्र होइन, अन्तर्राष्ट्रिय उद्योगलाई समेत लाभ मैले महसुस गरेको छु।” मुलरले महोत्सवलाई युवा नेतृत्व र नयाँ सांस्कृतिक दृष्टिकोणसँग पनि जोडेका थिए। उनका शब्दमा, “यो यङ फिल्म फेस्टिभल हो। किनभने यसका आयोजक सबै युवा देख्छु। सांस्कृतिक जीवन र हिमालय क्षेत्र भएको चलचित्र निर्माणको नयाँ आयाम जोड्ने लक्ष्य पनि नयाँ देखेको छु। नेपालको राजधानी सहर काठमाडौं महानगरपालिकाले फेस्टिभल सुरु गर्नु पनि नयाँ कुरा हो। यो फेस्टिभलले सिर्जनशील उद्योगका लागि दक्षिण एसियाली मुलुक र विश्वभर नयाँ सन्देश प्रवाह गर्नेछ।” अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली सर्जकलाई आफ्ना कामबारे नयाँ दृष्टिकोण दिन सक्छ। तर स्थानीय सम्भावनालाई उद्योगमा बदल्न प्राविधिक जनशक्ति, लगानी, वितरण, चलचित्र निर्माणको सहज प्रक्रिया र अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ। नेपालमा छायाङ्कन गर्न चाहने टोलीलाई स्थान, अनुमति, उपकरण र उत्पादन व्यवस्थापनमा सहजता भएमा मात्र प्राकृतिक तथा सांस्कृतिक विविधता व्यावहारिक अवसरमा रूपान्तरण हुन सक्छ। कलाकारको अनुभव र सामाजिक शक्ति शबाना आजमीले काठमाडौं महोत्सवको सांस्कृतिक विशिष्टताको प्रशंसा गर्दै निरन्तरताको चुनौती पनि औँल्याएकी थिइन्। उनले भनिन्, “भारतीय चलचित्र उद्योगमा विगत ५० वर्षदेखि आबद्ध छु। यस अवधिमा म सहभागी भएका सबै फेस्टिभलभन्दा यो मौलिक र सांस्कृतिक स्वादको छ। प्रारम्भ अति नै सुन्दर छ। यससँगै फेस्टिभललाई कसरी दिगो बनाउने चुनौती पनि छ। तर, म विश्वास गर्छु, महानगरपालिकाले यसलाई निरन्तरता दिनेछ।” उनको भनाइ महोत्सवको प्रशंसा मात्र होइन, यसको भविष्यप्रतिको अपेक्षा पनि हो। क्रिएटिभ निर्देशक तथा क्युरेटर आयूषा श्रेष्ठले महोत्सवको अर्को विशेषता महिला नेतृत्व भएको बताएकी थिइन्। उनले भनिन्, “यो फेस्टिभलको महत्त्वपूर्ण पक्ष भनेको यससँग सम्बन्धित डाइरेक्टरहरू सबै महिला छौँ। कार्यवाहक प्रमुख पनि महिला हुनुहुन्छ। यसलाई यसरी भनौँ, यो फेस्टिभल महिला नेतृत्वबाट सम्पन्न हुँदैछ।” महिला नेतृत्वको उपस्थिति महत्त्वपूर्ण छ, तर त्यसलाई कार्यक्रमको आकर्षक विशेषतामा मात्र सीमित गर्नु हुँदैन। चलचित्र निर्माण, पटकथा लेखन, निर्देशन, छायाङ्कन र संस्थागत निर्णयमा महिलाले कस्तो अवसर पाउँछन् भन्ने प्रश्न पनि उत्तिकै आवश्यक छ। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्रको सामाजिक प्रभावबारे बोलेका थिए। उनले भने, “चलचित्र बडा पावरफुल हुन्छ। यसबाट धेरै सन्देश दिनुपर्छ। कथानक चलचित्र अलि ढिला हुन्छ। सिरियलहरूबाट चाँडै नै सूचना र शिक्षा दिन सकिन्छ। अब यतातिर पनि महानगरपालिकाले ध्यान दिनुपर्छ।” शबाना आजमीसँग संवाद कार्यक्रममा संवादका क्रममा स्वस्तिमा खड्का। उनले शबाना आजमीसँगको पुरानो भेट सम्झँदै थपे, “२०४३ सालमा शबाना आजमी काठमाडौंमा आउनुभएको थियो। एउटा अवार्ड कार्यक्रममा उहाँको हातबाट मैले वेष्ट कमेडियन अवार्ड थापेको थिएँ। आज महानगरपालिकाले त्यो बेला अवार्ड दिने र लिने दुवैलाई एउटै मञ्चमा ल्यायो। म आभारी छु।” वरिष्ठ अभिनेता हरिवंश आचार्यले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदालाई चलचित्र निर्माणको सम्भावनासँग जोडेका थिए। उनले भने, “प्रकृतिको अनुपम उपहारले युक्त भएको, पुर्खाहरूको कला, प्राचीनकालदेखि चल्दै आएका संस्कृति चलचित्र निर्माण र छायाङ्कनका लागि सिङ्गो स्टुडियो हो। यस स्टुडियोमा संसारले बुझ्ने भाषाका रूपमा प्रयोग भएको चलचित्र निर्माण गर्न सक्यौँ भने ऐतिहासिक काम हुनेछ। यसले नेपाललाई विश्वमा चिनाउनेछ। यो कामका लागि काठमाडौं महानगरपालिकाले थालेको यो कामले बलियो जग बसाउने विश्वास लिएको छु।” नेपाल माउन्टेनियरिङ एसोसिएसनकी अध्यक्ष फुर्वा गल्मो शेर्पाले साहसिक पर्यटनका कथालाई चलचित्रसँग जोड्न महानगरपालिकाले सहयोग गर्ने अपेक्षा राखेकी थिइन्। चलचित्रले पर्यटन प्रवर्धन गर्न सक्छ, तर त्यसको लाभ स्थानीय समुदायसम्म पुग्ने व्यवस्था पनि उत्तिकै आवश्यक हुन्छ। सार्वजनिक भवनमा चलचित्र प्रदर्शन महोत्सवका धेरै कार्यक्रम राष्ट्रिय सभा गृहमा केन्द्रित गरिनुको कारणबारे डंगोलले उपलब्ध सार्वजनिक पूर्वाधारको अधिकतम उपयोग गर्ने उद्देश्य रहेको बताएकी थिइन्। उनले भनिन्, “हामीले एकै पटक पूर्णता खोज्न थाल्यौँ भने यात्रा सुरु नै गर्न सकिँदैन। त्यसैले महानगरपालिकासँग उपलब्ध जुन स्थान छ, त्यही स्थानको अधिकतम उपयोग गर्नका लागि सभा गृह केन्द्रित कार्यक्रम गरेका हौँ। यात्रा सुरु गरिसकेपछि सुधारका ठाउँ देखिन्छन्। राष्ट्रिय सभा गृह नगरबासीको कार्यक्रमस्थल हो। आफैँले कार्यक्रम आयोजना गरेर यसमा भएका त्रुटि पत्ता लगाएर आगामी दिनमा समृद्ध कार्यक्रमस्थलका रूपमा विकास गर्दै जानका लागि हामीले आफ्नै ठाउँ राष्ट्रिय सभा गृहमा यति धेरै कार्यक्रम गरेका हौँ।” प्राविधिक गुणस्तरबारे सोध्दा उनले भनिन्, “हामीले जति सोचेका थियौँ, त्योभन्दा राम्रो प्रतिक्रिया पाएका छौँ। असन्तुष्ट हुनुपर्ने अवस्था आएन। सुधार गर्नका लागि आफैँले आवश्यक ठाउँ देखेका छौँ।” अग्रज भारतीय अभिनेत्री शबाना आजमी। सार्वजनिक भवन उपलब्ध हुनु र त्यसलाई उच्च गुणस्तरको चलचित्र प्रदर्शनस्थल बनाउनु भने फरक कुरा हुन्। पर्दा, प्रोजेक्सन, ध्वनि, प्रकाश नियन्त्रण, आसन व्यवस्था, पहुँचयोग्यता र उपशीर्षकको स्पष्टता प्रदर्शन अनुभवका महत्त्वपूर्ण पक्ष हुन्। आयोजकले सुधारका ठाउँ पहिचान गरेको बताएका छन्। अब ती ठाउँ के हुन्, कुन सुधारलाई प्राथमिकता दिइन्छ र अर्को संस्करणअघि के परिवर्तन हुन्छ भन्ने कुरा सार्वजनिक हुनु उपयोगी हुनेछ। सार्वजनिक पूर्वाधारको प्रयोग एउटा उपलब्धि हो; त्यसलाई भविष्यका सांस्कृतिक कार्यक्रमका लागि अझ सक्षम बनाउनु दीर्घकालीन उपलब्धि हुनेछ। सुरुवातपछि के? महोत्सवको समापन बौद्ध स्तूपाको परिक्रमा र प्रार्थनाबाट सुरु भएको थियो। वडा नं. ६ ले परम्परागत गायन, वादन र खादा प्रदान गरेर अतिथिहरूलाई स्वागत गरेको थियो। त्यसपछि कलाकार तथा पाहुनाहरू बौद्धबाट तारागाउँ नेक्स्टको एम्फिथिएटरसम्म पैदल यात्रा गर्दै पुगे। यसले सर्जकलाई काठमाडौंको दैनिक जीवनसँग परिचित गराउने उद्देश्य राखेको आयोजकले बताएको थियो। समापन समारोहमा डंगोलले युनेस्कोको सिर्जनशील सहर सञ्जालमा आबद्ध हुँदाको प्रतिबद्धताअनुसार चार वर्षभित्र फिल्म फेस्टिभल आयोजना गरिएको बताइन्। उनले भनिन्, “यो सुरुवात हो। यो कार्यक्रम नेपाली चलचित्र उद्योगप्रति समर्पित कार्यक्रम हो। पहिलो कार्यक्रमबाट प्राप्त गरेको सिकाइ, सुधारका लागि प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी संस्करणलाई थप परिष्कृत र व्यवस्थित गर्दै लैजानेछौँ।” चलचित्रमार्फत काठमाडौंका कथा विश्वभर सुनाउने र कला, साहित्य तथा सिर्जनालाई जोडेर रचनात्मक उद्योगको विकास गर्ने लक्ष्य पनि उनले प्रस्तुत गरेकी थिइन्। यो प्रतिबद्धताको वास्तविक परीक्षा आगामी संस्करणमा हुनेछ। महोत्सवको सफलता उद्घाटन कति आकर्षक भयो, कति चर्चित व्यक्तित्व सहभागी भए वा समापन समारोह कति भव्य भयो भन्ने कुराले मात्र निर्धारण गर्दैन। त्यसले अर्को वर्ष के छोडेर जान्छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुन्छ। युवा सर्जकले अर्को परियोजनाका लागि अवसर पाए कि पाएनन्? पुराना चलचित्रको संरक्षणमा योगदान पुग्यो कि पुगेन? अन्तर्राष्ट्रिय पाहुनासँग बनेका सम्बन्ध कति टिके? सार्वजनिक पूर्वाधारमा के सुधार भयो? दर्शकले कस्ता चलचित्र हेर्न पाए? यस्ता प्रश्नले महोत्सवको वास्तविक प्रभाव देखाउनेछन्। काठमाडौंले आफ्नो सांस्कृतिक पहिचानलाई चलचित्रमार्फत विश्वसँग जोड्ने प्रयास गरेको छ। अब त्यो पहिचानलाई नियमित अवसरमा बदल्नुपर्छ। चलचित्र निर्माणसम्बन्धी कार्यशाला, पुराना चलचित्रको अभिलेखीकरण, स्थानीय सर्जकका लागि प्रदर्शनको निरन्तर व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यले महोत्सवलाई एकपटकको कार्यक्रमभन्दा बढी बनाउन सक्छ। ‘काठमाडौँ फिल्म फेस्टिभल’अन्तर्गत आयोजित संवाद कार्यक्रममा अग्रज भारतीय अभिनेत्री शबाना आजमी र नेपाली अभिनेत्री स्वस्तिमा खड्का। सहरको कथा कसले भन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। स्थापित कलाकार र सरकारी अधिकारीका कथासँगै स्थानीय भाषामा सिर्जना गर्ने युवा, परम्परागत सीप जोगाइरहेका शिल्पी, पर्दापछाडि काम गर्ने प्राविधिक र बदलिँदो सहरसँग जुधिरहेका बासिन्दाका अनुभव पनि काठमाडौंका कथा हुन्। वसन्तपुरको डबलीबाट सुरु भएको यात्रा तारागाउँको एम्फिथिएटरमा पुगेर टुङ्गिएको थियो। तर काठमाडौंले आफ्ना कथा चलचित्रमार्फत विश्वसँग जोड्ने यात्रा त्यहीँ समाप्त हुँदैन। त्यसको अर्को दृश्य आगामी वर्षहरूमा देखिनेछ। सहरले कस्ता चलचित्रलाई मञ्च दिन्छ, नयाँ पुस्तालाई कति अवसर दिन्छ र आफ्नो सांस्कृतिक जीवनलाई कति गहिराइका साथ बुझ्छ भन्ने कुराले त्यसको दिशा निर्धारण गर्नेछ। महोत्सवको वास्तविक सफलता अर्को संस्करण आयोजना हुनु मात्र होइन; त्यसबीचमा काठमाडौंका सर्जक, दर्शक र चलचित्र उद्योगका लागि के परिवर्तन भयो भन्ने कुराले निर्धारण गर्नेछ।
काठमाडौँले सुनाउने चलचित्रका कथा

Read Complete Original Article
Published originally on नेपालन्युज






