काठमाडौं– कांग्रेससहितको इन्डिया गठबन्धनले आज दिल्लीको रामलीला मैदानमा महार्याली गर्दैछ । उक्त महार्यालीमा १० लाख मानिस राजधानी पुग्ने दाबी गरिएको छ। र्यालीको एक दिनअघि आयोजित सांकेतिक संसद्मा मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउनुपर्ने मागसहितको प्रस्ताव पारित गरिएको थियो । उक्त कार्यक्रममा राहुल गान्धीले जनताको आवाज संसद्सम्म पुग्न नदिइएकाले विपक्षी दलहरू संसद्बाहिर एकजुट हुनुपरेको बताएका थिए । कांग्रेसको यो अभियानलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकका अनुसार संसद्भित्र आफ्नो माग अघि बढाउन नसकेपछि विपक्षी दलहरूले अब संसद्बाहिरबाट जनताको समर्थन जुटाउन खोजिरहेका छन्। र्यालीका लागि कांग्रेसले विभिन्न राज्यबाट आफ्ना कार्यकर्ता दिल्ली ल्याउने तयारी गरेको छ । कांग्रेस नेता राहुल गान्धीले विद्यार्थी, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका मानिसलाई पनि र्यालीमा सहभागी हुन अपिल गरेका छन् । वरिष्ठ पत्रकार शरद गुप्ताका अनुसार विपक्षी दलहरूले संसद्भित्र आफ्नो माग अघि बढाउन नसकेको अवस्थामा अब जनताको साथ खोजिरहेको सन्देश दिन चाहेका छन् । यसमार्फत सरकारमाथि दबाब सिर्जना गर्ने उनीहरूको रणनीति छ । गुप्ताको भनाइमा सांकेतिक संसद् र रामलीला मैदानको र्यालीलाई एउटै राजनीतिक अभियानका रूपमा बुझ्नुपर्छ । दुवै कार्यक्रमको उद्देश्य मतदाता सूचीको विशेष गहन पुनरवलोकन (एसआईआर) र मुख्य निर्वाचन आयुक्तविरुद्धको अभियानलाई निरन्तर चर्चामा राख्नु हो । चाडपर्वको समयमा पनि यो अभियान जारी राख्नुलाई गुप्ता विपक्षीको रणनीतिको एउटा हिस्सा मान्छन् । उनका अनुसार चाडपर्वका बेला मानिसको ध्यान अन्य गतिविधितर्फ जाने भएकाले विपक्षी दलहरूले अभियान रोकेमा पुनः त्यही मुद्दालाई चर्चामा ल्याउन समय लाग्न सक्छ । त्यसैले दिवालीसम्म निष्क्रिय नबस्ने उनीहरूको प्रयास देखिन्छ । यसैबीच व्यापारिक संगठन चेम्बर अफ ट्रेड एन्ड इन्डस्ट्रीले कांग्रेस नेतृ सोनिया गान्धीलाई र्याली स्थगित गर्न आग्रह गरेको थियो । संगठनले र्यालीका कारण करिब १२ हजार करोड रुपैयाँ बराबरको व्यापार प्रभावित हुन सक्ने आशंका व्यक्त गरेको थियो। यद्यपि दिल्ली प्रहरीले र्यालीका लागि अनुमति दिइसकेको छ । द इन्डियन एक्सप्रेसका अनुसार प्रहरीले रामलीला मैदानमा कार्यक्रम आयोजना गर्न अनापत्ति प्रमाणपत्र जारी गरेको र आयोजक तथा सम्बन्धित निकायसँग आवश्यक व्यवस्थापनका लागि समन्वय भइरहेको जनाएको थियो । निर्वाचन आयोगलाई लिएर विवाद चर्किरहेका बेला कक्रोच जनता पार्टी (सीजेपी) ले पनि कांग्रेसको र्यालीलाई समर्थन गरेको छ । संगठनले अक्टोबर २८ मा जारी गरेको वक्तव्यमा एसआईआर प्रक्रियाका क्रममा योग्य मतदाताको नाम मतदाता सूचीबाट हटाइएको हुनसक्ने विषयमा चिन्ता व्यक्त गरेको थियो । साथै मुख्य निर्वाचन आयुक्तले राजीनामा दिनुपर्ने माग पनि दोहोर्याएको थियो । सीजेपीका संस्थापक अभिजीत दीपकेले पनि सामाजिक सञ्जाल एक्समार्फत र्यालीलाई समर्थन गर्ने घोषणा गरेका छन् । संगठनका अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि संघर्ष गरिरहेका सबै संगठनलाई उसले समर्थन गर्नेछ । तर सीजेपीको यो समर्थनलाई कांग्रेसमा आबद्ध भएको वा कांग्रेसको सम्पूर्ण राजनीतिक कार्यक्रमप्रति सहमति जनाएको अर्थमा बुझ्न नहुने संगठनको भनाइ छ । हाल कांग्रेसको मुख्य माग मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउनु रहेको छ। यसका लागि संसद्मा पेस गरिएका प्रस्ताव अघि बढ्न सकेका छैनन् । सांकेतिक संसद्ले पारित गरेको प्रस्तावको पनि कुनै कानुनी प्रभाव हुँदैन । त्यसैले रामलीला मैदानको र्यालीमार्फत कांग्रेसले आफ्नो मागप्रति जनसमर्थन रहेको देखाउन खोजेको छ । तर यसले सरकारमाथि कति दबाब सिर्जना गर्छ र कांग्रेसको मागलाई राजनीतिक रूपमा कति अगाडि बढाउन सक्छ भन्ने प्रश्नको जवाफ भने आउन बाँकी नै छ ।
कांग्रेससहितको इन्डिया गठबन्धनको ‘महार्याली’लाई सीजेपीको समर्थन

Read Complete Original Article
Published originally on विश्वखबर






