काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ । आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई अद्यावधिक गरेको हो । कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गरेर पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदनसहित आवश्यक कागजात उपलब्ध गराएको थियो । उपलब्ध कागजातअनुसार आयोगको बैठकले थापा नेतृत्वको नेपाली कांग्रेस अद्यावधिक गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भइसकेको जानकारी दिँदै भन्नुभयो, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको पदाधिकारी र विधान अद्यावधिक गर्ने निर्णय आयोगको मंगलबारको बैठकले गरिसकेको छ ।’ गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोजको १९ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा गरेको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले महाधिवेशनका निर्णयहरू आयोगमा उपलब्ध गराउँदै अद्यावधिकका लागि निवेदन दिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी हेरफेर गरे त्यसको जानकारी दिनुपर्ने व्यवस्था छ । त्यसअनुसार आयोगले दल दर्ता किताबमा पदाधिकारी हेरफेरसँग सम्बन्धित विषय अद्यावधिक गर्ने व्यवस्था छ । निर्वाचन आयोगले लामो समयसम्म कांग्रेसको विवरण अद्यावधिक नगर्दा अनेक कोणबाट प्रश्नहरू उठेका थिए । निर्वाचन आयोगमा कांग्रेसले बुझाएको विवरणमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजका साथै केही महत्त्वपूर्ण निर्णयहरू समावेश गरिएको थियो । देउवा पक्षको महाधिवेशनमा भाग लिने जनप्रतिनिधिलाई कारबाहीको मागकांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्ने महाधिवेशनमा सक्रिय भएका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्नुपर्ने माग उठेको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले वैधानिक महाधिवेशनको विरुद्धमा लाग्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । बैठकमा तिमिल्सिनाले भन्नुभयो, ‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि, प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन् । पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानविन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोगमार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु ।’ देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई हटाउने संकेत मंगलबारको बैठकमा सभापति गगन थापाले पनि गर्नुभएको थियो । १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ बजाएर बैठक सुरुकांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ बजाएर ऐक्यबद्धता जनाइएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन बुधबारको प्रारम्भ खेलकुद महाकुम्भको ‘सिग्नेचर गीत’ बजाएर गरिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंसिर ७ गतेदेखि सुरु भएको र आगामी मंसिर १६ गते विधिवत् रूपमा उद्घाटन हुने १०औँ राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन कांग्रेसले आफ्ना स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन हुन आह्वान गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सात हजारभन्दा बढी खेलाडीहरूको सहभागिता रहने यस खेल महोत्सवले समग्र नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा नयाँ ऊर्जा, उत्साह र गतिशीलता भर्ने विश्वास व्यक्त गर्नुभएको छ । स्थानीय चुनावअघि ‘प्राइमरी इलेक्सन’को गृहकार्यकांग्रेस पार्टी पुनर्जागरण, संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै देशभर अभियान चलाउन गाउँगाउँ पस्ने भएको छ । यसका लागि पार्टीले ७५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि खटाउने प्रस्ताव गरेको छ । केन्द्रित समिति बैठकमा बुधबार प्रस्तुत ‘हामी तयार छौँ’ अभियानको अवधारणा तथा कार्ययोजना पत्रमा स्थानीय तहसम्म पार्टीको नीति, कार्यक्रम र सांगठनिक सन्देश पुर्याउन यस्तो प्रस्ताव गरिएको हो । मंसिर १५ देखि पुस ५ गतेसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको अभियानमार्फत पार्टीका सदस्यलाई १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम, संकल्प र आगामी चार वर्षको राजनीतिक दिशा तथा प्राथमिकताबारे अभिमुखीकरण गरिने कांग्रेसको योजना छ । कांग्रेसले अभियानलाई आगामी स्थानीय तह निर्वाचनको तयारीसँग समेत जोडेको छ । पार्टी विधानअनुसार उम्मेदवार छनोटमा सम्बन्धित तहका सदस्यको सहभागितामा प्राइमरी निर्वाचन गर्ने व्यवस्था रहेकाले अभियानका क्रममा त्यसको तयारी प्रारम्भ गर्ने प्रस्ताव गरिएको छ । ११ जना महिला केन्द्रीय सदस्य मनोनीतकांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एकतिहाइ महिला पुर्याउन ११ जना मनोनीत गरिएको सूचीसहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो । २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जनाले अपुग भएपछि मनोनीत गरेको सूची आयोगमा पठाइएको हो । महाधिवेशनमा प्रतिस्पर्धा नगरेका ११ जनालाई मनोनीत गरिएको छ । मनोनीत भएकाहरूमा सुजाता कोइराला, ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन, निपा चोख्याललगायत छन् । कोइरालालाई विशेष महाधिवेशनपछि पनि मनोनीत केन्द्रीय सदस्य बनाइएको थियो । १५औँ महाधिवेशनको मुखमा संस्थापनतर्फ लाग्ने नेताहरूमध्ये ईश्वरी न्यौपाने पनि हुनुहुन्थ्यो । विशेष महाधिवेशनपछि चन्दा चौधरी भने संस्थापन पक्षमा लाग्नुभएको थियो । मनोनीत हुने अर्की केन्द्रीय सदस्य लक्ष्मी पाण्डे गाउँपालिका महासंघको केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । रौतहटबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहनुभएकी साहजान खातुन केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ । केन्द्रीय समिति २९७ जनाको हुने संशोधित विधानको व्यवस्था छ । यस्तै, कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त हुनुभएको छ । देउवा समूहले पनि पदाधिकारीको संख्या बढाउनेनेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ । समानान्तर महाधिवेशनको विधान मस्यौदा समितिले पदाधिकारीको संख्या बढाउने गरी मस्यौदा तयार पारेको हो । यसअघि गगन थापा नेतृत्वका संस्थापन पक्षले पनि विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो । यसैबीच, देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ । बुधबार चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लगभग १५-२० वटा समिति छन् । ती समितिहरू गठन गर्नको लागि जिम्मा हामीले १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालाई दिएका छौँ । अब उहाँले भोलिसम्म संयोजकहरू निर्णय गर्नुहुन्छ, अनि त्यसपछि संयोजकहरू आएपछि आफ्नो कमिटीमा सदस्यहरू राखेर यो महाधिवेशनको सम्पूर्ण कामहरू थालनी गर्नुहुन्छ ।’ यता, देउवा समूहको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्च हुने भएको छ । बुधबार बसेको महाधिवेशन आयोजक समितिको बैठकमा समानान्तर महाधिवेशनका सम्बन्धमा आवश्यक छलफल भएको बताइएको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता पोखरेलले हालसम्म सम्पन्न भएका विभिन्न तहका अधिवेशनहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । महतले महाधिवेशनका लागि तल्लो तहका संरचनाहरूको अधिवेशन अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जानकारी गराएको बताउनुभएको छ । हालसम्म देशभरका ५९ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाहरूको अधिवेशन आगामी चारदेखि पाँच दिनभित्र सम्पन्न गर्ने कार्यतालिका छ । यसैगरी, सात प्रदेशमध्ये हालसम्म लुम्बिनी र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । देउवा पक्षले मंसिर २१ गतेदेखि २३ सम्म महाधिवेशन गर्दै छ । सभापति पदका लागि निधि सक्रियकेही दिन पहिले जनकपुरको एक कार्यक्रममा आफू सभापतिको उमेदवारी दिने जानकारी दिए लगत्तै विमलेन्द्र निधिले सक्रियता बढाउनु भएको छ । १४औं महाधिवेशनमा देउवासंग प्रतिष्पर्धा गर्न उत्रिनु भएका निधि र प्रकाशमान सिंह निकै मतले पछाडि पर्नुभएको थियो । त्यस समयका देउवाका निकटतम प्रतिष्पर्धी डा. शेखर यतिखेर राजनीतिकरूपले अर्द्ध संन्यासमा देखिनु भएको छ । विम पक्षधर कांग्रेसको ‘क’ हालै सम्पन्न १५औं महाधिवेशनले तय गरेको केन्द्रीय समितिसहित सबै दस्तावेजलाई निर्वाचन आयोगले अध्यावधिक गरेको भए पनि निम कांग्रेसको १५औं महाधिवेशन सक्रियता तीव्र छ । यही मेसोमा उमेदवारीका विषयमा गम्भीर विमर्श भइरहेको निमसम्बद्ध सूत्रले हिमालय टाइम्सलाई जानकारी दिएको छ । महामन्त्री, सहमहामन्त्रीहरूका इच्छुकहरूले त धमाधम उमेदावारी घोषणा गरिररहेका छन् । सम्बद्ध सूत्रका अनुसार सभापतिमा उमेदवारी दिने सन्दर्भमा निधिले संयोजक डा. शशांक कोइरालालाई समेत आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । निधिले प्रदेश महाधिवेशनमा सहभागीहरूदेखि विभिन्न जिल्ला, क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसंग समेत घनीभूत विमर्श सुरु गर्नुभएको छ । भनिन्छ : निम कांग्रेसमा सभापतिका दावेदारहरूको संख्या निकै भएपनि अन्तमा निर्विरोध चयन गरिने सम्भावना रहेको छ ।
कांग्रेसको नयाँ विधान र कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






