काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताउनुभएको छ । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कर्णालीले रास्वपाका उम्मेदवारलाई जिताए पनि नजिताए पनि प्रदेशको विकासमा पार्टीले ध्यान दिने बताउनुभयो । उहाँले कर्णालीको विकासका नाममा कुनै पनि राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पार्नुभयो । रास्वपाका उम्मेदवारलाई जिताए मात्रै विकास गर्ने र मत नदिए विकास नगर्ने भन्ने सोच पार्टीको नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन । कर्णालीले विकास मागेको छ, खोजेको छ, चाहे जीवनभर हारौँ । रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक जना मात्र पनि नपठाओस्, एक भोट पनि नदियोस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’ सभापति लामिछानेले कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गर्नुभयो । पार्टीको आवाज कर्णालीका दूरदराजसम्म पुर्याउन नसकिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कर्णालीका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । लामिछानेले रास्वपाको स्थापना शान्तिपूर्ण विद्रोहको उद्देश्यसहित भएको बताउनुभयो । मुलुकले विगतका विद्रोहको भार धान्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले रगतको एक थोपा पनि नचुहाई तथा कुनै परिवारलाई पीडामा नपारी परिवर्तनका लागि विद्रोह गर्ने उद्देश्यले पार्टी स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही विद्रोह शब्दलाई रातो होइन, निलोमा परिणत गर्ने उद्देश्य बोकेर रास्वपाको जन्म गरायौँ । रगतको एउटा थोपो पनि नचुहाईकन, कुनै आमाको कोख नरित्याईकन, कुनै दिदीबहिनीको सिउँदो नउजाडीकन, कुनै बालबालिकालाई टुहुराटुहुरी नबनाईकन पनि एउटा विद्रोह गर्नु थियो, गर्यौँ।’ उहाँकाअनुसार परम्परागत राजनीतिक दलबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको भन्दै विभिन्न दलमा लामो समय बिताएका नेता तथा कार्यकर्तासमेत रास्वपामा जोडिएका छन् । जनताको चुलो र जनजीविकासँग प्रत्यक्ष जोडिने परिणाममुखी राजनीति आवश्यक रहेको उहाँले बताउनुभयो । रास्वपाले स्थापनाको चार वर्षमै ठूलो राजनीतिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै लामिछानेले अब जनताले अपेक्षा गरेअनुसार परिणाम दिने जिम्मेवारी पार्टीको काँधमा आएको बताउनुभयो । पार्टीको यात्रा सुरुवात मात्रै भएको भन्दै उहाँले आगामी दिनमा कामबाटै परिणाम देखाउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, उहाँले प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्तालाई नेताहरूको घेराभन्दा बाहिर रहेर जनतासँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्नुभयो । आफू प्रशिक्षणका क्रममा आसपासका बस्तीमा नागरिकसँग भेटघाट गर्न जाने र त्यस क्रममा पार्टीका नेता तथा कार्यकर्तालाई आफूसँग नआउन आग्रह गरेको उहाँले बताउनुभयो । जनतासँग प्रत्यक्ष जोडिन चाहेको उल्लेख गर्दै लामिछानेले नेताहरू र कार्यकर्ताको भीडभन्दा बाहिर रहेर नागरिकका वास्तविक समस्या र गुनासा सुन्न चाहेको धारणा व्यक्त गर्नुभयो ।
कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैन : रवि लामिछाने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






