काठमाडौं । कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत नियमित रूपमा आयोजना हुँदै आएको कथावाचन कार्यक्रमको ३५औं शृंखला सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा दिवंगत कथाकार रमेश विकलको ‘सिंगारी बाख्रा’ कथा इन्दिरा प्रसाईंले वाचन गर्नुभयो । ‘शारदा’ मासिकको २०१८ सालको वर्ष २६, संख्या ४ मा प्रकाशित उक्त कथासँगै हीरण्यकुमारी पाठकले आफ्नो कथाकृति ‘दुःस्वप्न’मा समेटिएको ‘खोसिएको खुशी’ र विष्णुप्रसाद शर्मा पराजुलीले ‘पेमा’ कथा वाचन गर्नुभयो । २०८० साउनदेखि प्रत्येक महिना सञ्चालन हुँदै आएको कार्यक्रमले विभिन्न पुस्ताका कथाकारबीच परिचय आदानप्रदान गर्नुका साथै नेपाली कथाका विषयवस्तु, शैली र प्रयोगबारे विमर्श गर्ने अवसर प्रदान गर्दै आएको अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले जानकारी गराउनुभयो । वाचन गरिएका कथामाथि सहभागी सर्जकहरूले जिज्ञासा राखेका थिए । कार्यक्रममा कथावाचनका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यबारे आफ्ना धारणा राख्नुभएको थियो ।
कथावाचन कार्यक्रमको ३५औं शृंखला सम्पन्न

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






