काठमाडौं। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ। कतारको दोहामा आइतबार सम्पन्न खेलमा यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। त्यस्तै, मयन यादवले २८ बलमा ४ चौका र १ छक्कासहित २७ रन जोडे। बसिर अहमद १८ र पवन सर्राफ ९ रनमा अविजित रहे। अर्जुन कुमाल ५ रनमा आउट हुँदा देव खनाल शून्य रनमा पेभेलियन फर्किए। यूएईका लागि मुहम्मद मोहसिनले २ तथा अंश टन्डन र उड्डिश सुरीले १-१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा समेटिएको थियो। यूएईका मुहम्मद शाहदादले ४० र हरप्रीत सिंहले ३२ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ११ रन मात्र खर्चिए भने कुशलले ५ ओभरमा १५ रन दिए। त्यसैगरी राशिद खान, ललित राजवंशी र नन्दन यादवले १-१ विकेट लिए। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो भने यूएईको यो लगातार दोस्रो हार हो।
एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जीत, यूएई ६ विकेटले पराजित

Read Complete Original Article
Published originally on नेपालन्युज






